२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु



रुपन्देही ।
नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम बुधबार देखि शुरु भएको छ । लुम्बिनी बिकास कोष, अखिल नेपाल भिक्षु महासङ्घ र थाई बौद्ध विहारको संयुक्त आयोजनामा मायादेवी मन्दिर परिसरमा शुरु भएको सो तीनदिने कार्यक्रममा १८ देशका भिक्षु–भिक्षुणी, उपासक–उपासिकाहरु सहभागी छन् ।
नेपालका लागि थाइल्याण्डका राजदूत भगवत तान्सकुल, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय, संविधानसभा सदस्य दुर्गा उपाध्याय, प्रदेश सांसद फकरुद्दिन खान, अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्रीले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि थाइल्याण्डका राजदूत तान्सकुलले बुद्धको दर्शन विश्वमा फैलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । भगवान् गौतम बुद्धको जन्मभूमिमा टेक्न पाउनु थाई नागरिकका लागि खुशीको कुरा भएको बताउँदै उहाँले पवित्र भुमिमा यस्ता कार्यक्रम हुनु बौद्धमार्गीका लागि महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले भिक्षुहरुको प्रयास र बौद्ध परियत्ती शिक्षाका कारण नेपालमा पनि बौद्ध धर्म फैलिँदै गएको बताउनुभयो । बुद्धको शिक्षा र दर्शनको विस्तारका लागि उपासक–उपासिकाहरुले साथ दिनुपर्ने भन्दै उहाँले बौद्ध शासनको विस्तार र विकासमा लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
प्रदेश साँसद फकरुद्धिन खानले त्रिपिटकवाचन कार्यक्रमले लुम्बिनीको स्थान अझै माथि पुगेको बताउनुभयो । अखिल नेपाल भिक्षु महासङ्घका अभ्यक्ष मैत्री भिक्षुले त्रिपिटक वाचन कार्यक्रमले विश्वका बौद्धमार्गीलाई लुम्बिनी आउन प्रेरित गर्ने बताउनुभयो । कार्यक्रममा भिक्षु बोधिसेनले पञ्चशील प्रदान गर्नुभएको थियो । कार्यक्रमअघि लुम्बिनीको शान्ति दीपदेखि कार्यक्रमस्थल मायादेवी परिसरसम्म ¥याली निकालिएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७५ बुधबार ००:००  ११ : २४ बजे