विक्रम संवत् २०८३ भदौ १० गते (२०२६ अगस्ट २६) को बिहान भोटेकोशीमा आएको आकस्मिक बाढीले केही घण्टामै परिचित भूगोललाई अपरिचित बनाइदियो। नदीको बहावसँगै घर, सडक, पुल, जीविकाका आधार र मानिसका वर्षौंका स्मृतिहरू बगेर गए। रसुवाको सीमावर्ती क्षेत्रमा उत्पन्न भएको ठूलो बहाव भोटेकोशी हुँदै तलतिर फैलिँदा नदी किनारका बस्तीहरू प्रभावित भए। प्रारम्भिक प्राविधिक अध्ययनहरूले ल्हेन्दे खोलाको बहाव केही समय अवरुद्ध भई अस्थायी ताल बनेको र प्राकृतिक अवरोध भत्किएपछि ठूलो मात्रामा पानी एक्कासि तलतिर बगेको देखाएका छन्। तर स्थानीयका लागि त्यो प्राविधिक घटना थिएन। त्यो बाँच्ने, परिवार जोगाउने, सुरक्षित ठाउँ खोज्ने र हराइरहेका आफन्तको खबर पर्खने समय थियो। बाढीको प्रभाव रसुवा हुँदै नुवाकोट र धादिङतर्फ फैलिँदा घर र संरचनासँगै मानिसका जीवन, सम्बन्ध र भविष्य पनि प्रभावित भए। बाहिरबाट हेर्दा उद्धार, राहत र भग्नावशेष देखिन्थे; नजिक पुग्दा त्यसको पछाडि डर, शोक, असुरक्षा र अनिश्चितताको अर्को संसार थियो।
त्यही मानवीय पक्षसँग जोडिएर मैले नुवाकोटमा ३५ दिन बिताएँ। नुवाकोट पुगेपछि सुरुमा देखिने दृश्य राहतको थियो। चामल, दाल, पानी, कपडा, कम्बल, औषधि र सरसफाइका सामग्री लिएर मानिसहरू प्रभावित समुदायसम्म पुगिरहेका थिए। स्वयंसेवक, सुरक्षाकर्मी, स्थानीय सरकार, समुदाय र विभिन्न संस्थाका मानिसहरू आ–आफ्नो ठाउँबाट सक्रिय थिए। तत्कालीन आवश्यकता पूरा गर्नु सबैको प्राथमिकता थियो।
राहतको सूचीभन्दा मानिसका आवश्यकता धेरै फराकिला रहेछन्। कसैलाई खाना, औषधि र सुरक्षित बस्ने ठाउँ चाहिएको थियो; कसैलाई हराइरहेको परिवारको सदस्यको खबर। कसैलाई डराएको बच्चाको मन बुझिदिने मानिस चाहिएको थियो, कसैलाई गुमाएको अभिभावकको अभावमा साथ दिने कोही। र कतिपयलाई कुनै वस्तु होइन, केवल आफ्ना कुरा सुनिदिने एउटा संवेदनशील मन चाहिएको थियो।
परिवारका सदस्य हराएका मानिसहरूसँगका भेटहरू मेरा लागि सबैभन्दा कठिन रहे। प्रहरी तथा सुरक्षाकर्मीका कार्यालयमा हराइरहेका मानिसका तस्बिरहरू टाँसिएका थिए। आफन्तहरू कुनै नयाँ सूचना आउँछ कि भनेर प्रतीक्षामा थिए। ती तस्बिरमा एउटा अनुहार देखिन्थ्यो, तर त्यसको पछाडि एउटा पूरा परिवार थियो। त्यही क्रममा एउटा परिवारसँगको भेट मेरो मनमा गहिरो गरी बसेको छ। परिवारका एक सदस्यले मलाई हेर्दै भने, “मेरो घरमुनि मेरो परिवारका सात जना छन्, कृपया निकालिदिनुहोस्।” उहाँले औँल्याइरहनुभएको ठाउँमा घरको कुनै नामोनिसान थिएन। बाढी र पहिरोले सबै बगाइसकेको थियो। उहाँको आवाजमा मिसिएको निराशा र आँखाबाट बगेका आँसु देख्दा म आफूलाई सम्हाल्न सकिनँ। मानवीय सेवाको क्रममा आफूलाई बलियो राख्न खोजे पनि त्यो क्षणमा भावनालाई थाम्न सकिनँ। त्यो दिन म धेरै रोएँ।त्यो क्षणमा मानवीय सेवामा काम गर्ने मानिसले आफूलाई सधैं बलियो राख्नुपर्छ भन्ने मेरो धारणा केही कमजोर भयो। अगाडि कुनै ‘केस’ थिएन। एउटा परिवार थियो, सात जना मानिसको खोजी थियो र एउटा यस्तो पीडा थियो, जसलाई कुनै तथ्यांकले पूरा रूपमा समेट्न सक्दैन।
अर्को दृश्य त्रिशूली नदीको किनारमा देखेँ। केही आमाबुबा आफ्ना सन्तान खोजिरहेका थिए। कोही बालुवा चलाइरहेका थिए, कोही पानीतिर हेरिरहेका थिए। नदी बगिरहेको थियो, समय बितिरहेको थियो, तर उनीहरूको प्रतीक्षा रोकिएको थिएन। त्यो पीडामा मलम लगाउने पर्याप्त शब्द मसँग थिएनन्। केवल टाढाबाट हेर्न सकिन्थ्यो। अभिभावकले आफ्नै सन्तानलाई नदीको किनारमा खोज्नुपर्ने अवस्था देख्दा मनमा एउटा प्रश्न उठ्यो आफ्नो सन्तान गुमाउनुजत्तिको ठूलो पीडा अभिभावकका लागि अरू के हुन सक्छ?
