२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

दाङका कर्मचारीले तलब पाएनन्, दशै खल्लो, तिहार पनि उस्तै हुने खतरा



दाङ ।
दाङमा खटिएका विषयगत कार्यालयका कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन । प्रदेश र संघीय सरकारले तलबका लागि बजेटको व्यवस्थापन नगर्दा चार महिनादेखि राष्ट्रसेवक कर्मचारी तलबबिहीन भएका हुन् ।
जिल्लामा रहेका कृषि ज्ञान केन्द्र, पशु विज्ञ केन्द्र र स्थानीय तहमा खटिएका विषयगत प्राविधिक कर्मचारीले गएको साउन महिनादेखि तलब पाएका छैनन्। स्थानीय तहमा खटिएका विषयगत कर्मचारीको पनि अवस्था त्यस्तै देखिएको छ । स्थानीय तहमा समायोजन भए पछि विषयगत शाखाका कर्मचारीलाई तलबको सकस भएको छ। कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्णबहादुर बस्नेतले चार महिना देखि कार्यालयमा कार्यरत कर्मचारीले तलब नपाएको बताउनुभयो ।
उहाले प्रदेश र संघीय सरकारसँग तलबको माग गरेको भए पनि दसैं रित्तो भएको र तिहारमा पनि तलब नआउने अवस्था देखिएको बताउनुभयो ।
स्थानीय तहका कृषि, शिक्षा, स्वास्थ्य, महिला बालबालिका तथा अन्य विषयगत शाखामा कार्यरत कर्मचारीले तलब पाएका छैनन । दाङको दंगीशरण गाउँपालिकामा कार्यरत कृषि, पशु, शिक्षा, स्वास्थ्य शाखालगायतका शाखाका ६ जना कर्माचारीले नियमित पाउनु पर्ने तलब नपाएको गुनासो गरेका छन ।
उनीहरुले दसैंमा समेत तलब भत्ता नपाएको गुनासो गर्दै ऋण लिएर दसैं मानेको र त्यो अवस्था तिहारमा पनि आउन लागेको बताए । नियमित पाउनुपर्ने तलब सुविधा चार महिनादेखि नदिएपछि कर्मचारीको दसैं समेत खल्लो भएको छ ।
दंगीशरण गाउँपालिकाले दसैं पर्व सकिएर तिहार पर्व नजिकिँदा समेत कर्मचारीलाई तलब भत्ता उपलब्ध गराउने विषयमा कुनै पहलकदमी र चासो नदिएको उनीहरुको आरोप छ । पशु शाखाका भरत देवकोटाले तलब नपाएपछि आफूहरुले बाध्य भएर गाउँपालिकालाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउनु परेको बताउनुभयो ।

प्रकाशित मिति : १६ कार्तिक २०७५ शुक्रबार ००:००  ४ : ५५ बजे