५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

आहा ! हाम्रो ‘शंकरपुर ताल’, पछिल्लो समय पर्यटकको राम्रो गन्तव्य बन्दै



माधव बेल्वासे, कपिलवस्तु ।
कपिलवस्तुकै सुदुरपश्चिम क्षेत्रमा रहेको शंकरपुर ताल व्यवस्थित बन्ने भएको छ । ताललाई पर्यटकको गन्तव्य बनाउन विजयनगर गाउँपालिका र स्थानीयहरुले तयारी सुरु गरेका छन । वडा न ४ मा रहेको सो ताल घना जंगलको बीच भागमा पर्दछ ।
गाउँपालिका कै पर्यटकीय स्थलमा रुपमा परिचित बन्ने राम्रो सम्भावना बोकेको सो ताल जिल्लाको पश्चिमी क्षेत्रकै सवै भन्दा ठुलो तालको रुपमा परिचित छ । चन्द्रौटा बजारबाट करिव ५ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा रहेको सो ताल यस क्षेत्रकै चिनारीको रुपमा रहेको बुढापाका वताउछन ।
शंकरपुर तालमा शिवगढी मन्दिरमा बस्ने भगवान शंकरले नुहाउने र शिवगढीमा बस्न जाने धार्मिक विश्वास रहेकोले सोही अनुरुप यस तालको नाम नै शंकरपुर ताल रहन गएको स्थानीय ७२ बर्षिय काशिराम पुनले बताए ।
शकरपुर ताल करिव ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ । ताल क्षेत्र घना जंगल संग जोडिएको हुँदा प्रकृतिको विचरण गर्नेहरुका लागि ताल क्षेत्र राम्रो गन्तव्य बनेको छ । चराचुरुंगीको चिरबिर आवाज संगै आखाँले नभ्याउने गरी भरिएको जलाशयमा आहाराको खोजीमा आउने विभिन्न प्रजातीका चराहरुको हुलले पनि ताललाई मनमोहक बनाएको छ ।
गाउँपालिकाले ताललाई व्यवस्थित बनाउन गुरुयोजना तयार पारेको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले वताए । योजना अनुसार ताल क्षेत्रमा पर्यटकलाई आर्कषण गर्न तालको चारै तर्फ रिग रोड, विभिन्न खालका मन्दिर, पिकनिक स्थल, बाल उद्यान निर्माण लगायतका कामहरु भइरहेको उनले बताए ।
तालमा डुंगाको व्यवस्था गरी तालमा सयर गर्ने व्यवस्था मिलाउने, पार्क निमार्ण गरि जिल्ला भन्दा वाहिरका र विदेशवाट पनि भम्रणको लागी शंकरपुरताल आउने वातारण मिलाउने उद्देश्यले गुरुयोजना निमार्ण गरिएको अध्यक्ष थापाले वताए ।
गत वर्ष मात्र ४० लाख वजेट विनियोजन गरेर ताल परिसरमा वाउण्ड्रि, सडक, नहर व्यवस्थापन, ताल पुग्ने सडक कालोपत्रे लगायत अन्य काम सम्पन्न भइसकेको वडा अध्यक्ष तिलक कडेलले वताए ।
यस ताललाई पर्यटकिय स्थल वनाउने उद्देश्यले काम भइरहेको छ अव तालमा वोरिग निमार्ण,ताल व्यवस्थापन लगाएतका काम हुन्छ । कडेलले भने– “गाउँपालिका कै पहिचानका रुपमा रहेको ताललाई हामी व्यवस्थित र संरक्षण गर्दै छौं, ताल क्षेत्रमा पर्यटक भित्राउन सकियो भने ताल नजिक रहेका बस्ती त्रिपालनगर, ज्योतिनगर र भू.पू. गाउँका नागरिकको जिवीको पार्जन सहज हुनसक्छ” ।
ताल क्षेत्रको संरक्षण र यसको व्यवस्थापन का लागि यस आर्थिक बर्षको बजेटमा १५ लाख विनियोजन भएको कडेलले बताए । ताल क्षेत्रमा हाल तालको किनारा मिलाउने, पानीको संभाव्यता अध्ययन गर्ने नजिकैको सुरही खोलाबाट पानी लिप्ट गर्ने जस्ता योजना रहेको उनले जानकारी दिए ।
पूर्वपश्चिम राजमार्गबाट करिब ५ कि.मी.पश्चिममा रहेको ताल क्षेत्र वरिपरि मगर जनजातीको बाहुल्यता रहेको बस्ती छ । ताललाई व्यवस्थित बनाउने र सोही गाउँमा होम स्टे संचालन गर्न सकिने भने ताल राम्रो आय स्रोत बन्ने स्थानीय अग्नी सापकोटाले बताए । “ताल संरक्षण संगै यसको प्रचार प्रचार गर्न सकियो भने पर्यटकहरुको लागी राम्रो गन्तव्य शंकरपुर ताल बन्न सक्छ” उनले भने ।

प्रकाशित मिति : १७ कार्तिक २०७५ शनिबार ००:००  १ : ११ बजे