Holding Centre देखि समुदायसम्म पुग्दै जाँदा मानिसहरूसँगको कुराकानी पनि विस्तारै फरक हुँदै गयो। सुरुमा कुरा खाना, औषधि, बस्ने ठाउँ र अन्य आवश्यकताबाट सुरु हुन्थ्यो। तर बिस्तारै उनीहरूको मनभित्रको पीडा र डरका कुरा पनि बाहिर आउन थाले। “मलाई घरको धेरै याद आउँछ”, “बच्चा राति सुत्दैन”, “अब हाम्रो के हुन्छ?”, “उहाँ कहिले फर्किनुहुन्छ, थाहा छैन” यस्ता वाक्यहरू राहतको विवरणमा लेखिँदैनथे। तर वास्तवमा ती नै उनीहरूले भोगिरहेको अवस्थाका सबैभन्दा सजिब कथा थिए।
बालबालिका र किशोरकिशोरीहरूसँग कुरा गर्दा विपद्को असर झन् गहिरो देखिन्थ्यो। कसैलाई बाढीको पानी र गर्जन सम्झँदा डर लाग्थ्यो, कसैलाई रात परेपछि निदाउन गाह्रो हुन्थ्यो। कोही आफ्नो घर सम्झन्थे, कोही आमाबुबा वा परिवारका सदस्य। केही आफूले भोगेको कुरा भन्न खोज्दा बीचमै रोकिन्थे। कतिपयसँग बोल्ने शब्द हुँदैनथे, आँखामा आँसु मात्र हुन्थ्यो। विशेष गरी ती बालबालिका र किशोरकिशोरीहरूको अवस्था संवेदनशील थियो, जो बाढीपछि आफ्ना अभिभावक वा परिवारका सदस्यबाट छुट्टिएका थिए। सुरक्षित ठाउँमा पुगे पनि उनीहरूको मन भने घर र परिवारमै थियो। “आमा कहाँ हुनुहुन्छ?”, “बुबा कहिले आउनुहुन्छ?” जस्ता प्रश्न उनीहरूको मनमा घुमिरहेका हुन्थे। उनीहरू सुरक्षित ठाउँमा थिए, तर आफूलाई सुरक्षित महसुस गर्ने आधार भने हराएको थियो। विपद्ले उनीहरूको घर र सामान मात्र बगाएको थिएन; परिवारसँग जोडिएको भरोसा र सुरक्षाको अनुभूति पनि हल्लाइदिएको थियो।त्यसैले विपद्पछि पुनर्स्थापना भनेको घर र सडक बनाउनु मात्र होइन। घर र पुल बनाउन सकिन्छ। तर बालबालिकाले गुमाएको सुरक्षा र विश्वास फर्काउन समय लाग्छ। त्यसका लागि निरन्तर हेरचाह, शिक्षा, संरक्षण र मनोसामाजिक सहयोग आवश्यक हुन्छ।
विपद्को समयमा हामी संख्या गन्छौँ कति परिवार प्रभावित भए, कति घरमा क्षति भयो, कति मानिस विस्थापित भए। यी तथ्यांक आवश्यक छन्। तर प्रत्येक संख्याको पछाडि एउटा परिवार हुन्छ। एउटा हराएको मानिसको पछाडि प्रतीक्षामा बसेको परिवार हुन्छ। एउटा घर भत्किँदा त्यससँगै सम्झना, सुरक्षा र वर्षौंको जीवन पनि भत्किएको हुन्छ।
कसैका लागि विपद् घरको भग्नावशेषमा थियो। कसैका लागि परिवारको खाली भएको ठाउँमा। कसैका लागि राति दोहोरिने सम्झनामा। कसैका लागि दिदी–बहिनी, दाजु–भाइ, श्रीमान् वा श्रीमतीको प्रतीक्षामा बितिरहेका दिनमा। र कसैका लागि अझै नआएको एउटा फोन वा खबरमा। प्रतीक्षाको पनि एउटा थकान हुन्छ। तर प्रियजनको खबरको प्रतीक्षामा बसेका परिवारका लागि त्यो थकानको अन्त्य कहिले हुन्छ, कसैलाई थाहा छैन।
