११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

आयो दशै, फर्कदै मुग्लानी, सिमानाकामा लुटिने क्रम बढ्दो



काठमाण्डौ ।
दशैँ तिहार नजिकिँदै गर्दा विदेश गएकाघरु घर फर्कन क्रम तीव्र भएको छ । बिभिन्न खाडी मुलुक तथा युरोप, अमेरिका, अष्ट्रेलिया, जापान तथा अन्य मुलुक गएकाहरु फर्कन थाले पछि बस पार्कमा पनि भिड बढ्न थालेको हो ।

रोजगारीका क्रममा भारत गएका नेपाली कामदार स्वदेश फर्किने क्रम सुरु भएको छ । स्थलमार्ग हुँदै फर्किएका मुग्लानीका कारण रुपन्देहीको बेलहिया नाका आजभोलि व्यस्त हुने गरेको छ ।

भारतीय बजारमा घुँइचो

यस्तै दसैं जति नजिकिँदै छ त्यति नै सिमानाको भारतीय बजार सुनौलीमा नेपालीको घुइँचो बढेको छ । दाल, चिनी, चामल, कपडा, साबुनलगायत सामग्री किन्न दैनिक नेपालीको सुनौली बजारमा ताँती लागेको छ । भारतमा सस्तोमा दैनिक उपभोगका सामग्री पाइने मनोविज्ञानका कारण चितवन, अर्घाखाँची, पाल्पा, नवलपरासी लगायत जिल्लाबाट नेपालीहरू सुनौली आउने गरेका छन् ।

यता दसैं नजिकए सँगै बढेको तस्करी नियन्त्रण गर्न सिमानामा जनपद र सशस्त्र प्रहरीले कडाइ गरेका छन् । तस्करी र चोरी पैठारी दृष्टिगत गरी प्रहरीले कडा निगरानी र जाँचमा कडाइ गरेको छ । केही समययता जनपद र सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएका कपडा, खाद्यान्न लगायत लाखौँ रुपैयाँका सामग्री बरामद गरेर भैरहवा भन्सार कार्यालयमा बुझाएको जनाएका छन् ।

सुरक्षाकर्मीको हेल्पडेस्क

भारतबाट फर्किरहेका नेपालीको सहायताका लागि रूपन्देही प्रहरीले बेलहिया नाकामा हेल्प डेस्क राखेको छ । विगतमा धेरै यात्रु अलपत्र परेको, लुटिएको, दुव्र्यवहारमा परेका घटना दृष्टिगत गरी प्रहरीले हेल्प डेस्क राखेको हो । भारतबाट फर्किने नेपाली यातायात, होटल, खानाबारे जानकारी लिइरहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख एवं इन्स्पेक्टर वीरबहादुर थापाले जानकारी दिए ।

सिमा नाकामा लुटिने क्रम सुरु

दसैं मनाउन फर्किरहेका नेपाली भारतमा लुटिने क्रम सुरु भएको छ। गत वर्ष दसैंमा घर फर्किने क्रममा २० जना नेपाली लुटिएका थिए। यस वर्ष ११ जना लुटिएको इप्रका बेलहियाले जनाएको छ । बाग्लुङ बडीगाउँ नगरपालिका–२ जलजलाका टेकबहादुर विक दसैं मनाउन राजस्थानबाट घर फर्किंदा बीच बाटोमा लुटिएका छन् । फर्किने क्रममा कानुपरमा चिसो र बिस्कुट खाएर बेहोस भएपछि उनको साथमा रहेको ४५ हजार भारतीय रुपैयाँसहित सबै सामान लुटिएको प्रमुख थापाले बताए ।

कानपुरमा नेपाली मूलकै एक व्यक्तिले उनलाई चिसो र बिस्कुट खुवाएको थियो। नेपाली मूलका व्यक्तिहरूले नै नेपालीलाई भारतमा लुट्ने गरेका छन् । उनले भारतबाट फर्किने नेपालीलाई लुटेराहरूले नसालु पदार्थ खुवाएर लुटपाट गर्ने भएकाले भारतमा कार्यरत आफन्त, साथीभाइ लगायतलाई घर फर्किंदा बाटोमा कसैले खान दिए नखानु भनेर सचेत गराउन आग्रह गरे । दसैं मनाउन फर्किने क्रममा लुटिएका नेपालीलाई प्रहरीले उनीहरूको आफन्तसँग सम्पर्क गरेर घर पु याउन सघाइरहेको प्रमुख थापाले बताए ।

दसैं मनाउन फर्किरहेका मुग्लानीसँग जथाभावी भाडा असुल्ने रिक्साचालक, बस, र ट्याक्सी व्यवसायीलाई पनि सचेत गराइएको ट्राफिक प्रहरी पोस्ट बेलहियाका प्रमुख एवं प्रहरी नायब निरीक्षक नारद कार्कीले बताए । उनले जथाभावी भाडा असुलेको पाइए तत्काल कारवाही गरिने बताए । ‘हामीले रिक्साचालक र यातायात व्यवसायीलाई यसबारे सचेत गराएका छौं र हामी पनि सजग छौं’, उनले भने, ‘बढी भाडा असुलेको गुनासो आए तत्काल कारवाही गर्छौं ।’ भारतबाट आउने नेपालीलाई दलालहरूले सीमानाका बेलहियामा कमिसनको चक्करमा बढी भाडा लिएर पठाउने गर्छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७५ सोमबार ००:००  २ : ४७ बजे