६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

गुल्मीका अधिकाशं सडक कालोपत्रे हुने



शिवलाल सुवेदी, गुल्मी ।
गुल्मीका अधिकाशं सडकहरु कालोपत्रे हुने भएका छन । आर्थिक बर्ष ७४÷७५ मा जिल्लाका अधिकाशं सडकहरु कालोपत्रे हुने भएका हुन । तम्घास–सीमलटारी सडक आयोजनाका अनुसार आर्थिक बर्ष ०७४÷०७५ मा जिल्लाको ६० किलोमिटर सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको छ । त्यस्तै यस आर्थिक बर्षको अन्त्यसम्म १५ किलोमिटर सडक कालोपत्रे हुने आयोजनाले अपेक्षा गरेको छ ।
डिभिजन प्रमुख अधिकारीका अनुसार यस वर्ष सदरमुकाम तम्घासदेखि सीमलटारी जोड्ने तम्घास–सीमलटारी सडक आयोजनाको ३० किमि सडक कालोपत्रेको ठेक्का सम्झौता भइसकेको छ । सदरमुकाम तम्घासदेखि–रेसुंगा जोड्ने सडकको ७ किमि तथा रेसुंगा नगरपालिकाको छल्दी पनाहदेखि मुसिकोट नगरपालिका–५ इन्द्रगौडासम्म जोड्ने छल्दी–इन्दे्रगौंडा सडकको पनि ३ किमि कालोपत्रेको लागि सम्झौता भइ काम चलिरहेको अधिकारीले जानकारी दिए ।
रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डको रुद्रवेणीदेखि चोरकाटेसम्मको २० किमि सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भइसकेको तम्घास–सीमलटारी सडक आयोजनाका प्रमुख सुजन अधिकारीले बताए । आगामि आर्थिक बर्षमा जिल्लाका विभिन्न सडकहरुमा गरि ६० भन्दा बढी किलोमिटर सडक कालोपत्रे गर्ने गरि ठेक्का गरेका छौ अधिकारीले भने‘ ग्रामिण भेगका गुल्मेली जनताहरु छिट्टै कालोपत्रे सडकमा हिडन पाउनुहुन्छ ।’ ग्रामीण क्षेत्रको निकै ब्यस्त मानिने रिडी रुद्रवेणी वामीटक्सार सडकपनि गतबर्षदेखि नै कालोपत्रे गर्ने काम भैरहेको छ । सडक विस्तार भएको ३६ वर्षमा उक्त सडक कालोपत्रे भैरहेको हो । त्यस्तै जिल्लाको अर्को ब्यस्त सडक तम्घास, सिमलटारी प्युठान सडक पनि अघिल्लो बर्ष देखि कालोपत्रे शुरु भएको छ । उक्त सडक खण्डको तम्घास सिमलटारी खण्डमा अहिले धमाधम ग्राभेलको काम सकिएर कालेपत्रे गर्ने अन्तिम तयारी भैरहेको सडक आयोजनाले जनाएको छ ।
गुल्मी जिल्लाका अधिकाशं सडकहरुलाई कालोपत्रे र स्तरउन्नती गर्ने काम बजेट अभावका कारण समयमै सम्पन्न गर्न समस्या भएको आयोजनाले जनाएको छ । बजेट अभावका कारण करिब ६÷७ करोडको काम सम्पन्न भइसक्दा पनि भुक्तानी दिन नसक्दा निमार्ण ब्यवसायीहरु समेत ठुलो समस्या छन । गुल्मीमा तम्घास–सीमलटारी सडक आयोजना र रिडी–रुद्रवेणी–वामीटक्सार सडक मुख्य ठूला सडक हुन् । यस्तै यस आर्थिक बर्षमा जिल्लाभरि १४ वटा पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७४ मंगलबार ००:००  १ : ०३ बजे