मायादेवी अनलाइन, जितपुर ।
मनकामना सामुदायिक वन उपभोक्ता समूह, नन्दनगरको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार सम्पन्न साधारण सभामा वनको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट स्वीकृत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालले सामुदायिक वनहरू नगरको समृद्धिका संवाहक बनेको बताउनुभयो । विगतमा वन तथा सामुदायिक वनले जनसरोकारका विषयलाई पर्याप्त प्राथमिकता नदिने गरेको स्मरण गर्दै उहाँले अहिले सामुदायिक वनले स्थानीय तहसँगको सहकार्यमा विभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको बताउनुभयो ।
उहाँले कानुनी व्यवस्थाअनुसार सामुदायिक वनले स्थानीय तह, उपभोक्ता समूह तथा महिला, दलित र अपाङ्गता भएका व्यक्तिहरूसँग सहकार्य गरी उनीहरूको जीविकोपार्जनमा समेत सहयोग पुर्याएको उल्लेख गर्नुभयो । सामुदायिक वनले पूर्वाधार विकाससँगै सामाजिक कार्यमा पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै मनकामना सामुदायिक वनले समेत सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताउनुभयो ।
कार्यक्रममा बाणगंगा नगरपालिका–२ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलले मनकामना सामुदायिक वनले उपभोक्ताको हितमा काम गर्दै आएको र स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढिरहेको बताउनुभयो ।
साधारण सभामा आगामी आर्थिक वर्षका लागि करिब ९ करोड १४ लाख ५० हजार ७ सय ५० रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो ।
सामुदायिक वनका अध्यक्ष मुक्तबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गंगाकुमारी भट्टराईले गर्नुभएको थियो ।












प्रतिक्रिया