४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

स्थलगत रिर्पोटः अमलटारी होमस्टेको आकर्षण र उपमेयरको चर्चा



हरि अधिकारी, (अमलटारी) ।
कपिलवस्तु उद्योग वाणिज्य संघको टोली गत चैत्र १४ गते अमलटारी पुग्यो । त्यही अमलटारी होमस्टेमा (घरमा बास) एक रात वित्यो । त्यहाँ पुग्नुको उद्देश्य संघको वार्षिक कार्ययोजना तर्जुमा गोष्ठी र एकवर्षको समिक्षा पनि थियो । सारै व्यस्त हुने व्यवसायी सदस्यलाई कार्यक्रममा पूर्ण रुपमा समावेश गराउन मुस्किल थियो तर पनि संघका अध्यक्ष सहितका पदाधिकारी, कार्यसमितिका सदस्य तथा सल्लाहकार सम्मका व्यक्तित्व एकैठाउँ जनतन कार्यक्रममा सहभागी भए ।
संघमा नयाँ नेतृत्व चुनिसकेपछि पहिलो वर्ष के कस्तो रह्यो र कार्ययोजना अनुसारको काम भयो भएन भनेर समिक्षा गर्नुथियो कार्यक्रममा । अमलटारीमा संघले गतवर्षको समिक्षा गर्दै भावी कार्यदिशा समेत तय गरयो । वितेको एकवर्ष संघको गतिविधी उत्साहजनक र उपलब्धीमुलक भएको तथा केही कमी कमजोरी रहेको पनि समिक्षा गर्यो । संघले केही महत्वपूर्ण योजनाको सूची तयार गर्दै भावी दिनमा संस्थागत विकास, व्यवसायी सदस्यको हकहित र जिम्मेवारी वाडफाँड र नयाँ कार्यक्रम लगाएतका विषयमा दुई दिन सम्म छलफल गरेर संघलाई अघि बढाउने विषयमा कार्यदिशा तय गर्यो ।
होमस्टेको नौलो अनुभव
संघका सदस्य अधिकांशलाई नौलो थियो होमस्टेको बसाई कस्तो हुन्छ भन्ने ? नेपालमा होमस्टेहरु धेरै भएपनि नवलपुर कावासोती नगरपालिका १५ बाघखोर अवस्थित अमलटारी होमस्टेको अनुभव प्राय सवैका लागि नौलो थियो । कपिलवस्तुबाट दुरीका हिसावले साढे २ घण्टा(निजी गाडीमा) मा पुगिने अमलटारी मध्यवर्ती होमस्टे अरुभन्दा नजिक पनि पर्दछ । बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपुरको डण्डाबाट करीब ७ किलोमिटर दक्षिणमा छ । त्यही होमस्टे २०७० सालमा स्थापना भएको हो । अमलटारी होमस्टेमा २६ घरमा घरबासको व्यवस्था मिलाइएको छ । अमलटारी गाउँमा होमस्टे संचालन गरि एकनम्बर देखि २६ नम्बरसम्म होमस्टे घरहरु रहेका छन् । होमस्टेमा पुगेका कपिलवस्तु उद्योग वाणिज्य संघका पाहुनालाई १० नम्बर होमस्टेका दिदीवहिनीले फुलमालाले स्वागत गरे । नवलपरासी जिल्लाको कावासोती नगरपालिकामा रहेको अमलटारी होमस्टे स्थापनाको ३ वर्ष नपुग्दै नेपालकै उत्कृष्ट होमस्टे बन्न सफल भएर पुरस्कार समेत पाएको थियो । अमलटारी होमस्टे चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा छ । निकुञ्जभित्र पैदल सफारी, हात्ती तथा जीप सफारी, नारायणी नदीमा बोटिङ, माछा पोखरीमा फिशिङ, वयलगाडामा सयर, भिलेज वाक, बर्ड वाचिङ्ग, एवम् जङ्गली जनावर होमस्टे क्षेत्रबाटै सजिलै देख्न पाइने मनोरम ठाउँ हो । साथै स्थानीय कला एवम् संस्कृति हेर्न र रमाउन पनि पाइन्छ । यसैले गर्दा पनि अमलटारी होमस्टेमा पर्यटक बढी आउने गरेकाले यसलाई उत्कृष्ट मानिएको समितिका अध्यक्ष प्रेमशङ्कर मर्दनीयले बताए । कावासोती नगरपालिकाको वडा नम्बर १५ स्थित अमलटारी होमस्टेमा पुग्ने पर्यटकहरु कला, संस्कृति, स्थानीय रहनसहन र खानाको परिकारको स्वादमा रमाउछन् । दैनिक रुपमा घरायसी कार्य सकेर यहाँका महिलाहरुको सक्रियतामा नै होमस्टे सञ्चालन भएको हो । साविक अग्र्याैली गाविसका थारू, बोटे र मुसहर समुदायले मध्यवर्ती सामुदायिक वनको संरक्षण गरेर सोही वनलाई पर्यटन क्षेत्रको रुपमा विकास गरी होमस्टे शुरू गरेका हुन् ।