भोटेकोशीको पानी घट्यो। तर केही मानिसको मनभित्रको भेल अझै बाँकी छ। नुवाकोटबाट फर्किँदा मैले केवल ३५ दिनको काम पूरा गरेर फर्किएको महसुस गरिनँ। केही अनुहार, केही आवाज, केही मौनता र केही प्रश्न मनमा बोकेर फर्किएँ। शरीर यहाँ छ, तर मनको एउटा हिस्सा अझै त्यहीँ कतै छ, Holding Centre मा भेटिएका किशोरीहरूसँग, परिवार खोजिरहेका मानिसहरूसँग, हराइरहेका आफन्तका तस्बिरहरूसँग र त्रिशूली किनारमा आफ्ना सन्तान खोजिरहेका आमाबुबासँग।
नदी बगिरहेको थियो। उनीहरू खोजिरहेका थिए। म हेरिरहेको थिएँ। त्यो दिन मसँग कुनै उत्तर थिएन। आज पनि कहिलेकाहीँ त्यही प्रश्न आउँछ, आफ्ना सन्तान खोजिरहेका ती आमाबुबाको प्रतीक्षाको अन्त्य कहाँ भयो?मसँग त्यसको उत्तर छैन। तर ३५ दिन नुवाकोटमा बिताएपछि एउटा कुरा भने स्पष्ट भयो, राहत दिएर फर्किन सकिन्छ, काम पूरा गरेर फर्किन सकिन्छ; तर कसैको पीडा देखेपछि मनबाट पूर्ण रूपमा फर्किन सकिँदैन।
त्यसैबीच, मैले विपद्को अर्को पाटो पनि देखेँ, यसले मानिसलाई तोड्छ, तर त्यही मानिसभित्र फेरि उभिने साहस पनि छोडेर जान्छ। घर गुमाएका मानिसहरू फेरि घर बनाउने कुरा गरिरहेका थिए। जीविका गुमाएकाहरू काममा फर्किने बाटो खोजिरहेका थिए। बालबालिकाहरू विद्यालय फर्किने दिन पर्खिरहेका थिए। आफ्नै दुःखका बीच पनि मानिसहरू एकअर्काको हात समातिरहेका थिए। सायद पुनर्स्थापनाको सुरुवात यहीँबाट हुन्छ । सबै कुरा पहिलेको जस्तै हुन्छ भन्ने अपेक्षाबाट होइन, भत्किएको ठाउँबाट पनि जीवनलाई फेरि अघि बढाउन सकिन्छ भन्ने विश्वासबाट।
नुवाकोटले मलाई यही विश्वास दिएर फर्कायो। केही घाउ निको हुन समय लाग्छ, केही प्रतीक्षाको उत्तर कहिल्यै आउँदैन र केही सम्झना जीवनभर मनमा रहन्छन्। तर त्यसबीच पनि मानिसहरू बाँच्ने कारण खोजिरहेका छन्, आफ्ना परिवार सम्हालिरहेका छन् र भोलिको दिनतर्फ हेर्न सिकिरहेका छन्। मैले त्यहाँ देखेको सबैभन्दा ठूलो आशा यही थियो। दुःखले जीवन रोक्न सक्छ, तर मानिसको अघि बढ्ने चाहना सधैं रोक्न सक्दैन।
नुवाकोटबाट म पनि त्यस्तै केही लिएर फर्किएँ, केही आँसु, केही प्रतीक्षा र मान्छेप्रतिको अझ गहिरो संवेदना।
(लेखक : अधिवक्ता मीना पराजुली मानवीय सहायता तथा विपद् प्रतिकार्यका क्षेत्रमा लामो समयदेखि कार्यरत हुनुहुन्छ।)











प्रतिक्रिया