६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

व्यवसायीलाई गोली प्रहार गर्ने सार्वजनिक



भुवन पाण्डे, भैरहवा ।
भैरहवाका व्यवसायी हरिष सेठिया (पिन्टु) लाई गोली प्रहार गर्ने चारजनालाई रुपन्देही प्रहरीले सार्वजनिक गरेको छ । आज भैरहवामा पत्रकार सम्मेलन गरी प्रहरीले घटनाका योजनाकार, सुटरसहित चारजनालाई सार्वजनिक गरेको हो ।

सेठियामाथि गत फागुन १ गते र २८ गते गरी दुई पटक गोली प्रहार भएको थियो । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका व्यक्तिले १ गते गरेको गोली प्रहारबाट उहाँको ढाडमा छर्रा लागे पनि २८ गते भने उहाँ जोगिनु भएको थियो । २८ गतेको घटना लगत्तै स्थानीय र प्रहरीको प्रयासमा सुटर भारत महाराजगंज थाना कोतवाली मोनजोत ग्राम पञ्चायत बस्ने ४६ वर्षका रामजान मुसलमानलाई प्रहरीले पक्राउ गरेको थियो ।

बयानका आधारमा भारतको महाराजगंज जिल्लाका नौतनावाका ३० वर्षीय मन्जुर मुसलमान, सोहीस्थानका २७ वर्षीय मोहम्मद अफ्जल, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ६ का २४ वर्षीय नजामुद्धिन मुसलमानलाई प्रहरी पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुका साथबाट भारतीय नम्बर प्लेटको मोटरसाइकल, एउटा कटुवा पस्तोल, फायर भएको खोका, १ थान गोली, सामसुङ मोबाइल र डायरी बरामद भएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताउनुभयो । घटनामा संलग्न अर्का अजय जयसवाल भने फरार रहेको प्रहरीले जनाएको छ ।

पहिलो पटक गोली प्रहार हुँदा सेठियाले प्रहरीलाई खबर गर्नुभएन । प्रहरी आफ्नो कारोबार लुकाउन जानकारी नगराएको जनाएको छ । प्रहरीका अनुसार २ वर्षदेखि सेठिया र मोहम्मद अफ्जलबीच हुण्डी कारोबार हुँदै आएको थियो ।

नेपालमा प्रतिबन्धित हुण्डी कारोबार यी दुई मिलेर संचालन गरेका थिए । हुण्डीकै कारोबारबाट अफ्जलले सेठियालाई भारतीय ३५ लाख रुपैयाँ तिर्नु पर्ने प्रहरी अनुसन्धानले देखाएको छ । अफ्जलले सोही रकम नतिर्न २ महिना अगाडिबाट मन्जुर मुसलमान र अजय जयसवालसँग मिलेर घटनाको योजना बनाएर सेठियामाथि गोली प्रहार गरेको प्रहरीको दावी छ ।

प्रकाशित मिति : १३ चैत्र २०७४ मंगलबार ००:००  १२ : ४७ बजे