चैत्र १४ गते विहिबार कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगाका ३५ जना, मुस्ताङ्ग, सिन्धुपाल्चोक गरी एकसय बढि आन्तरिक पर्यटकहरु होमस्टेमा पुगे । होमस्टेमा मेरो लागि नयाँ हो, इन्द्र पोख्रेलले भने– धेरै राम्रो र सस्तो पनि लाग्यो । थारु समुदायको स्थानीय परिकार तथा होमस्टेको अनुभव बटुल्न गएका सवै पर्यटकहरु साँझ (साँस्कृतिक कार्यक्रम) कल्चर प्रोग्राम हेर्न सामुदायिक भवनमा जम्मा भएका थिए । आफ्नो भाषा, भेषभुषा, रहनसहन, संस्कृति पहिचान, जीवन शैलीका बारेमा कल्चर प्रोग्राम प्रस्तुत गरे । त्यही रात्रीकालिन कल्चर प्रोग्रामको संचालक थिए, प्रेमशंकर मर्दनीया (कावासोती नगरपालिकाका उपमेयर) । गाउँमा उपमेयरको १५ नम्बर होमस्टे संचालनमा रहेको छ । अमलटारी मध्यवर्ती होमस्टे संचालक समितिका अध्यक्ष समेत रहेका प्रेम शंकर मर्दनियाले कल्चर प्रोग्राममा सहभागी सवै अतिथीहरुलाई न्यायो स्वागत गरे अनि कार्यक्रम शुभारम्भ भयो । होमस्टेको मुल्य मान्यता र साँस्कृतिक कार्यक्रमको बारेमा उनले अतिथीलाई संक्षिप्त जानकारी गराए । अनि होमस्टे संचालकहरु नै आफनै भेषभुषा, सँस्कृति र रहनसहन झल्किने गरि विभिन्न नृत्य प्रस्तुत गर्न मर्दनियाले उद्घोष गरे । उनीहरुले प्रस्तुत गरेका नृत्यबारे विचविचमा पाहुनाहरुलाई स्पष्ट पारेका थिए । उनको सरल प्रस्तुती, ज्ञान, सिप र क्षमताबारे सवै हर्षित भई प्रंशसा समेत गरेका थिए । यी होमस्टेले नेपाली सँस्कृति र परम्पराको संरक्षण गर्दै आन्तरिक पर्यटन प्रवर्धन मार्फत अर्थतन्त्रमा पनि टेवा पुग्ने संघका अध्यक्ष उमानाथ पौडेलले बताए । नेपालभरी संचालन भएका होमस्टेमा २०७४ सालको उत्कृष्ट होमस्टेको पुरस्कार पनि अमलटारीले जितेको थियो । हालसम्म त्यस होमस्टेमा ६८ हजारले होमस्टेमा बास विताएको मर्दनीयाले जानकारी समेत दिए ।
खाजा (चिचर) थपीथपी


थारु समुदायको थारु परिकार होमस्टेमा गएका लागि रुचीपूर्ण हुन्छ । राती अवेर सम्म साँस्कृतिक कार्यक्रममा रमाएका पाहुनाहरु विहान हुने वित्तिकैको वातावरणमा पनि रमाएका थिए । वरिपरीको हरियाली बातावरण, चैते धान, गाउँभरी नै होमस्टेहरु, माछा पोखरी, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रको सामुदायिक बन, खोला आदी रमाइलो दृश्य । होमस्टेमा बसेका सवैजना फ्रेश भएपछि खाजा खान १० नम्बर होमस्टेमा जम्मा भए । विहानको खाजा थियो चिचर अर्थात अनदीको चामलाई उसिनेर बनाइएको नयाँ स्वादको परिकार । धेरैका लागि चिचर नयाँ परिकार थियो । सवैजना लाइनमा बसेर खाजा लिए । त्यो खाजा खादा सवैलाई मन पर्यो । खाजा जस्तो चिज पनि थपिथपि खाए । कसैले त खाजा बनाएको चामलनै खरिद गरेर समेत ल्याए । होमस्टेमा एकरात विताएपछि गाउँका अगुवा साथीहरुलाई देखाउन ल्याउने सोच बनाएको कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाईले बताए ।
निकुञ्जमा जंगल सफारी


होमस्टे संचालकको समन्वयमा विहानपख सफारीका लागि ३ वटा जीप तयार भएर बसेका थिए । खाजा (चिचर) पछि ३ वटा जीपमा जंगल सफारी शूरु भयो । विहान पौने ८ बजे शुरुभएको जंगल सफारी चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको जंगल, नारायणी नदीको छेउछाउ, भियु टावर, बन्यजन्तुको अवलोकन भयो । जंगलयात्राको एक घण्टापछि बल्लतल्ल गैडा देखियो । जंगलमा जिप सफारी गरिरहदा पहिलो पटक गैडादेख्ने व्यक्ति थिए रन बहादुर सेन । अनि जिपमा सवार सवैजना गैडा देखेर खुशी भए । ३ घण्टाको जंगल सफारीमा एकसिंगे गैडा, हात्ती, हरिन, जरायो, जंगली बदेल, मयुर, कालिज, विभिन्न चराचुरंगी देख्दा आनन्द लागेको संघका सदस्य डोलकराम घिमिरेले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७५ सोमबार ००:००  ५ : ११ बजे