१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जिल्ला परियोजना सल्लाहकार समितिको वैठक बस्यो



मायादेवी अनलाइन, कपिलवस्तु ।

फेयरमेड फाउण्डेशनको जिल्ला परियोजना सल्लाहकार समितिको वैठक कपिलवस्तु तौलिहवामा सम्पन्न भएको छ । परियोजनाले कपिलवस्तुमा मातृ तथा नवजात शिशु स्वास्थ्यमा हालसम्म गरेका कामको प्रगती विवरण र स्वास्थ्य क्षेत्रमा आएको सुधारको बारेमा सरोकारवालाहरुलाई जानकारी गराएको छ ।

सल्लाहकार समितिको वैठकमा फेयरमेड परियोजनाका प्रमुख निर्मला शर्मा, परियोजनाका व्यवस्थापक शशिकुमार लाल कर्ण, साझेदार संस्था आइ एन एफ की सिता थापाले मातृ तथा नवजात शिशु स्वास्थ्य परियोजनाको लक्ष्य, उपलब्धी तथा आगामी कार्यक्रमबारे जानकारी गराएका थिए । परियोजनाले जिल्लाका १० स्थानीय तहका ४५ वडामा आधारभूत स्वास्थ्य सेवामा पहुँच पुरयाउन प्रत्यक्ष सहयोग गरेको जनाएको छ ।

वैठकमा जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनाल, जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगन्द्र भगत, नेपाल पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष डिलाराम भुसाल, महिला तथा बालबालिका कार्यालयकी प्रमुख कमला पौडेल, गैसस महासंघका जिल्ला अध्यक्ष प्रविन कुमार श्रीवास्तव, अपांग महासंघका देवी प्रसाद पोख्रेल लगाएतले परियोजनाले स्थानीय तहसंग सहकार्य गरेर गरिब विपन्न समुदायको स्वास्थ्यमा सहज पहुँच पु¥याउन सुझाव दिनुभयो ।

फेयरमेडको परियोजना कार्यान्वयन भएपछि जिल्लामा स्वास्थ्य संस्थामा प्रसुती गराउनेको संख्या बृद्धि भएको बताइएको छ । जिल्लामा रहेका ३ वटा अस्पताल, २ वटा स्वास्थ्य केन्द्र २७ वटा बर्थिङ्ग सेन्टरबाट दैनिकजसो प्रसुती गराउनेको संख्या बृद्धि भएको हो ।

जिल्लामा ९ प्रतिशतले मात्र स्वास्थ्य संस्थामा आएर प्रसुती गराउने गरेको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालयले दिएको छ । हाल फेयरमेड परियोजनाको सहयोग पछि जिल्लामा ३८ प्रतिशत महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माउने गरेको बताएको छ ।

जिल्लामा २७ वटा स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर संचालन हुदै आएको छ । जसमध्ये १२ वटामा फेयरमेड परियोजनाले स्वास्थ्य उपकरण, जनचेतना तथा सामाजिक परिचालनको काम सहयोग गरेको बताएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७५ शनिबार ००:००  ३ : २० बजे