२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

राप्ती पुल जीर्ण बन्दै, बढ्यो दुर्घटनाको जोखिम



दाङ ।

दाङ देउखुरीको राप्ती नदीमा बनेको पुल जीर्ण बन्दै गएको छ । पुलको अधिकांश ठाउँको कालोपत्रे उप्किएको छ, भने पुल निर्माणका लागि प्रयोग गरिएका फलामका सामग्रीमा खिया लागेको छ । पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय रविलाल आचार्यले बताउनुभयो ।

२०५६ सालमा निर्माण भएको उक्त पुल मर्मत नहुँदा जीर्ण बन्दै गएको आचार्यले बताउनुभयो । नदी किनारमा खुलेका क्रसर उद्योगका सवारी साधन ओहोरदोहोर गर्नुका साथै पुल नजिक हुने अवैध उत्खननले पुल जीर्ण अवस्थामा पुगेको उहाँको भनाइ छ ।

पुल निर्माण भएको २० वर्ष पुग्नै लाग्दासमेत मर्मत गर्न कुनै निकायबाट पहल नभएको समेत उहाँको गुनासो थियो । लमही–कोइलाबास सडकअन्तर्गत रहेको उक्त पुलको चौडाइ चार दशमलव २० मिटर छ । पुलमा १८ मेट्रिक टनभन्दा बढी भारबहन भएको सवारी साधन चलाउन नपाइने प्राविधिकको भनाइ छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७५ बुधबार ००:००  ११ : २८ बजे