६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन हुँदै



भुवन पाण्डे, भैरहवा ।
२५ सय ६२ औं बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ ।

‘लुम्बिनी नेपालः बुद्ध जन्मस्थल तथा बौद्ध दर्शन र विश्व शान्तिको मुहान’ भन्ने नारासहित आउदो बैशाख १५ र १६ गते सम्मेलन हुन लागेको हो । २ दिन सम्मेलनमा सहभागी भएकालाई तेस्रो दिन बुद्ध जयन्तीको मूल समारोहमा सहभागी गराइने लुम्बिनी विकास कोषका उपाध्यक्ष अवदेश कुमार त्रिपाठीले बताउनुभयो ।

लुम्बिनीमा स्थान अभाव देखाउदै २ वर्षअघि बुद्धको महिमाका लागि आयोजित सम्मेलन लुम्बिनीको सट्टा काठमाडौंमा भएको थियो । सहभागी बौद्धमार्गी र बौद्ध विद्धानले भने सम्मलेन बुद्ध जन्मस्थलमै हुनुपर्ने सुझाएपछि यहाँको आध्यात्मीकतालाई जोडेर यसपालि लुम्बिनीमै सम्मेलन गर्न लागिएको हो ।

लुम्बिनीलाई बौद्धधर्मको उद्गम स्थल र विश्व शान्तिको मुहानका रुपमा अघि बढाउने र बौद्धधर्मको महत्व प्रचार प्रशार र अध्ययनलाई विश्वभर फैलाउने सम्मेलनको प्रमुख लक्ष्य हो ।

यसबाट नेपाललाई अन्तराष्ट्रिय बुद्धिष्ट हबका रुपमा विकास गर्न योगदान गर्ने र धार्मिक एवं सांस्कृतिक पर्यटनको विस्तार र प्रवद्र्धन गर्ने अपेक्षा छ । सम्मेलनमा सहभागी हुन २३ देशका संस्कृति मन्त्रालयलाई निम्ता पठाइएको छ । सम्मेलनमा २ थरी बौद्ध विद्धान सहभागी गराइने छ ।

त्यसमा एकथरी बौद्धमार्गी भिक्षु तथा लामा र अर्का बौद्ध अध्येता तथा विद्धान हुनेछन् । बौद्ध सम्मेलनका लागि आवश्यक तयारी सुरु गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७४ बिहिबार ००:००  १२ : २० बजे