१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मुख्यमन्त्रीको गृहजिल्लामा ७ पार्क बन्दै, कपिलवस्तु भने समावेश भएन !



रुपन्देही ।
वातावरण संरक्षण र शैक्षिक अध्ययनलाई जोडेर प्रदेश सरकारले १३ वटा पार्क निर्माणको तयारी थालेको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले कोलाहल र व्यस्त जीवनबाट फुर्सदको समय सही ठाउँमा व्यवस्थापन गराउन र पर्यटक आकर्षित गरी आर्थिक क्रियाकलाप बढाउन पार्क निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो । क्षेत्र र भौगोलिक अवस्था हेरेर फरक–फरक प्रकृतिका पार्क निर्माण गर्न लागिएको मन्त्री गिरीले बताउनुभयो ।
चालु आर्थिक बर्षमा पर्यटन क्षेत्रका लागि मन्त्रालयले १७ करोड ३० लाख रुपैयाँभन्दा बढी विनियोजन गरेको छ । त्यसमा जुलोजिकल पार्कदेखि बोटानिकल गार्डेनसम्म बनाउने योजना छ । रूपन्देही, दाङ र बाँकेमा बोटानिकल गार्डेन र पाल्पामा इको पार्क बन्नेछन ।
त्यसका लागि १० लाखदेखि २ करोड रुपैयाँसम्म बजेट विनियोजन गरिएको छ । २ करोड लागतका ८ पार्क निर्माण हुनेछन । मुख्यमन्त्रीको गृहजिल्ला दाङमा ७ पार्क बन्दैछन । प्रतिपार्क २ करोड लागतका ५ पार्क छन । रूपन्देहीमा २ र बाँकेमा एक पार्कका लागि पनि २ करोड रकम विनियोजन गरिएको छ ।
पाल्पा र रूपन्देहीको सिमानामा रामापिथेकस जुलोजिकल पार्क निर्माण गर्दैछ । उक्त क्षेत्रको पूर्वाधार विकासका लागि भन्दै थप ३० लाख रकम विनियोजन गरिएको छ । प्रदेश सरकारले रुपन्देही र दाङ जिल्लाम पार्क बनाउने योजना बनाईरहँदा कपिलवस्तुलाई भने समावेश गरिएको छैन । बुद्धस्थलले धनि जिल्लामा पार्क बनाउन नखोज्नु प्रदेश सरकारको हेपाह प्रबृत्ती भएको नागरिकले गुनासो गरेका छन ।
यस विषयमा प्रदेश सांसद विष्णु पन्थीले आफुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभयो । प्रदेश सरकारले बनाउने हो कि केन्द्रबाट आफुलाई कुनै जानकारी नभएको सांसद पन्थीले बताउनुभयो ।– कान्तिपुरबाट साभार

प्रकाशित मिति : ४ माघ २०७५ शुक्रबार ००:००  ३ : ०३ बजे