१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पर्यटकलाई मध्यनजर गर्दै लुम्बिनीबाट पर्यटक बस संचालन



बुटवल ।
बुद्ध जन्मस्थल लुम्बिनीबाट पर्यटकीय शहर पोखरा र संघीय राजधानी काठमाडौंका लागि स्तरीय पर्यटक बस सेवा सञ्चालनमा आएको छ ।
सिद्धार्थ यातायात समितिले ४० सिट क्षमताका बस दैनिक सञ्चालन गर्नेगरी सेवा सुरु गरेको हो । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले आइतबार सेवा शुभारम्भ गरे ।
पोखराका लागि मञ्जुश्री ट्राभल्सको बस बिहान ६ बजे र काठमाडौंका लागि जगदम्बा ट्राभल्सको बस बिहान साढे ६ बजे छुट्ने समय तय गरिएको छ ।
लुम्बिनी आउने पर्यटक र स्थानीय जनतालाई झण्डै एक करोड मूल्यका सुविधा सम्पन्न बसमार्फत स्तरीय सेवा दिने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको समितिका अध्यक्ष सन्जीव रोक्काले बताए ।
लुम्बिनीबाट छुट्ने बस भैरहवा र बुटवल हुंदै पोखरा र काठमाडौं जानेछन् । काठमाडौंका लागि ८ सय रुपैयां तथा पोखराका लागि २ हजार रुपैयाँ भाडा दर तय गरिएको छ ।
पोखरा जाने यात्रुले २ हजार दरको टिकटबाट एक छाक खाना तथा नास्ता स्वरुप मिनरल वाटर र कुकिज पाउनेछन् ।
स्तरीय पर्यटक बस सञ्चालनले लुम्बिनी आउने पर्यटकमार्फत अन्तर्रा्ष्ट्रिय जगतमा लुम्बिनीको राम्रो सन्देश जाने र स्थानीयले समेत सुविधा पाउने लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बताए ।

पर्यटक र स्थानीयको माग भएमा थप बस र सेवा विस्तार गर्दै जाने सिद्धार्थ यातायात समितिका अध्यक्ष सन्जीव रोकाले बताए ।

प्रकाशित मिति : १७ भाद्र २०७५ आइतबार ००:००  ९ : २४ बजे