२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

स्वाथ्यमाथि गम्भीर खेलवाड, ६ महिनादेखि काटेर राखेका बाख्राका खुट्टा र टाउका भेटिए !



रुपन्देही ।
रुपन्देहीका केहि मासु पसलले जनताको स्वास्थ्य माथी गम्भीर खेलवाड गरेका छन् । जिल्लाका केहि मासु पसलले महिनौ सम्म फ्रिजमा राखिएको मासु विक्रि गरिएको पाईएको हो । जिल्ला अनुगमन समिति रूपन्देहीले बुटवलको कुरैशी मासु पसलमा सिलवन्दी गरेको छ । अनुगमनको क्रममा करिब ६ महिनादेखि काटेका खसीबोकाका खुट्टा र टाउका मासु डिप फ्रिजमा स्टोरेज गरेर राखेको भेटिएपछि समितिले पसल सिलबन्दी गरेको हो ।
बुटवलको नयाँ बसपार्क पछाडि इट्टाभट्टी लाईनको कुरैशी मासु पसलमा अनुगमन गर्दा जिल्ला अनुगमन समितिले सडेको अवस्थामा ३ सय १० केजी टाउका र खुट्टा फेला पारेको हो ।
उक्त पसलले सर्वसाधारणसँगै रूपन्देहीका अधिकांश नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीका कार्यालय तथा व्यारेकहरुमा नियमित मासु उपलब्ध गराउँदै आएको छ । उक्त पसलले दैनिक १५ देखि २० वटासम्म खसीबोका काट्दै आएको समितिले जनाएको छ ।
जाडो मौसममा बढी माग हुने खुट्टा र टाउकोलाई करिब ६ महिनादेखि नै संकलन गरी बेच्ने तयारीमा राखेको अवस्थामा भेटिएको थियो । मासु पसलमा काम गर्ने कामदार सुत्ने र खाना पकाउने कोठामा खुट्टा र टाउका फ्रिजिङ गरिएको अवस्थामा फेला पारिएको अनुगमन समितिका संयोजक तथा रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिनुभयो ।
पाँच सय लिटरका दुई वटा डीप फ्रिजमा लुकाएर राखेको अवस्थामा अनुगमन समितिले भित्री कोठाबाट उक्त परिमाणको टाउका र खुट्टा बरामद गरेको थियो। बरामद गरिएको मासुलाई डम्पिङ साईडमा लगी खाडल खनेर पुरिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।
पाण्डेले उपभोक्ता हित संरक्षण ऐन अन्तर्गत मासु पसल सञ्चालकलाई कारबाही गरिने बताउनुभयो । समितिका अनुसार अनुगमनको क्रममा यति ठूलो परिमाणको सडेको मासु फेला परेको यो पहिलो हो ।
मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण पौडेलले व्यवसायीले उपभोक्तालाई राम्रो र गुणस्तरीय मासु खुवाउनको लागि मासु जाँच ऐन र मासु नियमावली लागू हुन अति आवश्यक रहेको बताउनुभयो ।
पौडेलले मासु निर्देशिका जारी गर्न बुटवल उपमहानगरपालिकालाई पटकपटक आग्रह गरे पनि त्यो जारी गर्न नसकिएको भन्दै तत्काल बधशाला सञ्चालन गर्न नसकिए पनि निर्देशिका जारी गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १४ कार्तिक २०७५ बुधबार ००:००  ४ : ५१ बजे