६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

बाँदरले मान्छेलाई टेर्न छाड्यो, नयाँ उपाय खोजिदै



पाल्पा ।
पाल्पाका प्रायः सबै गाउँका बारीमा अहिले मकै पाक्ने बेला भएको छ । पाक्न ठिक्क परेको मकै जोगाउन किसानलाई निकै कष्ट छ । मकै खाइदिने दुम्सी, मुसा, सुगा, लोखर्के जस्ता चराचुरङ्गी र जीवजनावरले भन्दा एकैपटक हुलै आएर नास गर्ने भएकाले बाँदरदेखि जिल्लाका किसान बढी समस्यामा परेका छन् । स्थानीय सरकारले बाँदर लखेट्न हरेक वडामा हेरालु राखे पनि समस्या कम नभएको किसानको गुनासो छ ।
बिहान झिसमिसेदेखि नै बारीमा मान्छे पुग्नै पर्छ । बालबालिका समेत मकै कुर्न जानु पर्ने भएकाले हिजोआज गाउँका विद्यालयमा विद्यार्थी गयल भएका छन् । किसानका मुख्य बाली नै मकै भएको भन्दै ३ महिना खान नपुग्ने परिवारको मकै बाँदरले खाँदा एक महिना पनि नहुने खानीगाउँ आधारभूत विद्यालय कल्लाबारीका प्रधानाध्यापक नलबहादुर साथीघरेले बताउनुभयो ।
बगनासकाली ७ कल्लाबारीका ७५ वर्षीय टंकनाथ घिमिरेका अनुसार पहिले जस्तो हिजोआज बाँदरले मान्छेलाई टेर्न छाडेको छ । पहिला गाउँभरी मान्छे हुन्थे, हारगुहार पनि पाइइन्थ्यो । दुई नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेको पाल्पाका प्रायः सबै स्थानीय सरकारले बाँदर नियन्त्रणका लागि समिति नै बनाएका छन् ।
गएको आर्थिक वर्षमा ५ ÷५ लाख रुपैयाँ बजेट छुट्याएरै बाँदर धपाउन हरेक वडामा हेरालु राखेका स्थानीय सरकारले आगामी आर्थिक वर्षलाई पनि बजेट छुट्याएका छन् । एक वर्षसम्म हेरालु राख्दा पनि समस्या कम नभएपछि अब बाँदर समाउने मान्छे र राख्ने निकुञ्जको खोजीमा रहेको स्थानीय सरकारले जनाएका छन् ।
बाँदर आक्रमणबाट घाइते हुनुभएकी बगनासकाली गाउँपालिका ८ बराङदी घिउसिवासकी ४५ वर्षीया देवीसरा राना झण्डै एक हप्ता उपचारका लागि अस्पताल नै भर्ना हुनुपरेको थियो । बच्चालाई आक्रमण गर्न खोज्दा बाँदर लखेट्ने क्रममा रानालाई हातमा टोकेर घाइते बनाएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७५ सोमबार ००:००  ८ : ५० बजे