६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

१५ वर्षपछि लालपूर्जा, छायो खुसीको लहर



मायादेवी अनलाइन, अर्घाखाँची ।
१५ वर्षपछि लालपूर्जा पाउँदा सन्धिखर्क नगरपालिका वडा नम्बर–१, का नागरिक खुशी भएका छन् । द्वन्द्वको समयमा तत्कालिन माओवादीले सदरमुकाम सन्धिखर्क आक्रमण गर्दा अर्घाखाँची जिल्ला नक्साविहीन बनेको थियो । देश शान्ति प्रकृयामा गएपछि नापी कार्यलयले विशेष कार्यालय स्थापना गरेर पुनः नाप नक्सा जारी गरी जग्गाधनी पूर्जा वितरण गर्न सुरु गरेको हो ।
तत्कालिन माओवादीले सदरमुकाम ध्वस्त पार्दा जलेका कागजपत्रको पुन नापी गरी बनाएका नक्सा पूर्व उप–प्रधानमन्त्री तथा माओवादी नेता टोपबहादुर रायमाझिले वितरण गर्नु भएको हो । उहाँले नक्सा प्रदान गर्दै जग्गामा उत्पादनमूलक कार्यक्रम भित्राएर आत्मनिर्भर र स्वरोजगार बनाइने आश्वासन दिनुभयो ।
स्थानीयबासिन्दाले जिल्लामा नक्सा नहुँदा स्थानीयले ठूलो सास्ती खेप्नु परेको र यो अभियानबाट ठूलो राहत मिलेको बताएका थिए । राष्ट्रियसभाका सदस्य चन्द्रबहादुर खड्का, प्रदेशसभा सदस्यहरु चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, जालापा भुसाल, निर्मला क्षेत्रीलगायतले नक्सा पाएर नक्सा पाएर नागरिकले ठूलो राहत प्राप्त गरेको बताउनुभयो ।
यस्तै सोही जिल्लाको अर्को खबरमा भूमिकास्थान नगरपालिकाको खिल्जी र असुरकोटमा १९ वटा योजनाको अनुगमन गरिएको छ । नगरसभाबाट विनियोजन भएका खानेपानी, सिचाई, स्कुल भवन निर्माण, कृषि, मोटरबाटो लगायतका योजनाका कामको नगरपालिकाको टीमले अनुगमन गरेको छ ।

नगरको वडा–५ को खिल्जी र वडा–६ को असुरकोटमा सञ्चालिन भएका योजनाको आधा काम भैसकेको छ । विकासका काममा १५ प्रतिशत जनश्रमदान गर्नुपर्ने प्रावाधान भएपनि आफनो गाउँलाई विकास र उत्पादनबाट सम्बृद्ध बनाउन खिल्जी र असुरकोटबासीले ३० प्रतिशतसम्म श्रमदान गरेर योजना सम्पन्न गर्न लागि परेका छन ।

प्रकाशित मिति : १४ चैत्र २०७४ बुधबार ००:००  ४ : ३६ बजे