१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बिम्स्टेक सम्मेलन– लुम्बिनीमा चाँडो बौद्ध सम्मेलन गर्न नेपालले प्रस्ताव गर्ने



मायादेवी अनलाइन, काठमाण्डौँ ।
नेपालले लुम्बिनीमा जतिसक्दो छिटो बौद्ध सम्मेलन गर्ने प्रस्तावको तयारी गरेको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक) सम्मेलनमा सदस्य राष्ट्रबीच अन्य कार्यसंगै ‘बुद्धिस्ट सर्किट’ बनाउने तयारीमा नेपालले त्यस्तो प्रस्ताव गर्न लागेको हो ।

बिहीबार सुरु हुने शिखर सम्मेलनमा बुद्ध धर्म र शान्ति प्रवद्र्धन गर्न नेपालले त्यस्तो निर्णय लिन लागेको हो । प्रस्तावलाई अन्य सदस्यले साथ दिएमा लुम्बिनीमा अर्को वर्ष बौद्ध सम्मेलन गर्ने तयारी अघि बढ्नेछ । उक्त सम्मेलनले नेपालको शान्ति प्रक्रिया र त्यसका लागि विकासको बाटो तथा पर्यटन प्रवद्र्धन हुने बताइएको छ ।
सम्मेलनमा नेपाललाई श्रीलंका, म्यानमार र थाइल्यान्डले साथ दिने भइसकेका छन् ।

भुटान र बंगलादेश पनि सकारात्मक देखिएकाले भारतको निर्णयमै सम्मेलन निर्भर गर्ने एक अधिकारीले बताएका छन् । बौद्ध सम्मेलनको विषय सुझावका रूपमा आएको भन्दै परराष्ट्रले यसलाई बाहिर ल्याएको छैन ।अध्यक्ष एवं आयोजक मुलुक नेपालले सदस्य मुलुकबीच रेल, सडक पहुच र सिधा हवाई सम्पर्क हुनुपर्नेमा जोड दिन लागेको हो ।

सडक र रेल सञ्जाल केन्द्रित
यसैबीच विमिस्टेक बैठक सदस्य राष्ट्रबीच नेपालले सडक र रेल सञ्जाल विस्तार गर्नेमा पनि जोड दिने भएको छ ।
गत वर्ष साउनमा काठमाडौंमा सम्पन्न १५ औं परराष्ट्रमन्त्री स्तरीय बैठकमा पारित भएका एजेन्डामा ‘कनेक्टिभिटी’ प्रमुख थियो । त्यही निर्णयमा अडेर नेपालले सडक र रेल सञ्जालमा बढी जोड दिन लागेको बताइएको छ । ।बिम्स्टेक शिखर सम्मेलनमा यातायात पारवहन सहजतामा सम्झौता मात्र होइन, त्यसको प्रोटोकलको तयारीमा पनि नेपाल जुटेको हो ।

बिहीबार सुरु हुने शिखर सम्मेलनले १५ औं मन्त्रीस्तरीय बैठकको निर्णय एकत्रित गरी राष्ट्र तथा सरकार प्रमुखबाट अनुमोदन गराउन सदस्य राष्ट्रहरू तयार भएका हुन् ।परियोजनाहरूलाई मूर्त रूप दिन बिम्स्टेक कोषको परिकल्पना अघि बढाएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनु भयो ।

बिम्स्टेकमा पनि सार्कमा युरोपेली महासंघ (ईयू)कै मोडेल जोडेर त्यसमा आफ्नो आधार तयार गर्न लागिएको हो । परराष्ट्र सचिव शंकर बैरागीको अध्यक्षतामा सचिवस्तरीय बैठकमा छुट्टै कार्यदल बसेर प्रोटोकल तय गर्ने विषयमा छलफल भइरहेको छ ।

नेपाल आफूजस्तो भूपेरिवेष्ठित मुलुकलाई अन्य सदस्य मुलुकमार्फत जोड्न बढी सक्रिय भएको हो । यो सम्झौता भएमा नेपालले अन्य मुलुकको भूभागमा निःशुल्क वा अत्यन्त कम शुल्कमा सडक मार्ग उपयोग गर्न पाउने छ ।
सम्मेलनमा सबै सदस्य मुलुकले आतंकवाद, उग्रवाद तथा अन्य अपराध नियन्त्रणसम्बन्धी क्षेत्रीय अभिसन्धि र समान धारणासम्बन्धी सम्झौतामा हस्ताक्षर र अनुमोदन गर्ने तयारी पनि छ । बिम्मस्टेक शिखर सम्मेलनको तयारीमा जुटेको सरकारले अन्तत रिट्रिट पनि सोल्टी वा हायत होटलमै गर्ने तयारी गरेको छ । यसको अन्तिम टुंगो सोमबार आज लाग्नेछ ।

प्रकाशित मिति : ११ भाद्र २०७५ सोमबार ००:००  २ : ३४ बजे