२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

रुपन्देहीमा पनि धुमधामका साथ छठ पर्व मनाइँदै



रुपन्देही ।
छठी माताको नाममा ब्रत र सूर्यको आराधना गरी तराईमा मनाइने छठ पर्व रुपन्देहीको भैरहवा, बुटवल र अन्य ग्रामीण क्षेत्र बेथरी, बनगाई, धकधई, मर्चवार, लुम्बिनी लगायतका क्षेत्रमा धुमधामका साथ सुरु भएको छ ।
दसैं तिहारजस्तै तराईबासीका लागि छठ पर्वले विशेष महत्व राखेको छ । आइतबारदेखि सुरु भएको छठ पर्वको दोश्रो दिन सोमबार देखि ब्रतालुले निर्जला ब्रत सुरु गरेका छन ।
तेस्रो दिन मंगलबार सूर्य भगवान र छठी माताको पूजा आराधना गरिन्छ । साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने गरिन्छ । मंगलबार साँझपख जलासय, नदीमा नुहाएर अस्ताउन लागेको सूर्यको विशेष पूजा गर्ने र भोली बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गर्ने प्रचलन रहेको छ ।
छठ माता र सूर्यको पुजा गर्नाले सुख, शान्ति, समृद्धि, दीर्घायु साथै छालाको रोग हट्ने धार्मिक मान्यता रहेको छ । छठमा गहुँको पिठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, पञ्चमेर, विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, कागती, अदुवा, उखु, केरा लगायतका सामग्रीहरु प्रसादको रुपमा अर्पण गर्ने चलन रहेको छ । छठ पर्वको समयमा बजारमा हरियो केराको व्यापार अत्याधिक बढेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७५ सोमबार ००:००  ३ : ०७ बजे