१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

उच्च अदालतमा जरिवाना वापतको लगत उठेन



बुटवल ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा जरिवाना वापतको लगत रु ५८ करोड ८६ लाख २१ हजार उठ्न सकेको छैन । सो अदालतले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा मुख्य न्यायाधिश कुमार पोखरेलले दण्ड जरिवाना वापतको रकम उठाउने जिम्मेवारी प्रहरीको भए पनि दण्ड जरिवाना लागेका अभियुक्तको मृत्यु भएका कारण जरिवानाको लगत उठ्न नसकेको बताउनुभयो ।

उच्च अदालत तुलसीपुर, बुटबल इजलास अदालत अन्तर्गत रुपन्देही जिल्ला अदालतको रु १७ करोड ८३ लाख ५८ हजार, कपिलवस्तु जिल्ला अदालतको रु ४ करोड ५५ लाख ४२ हजार, नवलपरासी जिल्ला अदालतको रु ११ करोड ५५ लाख ७० हजार, पाल्पा जिल्ला अदालतको रु ६ करोड ७३ लाख ३ हजार, गुल्मी जिल्ला अदालतको रु १७ करोड ६५ लाख ३२ हजार र अर्घाखाँची जिल्ला अदालतको रु ५३ लाख १३ हजार लगत उठन सकेको छैन ।

लगत अदालत स्थापना भएदेखि अहिलेसम्मको हो । चालू आवको भदौ मसान्तसम्म रु एक करोड १६ लाख ७ हजार लगत दण्ड जरिवानाको सङ्कलन भएको छ । सो अवसरमा मुख्य न्यायाधिश पोखरेलले न्यायाधिशको एकल प्रयासबाट मात्रै न्याय सम्पादन हुन नसक्ने उललेख गर्दै अदालती प्रक्रिया ढिलो हुने गरेको बताउनुभयो ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका रजिष्ट्रार ठगिन्द्र कट्टेलले मानव शंसाधन, बजेट तथा स्रोत साधन लगायतका विभिन्न समस्या र चुनौती अदालतसँग रहेको बताउनुभयो ।

प्रकाशित मिति : १३ आश्विन २०७५ शनिबार ००:००  ३ : १८ बजे