२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

नयाँ किरण सहकारीको ३ करोड २९ लाखको आय–व्यय सार्वजनिक



बाबुराम रायमाझी ।

बाणगंगा नगरपालिका–९ भर्लाबासमा रहेको नयाँ किरण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ मा ३ करोड २९ लाख रुपैयाँ बराबरको आय–व्यय सार्वजनिक गरेको छ। संस्थाको १५औँ वार्षिक साधारणसभामा कोषाध्यक्ष पोमप्रसाद अर्यालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उक्त आय–व्यय विवरण सार्वजनिक गर्नुभएको हो।

‘राष्ट्र विकासका लागि सहकारिता र सहकारी विकासमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ संस्थाको आफ्नै परिसरमा सम्पन्न साधारणसभामा संस्थाको वार्षिक प्रगति तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो।साधारणसभामा संस्थाका लेखा संयोजक सोमलाल गिरीले सुझावसहित लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, संस्थाका अध्यक्ष प्रेमलाल गिरीले आगामी वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाको भावी योजना र कार्यदिशाबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा बाणगंगा नगरपालिका–९ का वडाध्यक्ष कमल पौडेलले सहकारी संस्थाले सदस्यलाई ऋण प्रवाह गर्दा व्यावसायिक तथा उत्पादनशील क्षेत्रमा लगानी गर्न प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले सहकारीमार्फत सदस्यहरूको आर्थिक अवस्था सुधार गर्न उत्पादनमूलक गतिविधिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, विशिष्ट अतिथि तथा कपिलवस्तु जिल्ला सहकारी संघका अध्यक्ष ध्रुव बेल्बासेले सहकारी क्षेत्रमा तरलताको अवस्था रहेको उल्लेख गर्दै शेयर सदस्यलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले सदस्यलाई सहज सेवा प्रदान गर्दै संस्थालाई चलायमान बनाउन आवश्यक रहेको धारणा राख्नुभयो।

संस्थाका अध्यक्ष प्रेमलाल गिरीको अध्यक्षता, उपाध्यक्ष रेशम आचार्यको स्वागत तथा व्यवस्थापक मोतीकला पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।२०६८ सालमा स्थापना भएको नयाँ किरण सहकारी संस्था लिमिटेडले बाणगंगा नगरपालिका–९ अन्तर्गत भर्लाबास र भर्तापुर क्षेत्रलाई कार्यक्षेत्र बनाएर सेवा प्रदान गर्दै आएको छ। हाल संस्थामा ३७० जना शेयर सदस्य आबद्ध रहेका छन्।

प्रकाशित मिति : २९ आश्विन २०८३ बिहिबार ००:००  ८ : ४५ बजे