२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

बुद्धको क्रिडास्थल तिलौराकोटमा थप प्रमाण भेटिए



मायादेवी अनलाइन, कपिलवस्तु ।
पाँचौ पटक बुद्धको क्रिडास्थल तिलौराकोटमा शुरु गरिएको उत्खनन् सकिएको छ । उत्खननले प्राचिन तिलौराकोट दरबारको थप प्रमाणहरु भेटिएका छन । तिलौराकोट दरबार बुद्धकालिन समय भन्दा तीन सय बर्ष अघि नै ब्यवस्थित शहर रहेको तथ्य भेटिएको उत्खननमा सहभागी पुरातत्वविदहरुले बताएका छन् । बुद्धको जन्म २५ सय बर्ष अघि भएको इतिहासमा छ तर त्यस भन्दा अघि नै यहाँ मानव सभ्यता र शहर रहेको पुष्टी भएको पुरातत्वबिद्ले जनाएका छन । दरबार क्षेत्रमा लगातार गरिएको पाँचौ पटकको उत्खनन र अन्बेषणले प्राचिन कपिलवस्तु बुद्धकालीन सयम भन्दा अघि नै मानव सभ्यताको विकसित शहर भएको पुरातत्व बिभागका प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुवँरको भनाई छ । “यँहा आठौ शताब्दीमा नै मानवबस्तीको विकास भएको देखिएको छ” उनले भने ।
पुरातत्व बिभाग, बेलायतको दुरह्याम बिश्व बिद्यालय, लुम्बिनी विकास कोष सहीतको टोलीले ५ बर्ष देखि गरेको अध्ययन अनुसन्धान पछि सो तथ्य पुष्टी भएको हो । यस बर्ष दरबारको तीन स्थानमा अहिले उत्खनन गरिएको थियो । सेन्ट्रल कम्प्लेक्सका २ स्थान र सयममाई मन्दिरको छेउ एक स्थानमा ट्रेन्च बनाई उत्खनन गरिएको थियो । यस बर्ष मख्य दरबार क्षेत्रमा गरिएको उत्खननबाट पुर्व देखि दक्षिण कुनामा र दक्षिण पुर्वीद्धार समेत फेला परेका छन् । गत बर्ष २ वटा द्धार फेला परेका थिए । यस बर्षको उत्खननले दरबारका चारै वटै द्धार फेला पेरको छ । पाचौ शताब्दीमा आएका चिनियाँ यात्री फाइयान र सातौं शताब्दीमा आएका हुवेनसाङले आफ्नो यात्रा विवरणमा उल्लेख भए अनुसार कै प्राचिन भग्नावशेष फेला परेको पुरातत्व बिभागको प्रमुख पुरातत्वविद कृष्ण केसी बताउँछन । यस बर्ष पनि स्पष्ट देखिने प्राचिन संरचनाहरु फेला परेको उत्खननमा संगलग्न अर्का बरिष्ठ पुरातत्त्वविद् कोषप्रसाद आचार्यले जानकारी दिए । दरबारको सुरक्षा पर्खाल भित्रै व्यवस्थित सहर र घरका भग्नावशेष समेत फेला परेका छन् ।
तिलौराकोटभित्र बाटो, नाली, सुरक्षा किल्ला पर्खाल र मानव बस्ती फेला परेका छन् । ठाउँ–ठाउँमा ठूला भवनका संरचना, इनार र पोखरी पनि पाइएका छन् । दुवै चिनियाँ यात्रीले आफ्नो यात्रा विवरणमा उल्लेख गरेका धेरै बस्तु पाइएपछि बुद्धस्थलको ऐतिहासिकता पुष्टि भएको उत्खननमा वरिष्ठ पुरातत्त्वविद् कोषप्रसाद आचार्यको भनाई छ तिलौराकोट सहितका बुद्धस्थलमा अझै पनि उत्खनन र अन्वेषणको आवश्यकता रहेको उनी बताउँछन । यस्तै सन २०१५ मा गरिएको उत्खनन्बाट प्राप्त सामाग्री काल क्रम निर्धारणका लागि गरिएको नमुना संकलनका आधारमा ईसा पुर्व आठौ सताब्दी देखि मावनको बासोबास भएको प्रमाणित भएको उनले जानकारी दिए । ‘ ५० गुना ५० मिटरको किल्ला, माटाका टुक्राहरुले ईसा पुर्व आठौ शताब्धीतिराको मावनबस्ती पत्ता लागेको छ ।
भारतीय पुरातत्त्वविद् देवला मित्राले सन् १९६२ मा तिलौराकोटमा गरेको उत्खननले भ्रम सिर्जना गरेको अहिलेको प्रमाणबाट पुष्टि भएको छ । तिलौराकोटको प्राचीनता इसापूर्व दोस्रो शताब्दीसम्म भएको देवला मित्राको भनाइलाई अहिले भइरहेको वैज्ञानिक उत्खनन, अन्वेषण, अनुसन्धान र परीक्षणले इसापूर्व आठौं शताब्दीका भवनका किल्ला र पर्खालको पोस्टहोल काठ र बाँसका खाँबोको डोब भेटिएपछि गलत साबित गरेको आचार्यले बताउँछन । मित्राले तिलौराकोटमा सहरको बनोट नभएको, किल्लाबन्दी पूरा नभएको, भएका किल्लाबन्दी इसापूर्व दोस्रो शताब्दी पछिका रहेको दाबी गरेकी थिइन् । हालसम्मको अन्वेषण र वैज्ञानिक परीक्षणले तिलौराकोट व्यवस्थित किल्लाबन्दीको शहर भएको र त्यसको कालक्रम इसापूर्व आठौं शताब्दी ९२८ सय वर्ष पुरानो रहेको दुर्हम विश्वविद्यालयका प्रमुख पुरातत्त्वविद् डाक्टर रविन कनिङघमको भनाई छ । यस्तै, मध्यभागमा १ सय गुनाा १ सय मिटर लम्बाइ र चौडाइको भग्नावशेष सहितको दरबार फेला परेको थियो । फेला परेको संरचनाको संरक्षण र विकासमा स्थानीयले समेत चासो दिनुपर्ने फ्रोफेसर कनिङघमले बताए ।
यस बर्ष उत्खनन, अन्वेशष, फिल्ड बाकिङ, भुभौतिक सर्वे, सामाजिक आर्थिक अध्ययन, भिजिटर सर्वे गरिएको थियो । टोलीमा बेलायतको दुरह्याम विश्वविद्यालय, पाकिस्तान, श्रीलंका बंगलादेश पुरातत्वविद, पुरातत्व विभागका र लुम्बिनी विकासका विज्ञ टोली टोली सहभागी थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७४ सोमबार ००:००  ३ : २० बजे