१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रुपन्देहीमा तस्कर र प्रहरीबीच दोहोरो फाइरिङ, एक जनाको मृत्यु



रुपन्देही ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ । गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाहीमा स्वरुप गोली प्रहार गर्दा तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हृदय थापाले जानकारी दिए ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करिब ३५ वर्षका तस्करले प्रहरीमाथि गोली चलाएपछि तत्कालै उनीमाथै जवाफी कारबाही गरिएको थापाले जनाए । प्रहरीको जवाफी कारबाहीमा घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र उनको शव हाल पोष्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको पनि एसपी थापाले जानकारी दिए ।

मृतक भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलबाट प्रहरीले अटोमेटिक लोडेड पेस्तोल तथा उनले प्रयोग गरेको युपी ५३ एच २०२८ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको छ । प्रहरी उपरिक्षक थापाका अनुसार तस्करले चलाएको गोली लागि एक प्रहरी जवान घाइते भएका छन् । उनको बायाँ पाखुरामा गोली लागेको छ ।

प्रकाशित मिति : २९ पुस २०७५ आइतबार ००:००  ३ : ४२ बजे