१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बोक्सीको आरोपमा बुहारीद्धारा सासुको हत्या, हत्या गर्ने बुहारी कृष्णनगरबाट पक्राउ



दाङ ।
दाङमा बोक्सीको आरोपमा एक बुहारीले सासूको हत्या गरेकी छिन् । दंगिशरण गाउँपालिका –३, बस्ने ६९ वर्षीया खोपी रावतलाई ४० वर्षीया बुहारी टंकी रावतले बोक्सी भएको भन्दै हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
यही भदौ २ गते सासूबुहारी नै दाङबाट सल्यानको कपुरकोट झारफुक गर्न गएको र ५ गते झारफुक गरेर फर्कँदै गर्दा कपुरकोट गाउँपालिका –२, शिवमन्दिर नजिकै रहेको सामुदायिक वनको भकमको भिरमा हत्या गरेर फालेको बुहारी टंकीले प्रहरीमा बयान दिएका छन् ।
टंकीले आफू लगातार बिरामी भैरहने र झारफुक गर्नेले सासू खोपीलाई बोक्सी भनेपछि आफूले बाचुञ्जेल दुःख पाउने भन्दै सासूको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले जानकारी दिनुभयो ।
भदौ २ गते घरबाट झारफुकका लागि सल्यान हिँडेका सासू–बुहारी भोलिपल्टदेखि फोन सम्पर्क नभएपछि घरपरिवारले इलाका प्रहरी कार्यालय तुलसीपुरमा १२ गते हुलियासहित खोजबिनका लागि निवेदन दिएका थिए ।
सल्यानको भिरमा हिजो सासू खोपीको शव फेला परेपछि प्रहरीले बुहारीलाई खोज्दै जाँदा कपिलवस्तुको कृष्णनगरबाट पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक राजन रायमाझीको कमाण्डमा खटिएको प्रहरी टोलीले अभियुक्त टंकीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा सासूको हत्या आफूले गरेको स्वीकारका छन् । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७५ शनिबार ००:००  ४ : ५८ बजे