२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

तराईमा पनि कोल ! चुक बेचेर अर्याल परिवारले गर्छन राम्रो ‘कमाई’



मायादेवी अनलाइन, वाणगंगा ।
पहाडी जिल्लामा कोलको प्रयोग सामान्य नै छ तर तराईमा भने यसको प्रयोग नै हुदैन भनेपनि हुन्छ । कृषिमा विभिन्न प्रविधी भित्रिएपनि अझ पनि कोलको प्रयोग पहाडमा देख्न पाइन्छ । नयाँ पूस्तालाई कोल कस्तो हुन्छ भन्ने धेरैलाई थाहा नहुन पनि सक्दछ । कपिलवस्तुको वाणगंगा नगरपालिका ८ बोर्डगाउँमा अमिलो पेल्न कोलको प्रयोग गरिएको छ ।
आधुनिक कृषि प्रणालीको उपयोग गरिरहेको बेला धेरै नेपाली कृषकहरु अझै पनि परम्परागत कृषि प्रणालीमै अध्यस्त छन् । यस्ता उदाहरण धेरै ठाउँमा देख्न सकिन्छ । फलस्वरुप वाणगंगा नगरपालिका वडा नम्बर ८ निवासी लेखनाथ अर्याल र पुष्पादेवी अर्यालले कोलमा अमिलो पेलेर काम चलाउदै आउनु भएको छ ।
परम्परागत स्थानीय प्रविधीमा आधारित कोलमा अमिलो पेलेर थप आम्दानीको श्रोत बनेको छ । घरमा रहेको अमिलोको एउटै बोटबाट राम्रै आम्दानी गर्न सफल हुनुभएको छ ।


आँगनमै अमिलोको बोट, बोटै भरी दाना, त्यही बोटको अमिलो पेलेर राम्रो कमाई गरेको छु कृषक लेखनाथ अर्यालले भन्नुभयो । अमिलोको दानाबाट बार्षिक रुपमा १० देखि १६ हजार सम्मको चुक बनाएर विक्री गरेको अनुभव छ अर्याल परिवारसंग । सिजनमा एकपटक फल्ने अमिलोबाट चुक बनाएर महंगो मूल्यमा विक्री हुने गरेको छ ।
एउटै बोटमा एकहजार बढी अमिलो फलेको छ, पुष्पादेवी अर्यालले भन्नुभयो – ‘अमिलो पेलेर चुक बनाए घरबाटै धमाधम बिक्री हुन्छ, बजारमै लानुपर्दैन ।’ अमिलो पेलर बनाएको चुक प्रति केजी १२ सय सम्म विक्री हुने गर्दछ, यो विभिन्न घरायसी कामकाज तथा औषधीको रुपमा समेत प्रयोग हुने गर्दछ ।


परम्परागत प्रविधी कोलमा अमिलो पेल्न जनशक्ति भने धेरै चाहिने र समय पनि बढि लाग्ने अर्यालको भनाई छ । अमिलो टिप्ने, बोक्रा फाल्ने अनि कोलमा पेल्ने र अमिलोबाट निस्किएको रसलाई तामाको भाडामा अलिबेर पकाएको केही समयपछि बल्ल चुक बन्ने गर्दछ, जसका लागि जनशक्ति र समय लाग्दछ ।
नेपाली कृषकहरु व्यवसायिक र आधुनिक प्रविधीको प्रयोग नगर्दा न्यून उत्पादन र महंगो समेत हुने गर्दछ । अमिलो खेतीे व्यवसायीक रुपमा गरे यसबाट मनग्ये आम्दानी गर्न सकिने धेरै सम्भावना छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७५ आइतबार ००:००  ३ : ०२ बजे