१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चार दशक देखि छैन धनार्जी गाउँको लालपुर्जा ! पाउने कहिले ?



शिवलाल सुवेदी, गुल्मी ।
धुर्कोट गाउँपालिका–५ धनार्जीका रामप्साद भण्डारी उमेरले ६० कटिसके । लामो समय शिक्षक पेशा गरेर भण्डारीले पेन्सन समेत पकाए । उनी २२ वर्षकै छँदा जग्गा लिएर बसोबास गरेको जग्गाको अहिलेसम्म लालपुर्जा छैन । चार दशक वितिसक्दा पनि वसोवास गरेको जग्गाको लालपुर्जा आफ्नो हातमा नहुदाँ उनी निराश छन ।
पटक–पटक आफुहरु वसेको जग्गाको नाप नक्सा भएको भएपनि आफ्नो हातमा लालपुर्जा नपर्दासम्म केही टुङ्गो नहुने उनले गुनासो गरे । उनका अनुसार आफु मात्रै हैन धनार्जि गाउँका ३० घरपरिवारहरुको लालपुर्जा नभएको बताए । १ रोपनीभन्दा बढी जग्गा भएको बताउने उनले लालपुर्जा पाउने आशा मर्न लागेको बताए । अव उमेरले नेटो काट्न लाग्यो उनले भने‘ आफनो नाममा नभएपनि छोराको नाममा भएपनि लालपुर्जा बने हुन्थ्यो ।’ गाउँकै एक विद्यालय सञ्चालन गर्नका लागि भन्दै धनार्जीको जग्गा विक्रि वितरण गरेको भएपनि विद्यालय नै चासो नदिएकाले आफुहरुले लालपुर्जा नपाएको गुनासो उनीहरुको रहेको छ ।
विद्यालयको नाममा त लालपुर्जा आएको छ भन्ने सुनिएको छ भण्डारीले अगाडि भने‘ हामीले भने कहिले पाउने हो, जसरी भएपनि लालपुर्जा दिलाईदिए हुन्थ्यो ।’ उनले आफ्नो नामा जग्गा लालपुर्जा नभएकाले जग्गाको तिरो तिरेका छैनन् । तिरो नलाग्ने त्यस्तो जग्गाबाट धितो–जमानी राखेर वित्तीय कारोबार गर्न नमिलेको बताए । ‘जग्गा नम्बरी नभएर बैंकमा राख्न मिल्दैन’रामप्रसादले भने ‘पुर्जा नभएको जग्गा बिक्री गर्न मिल्ने त कुरै भएन ।’ सोही ठाउँका दामोदर भण्डारीले पनि आफ्नो जग्गाको लालपुर्जा नभएकाले किनवेच गर्न समस्या भएको बताए ।
४० बर्ष अगाडिदेखि बसोवास गरेको जग्गाको पुर्जा बन्न नसक्नु दुखःद भएको उनले बताए । ‘लालपुर्जा बन्दैन भने हामी कसरी व्यवहार चलाउने उनले गुनासो पोख्दै भने‘ विद्यालय चलाउन पैसा दिएर जग्गा त पाइयो तर लालपुर्जा नहुदाँ कतै धितो राखेर कारोवार गर्न नमिलेर कारोवार समेत गर्न पाइएको छैन ।’ उनका अनुसार धनार्जी गाउँमा २० घरपरिवारले आफ्नो वसोवास गरेका यही गरेका छन भने लालपुर्जा नभएकै कारण १० घरपरिवारले अहिलेसम्म घर निमार्ण समेत गर्न सकेका छैनन । लालपुर्जा नभएकै कारण भुकम्पले क्षती पु¥याए पनि क्षती नपाएको उनले गुनासो गरे । लालपुर्जा नभएकाले सरकारवाट पाउने सेवा सुविधाहरुवाट समेत आफुहरु वञ्चित भएको पिडीतहरुले बताएका छन ।
करिव २ रोपनी जग्गा भएका हुमा भण्डारीले आफुलाई त जग्गाको लालपुर्जा आफ्नो पुस्तामा हात नपर्ने बताए । मेरो नाममा त लालपुर्जा आउला जस्तो लाग्दैन उनले भने‘ छोरा नातीको पालमा आएछ भने पनि भयो ।’ उनले आफु र छोराहरुले पढेको विद्यालय भएकाले लालपुर्जा नआएपनि विद्यालयलाई सहयोग गरिएछ भनेर मन बुझाएको बताए । अहिलेसम्म वसेको भाडाको हिसाव गर्ने हो भने पनि जग्गाको मुल्य वरावर हुन आउने उनको भनाई छ । यी त गाउँका उदाहरण मात्र हुन। चर दशकअघिदेखि बसोवासको जग्गाको लालपुर्जा नहुँदा यहाँका सर्वसाधारण मर्कामा छन ।
लामो सयमदेखि सर्वसाधारणको समस्या ज्युँका त्युँ रहन गएकाले स्थानीयको आक्रोश आफूहरूले खेप्नु परेको हिमालय प्राविका प्रधानाध्यापक लुल्सीराम भण्डारीले बताए । उनले विद्यालयको नाममा लालपुर्जा आएकाले छिट्टै पहल गरेर धनार्जी गाउँमा वसोवास गर्ने सर्वसाधारणहरुलाई लालपुर्जा उपलब्ध गराउने बताए । हामीले दिलयलयका तर्फवाट गर्ने पहल गरेका छौ उनले भने‘ विभिन्न समस्याहरुका कारण ढिलाई हुन भएको छ ।’ स्थानीयवासीहरु भने विद्यालयको हेलचेक्रयाईंले पुर्जा पाउन नसकेको बताउँछन् ।
जिल्ला समन्वय समिती प्रमुख लक्ष्मण पराजुलीले बसोबास भएर पनि लालपुर्जा नभएकाहरुका जिल्लामा धनार्जी मात्र नभएर अन्य स्थानमा पनि भएको बताए । उनका अनुसार आर्थिक श्रोत नभएर विद्यालय स्वास्थ्य चौकी सञ्चालन गर्न सार्वजनिक जग्गा थुप्रै ठाउँमा विक्रि भएको बताए । धेरै स्थानमा यस्ता लालपुर्जा नभएका सर्वसाधारणहरु हुनुहुन्छ पराजुलीले भने‘ यसको छिट्टै पलह गरेर पैसा वुझाएर पनि आफ्नो पुर्जा नभएकालाई पुर्जा दिलाउनुपर्छ ।’

प्रकाशित मिति : १२ आश्विन २०७५ शुक्रबार ००:००  २ : ४७ बजे