२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

खुसियालीको सहर कोलकाता



काठमाण्डौ ।
‘पार्टी कसरी गर्ने भन्ने दिल्लीवासीलाई थाहा छ, तर सेलेबे्रट कसरी गर्ने भन्ने कोलकत्तावासी जान्दछन्,’ हालै भारतको लोकसभामा निर्वाचित भारतीय क्रिकेटर गौतम गम्भीरको कोलकाता सहरबारेको भनाइ हो । ‘खुसियालीको सहर’ उपनाम दिएको भारतको ऐतिहासिक सहर कोलकाता अन्य सहरभन्दा विशेष छ । ऐतिहासिक पृष्ठभूमि, विकास, संस्कृति, सपिङ केन्द्र आदिका कारणले कोलकाताको फरक पहिचान छ । सोही सहरलाई हालै बुद्ध एयरले जोडेपछि त्यहाँ घुम्न तथा सपिङका लागि पुग्ने नेपालीको संख्या पनि बढ्न थालेको छ ।
मन्दिरदेखि बजारसम्म
धार्मिक भ्रमण, सपिङ र अन्य ऐतिहासिक स्थल घुमघामका लागि कोलकाता बिदाको गन्तव्यमा पर्न सक्छ । कोलकत्ताको चर्चित काली मन्दिर धेरै नेपाली नागरिकको गन्तव्य बन्दै आएको छ । जहाँको दुर्गा पूजा भारतकै ठूलो पूजामध्ये एक हो ।

पुस्तकप्रेमीको गन्तव्य
पुस्तकप्रेमीका लागि कोलकाता अर्को प्रिय ठाउँ हुन सक्छ । रवीन्द्रनाथ टैगोरजस्ता प्रसिद्ध कविको जन्मथलो कोलकातामा पुराना किताबको विश्वकै ठूलो बजार छ । नोबेल पुरस्कार विजेताहरू मदर टेरेसा, रवीन्द्रनाथ टैगोर, अर्मत्य सेन, सिभी रमन र सर रोनाल्ड रोसको सहर हो, कोलकाता ।

कोलकत्ताको कलेज स्ट्रिट यस्तो ठाउँ हो, जहाँ अन्यत्र नपाइने पुस्तकहरू भेट्न सकिन्छ । कोलकातामा हुने बुक फेयरलाई विश्वकै तेस्रो ठूलो बुक फेयर मानिन्छ । कलेज स्ट्रिटको पुराना पुस्तकहरूको बजार विश्वकै ठूलो बजार मानिन्छ ।

इन्जिनियरिङको चमत्कारका रूपमा लिइने भारतको चर्चित पुल हावंडा पुल पनि कोलकत्तामा पर्छ । भिक्टोरिया दरबार यहाँको अर्को पर्यटकीय गन्तव्य हो, जहाँ भारतमा ब्रिटिस शासनको समयबारे धेरै तथ्यहरू बुझ्न सकिन्छ । त्यस्तै, भारतकै अग्लो टावर ‘द ४२’ कोलकातामै पर्छ । जुन दुई सय ६२ मिटर अग्लो छ । मेट्रो टेनमा पनि कोलकाता अगाडि छ ।

भारतको पुरानो राजधानी कोलकाता ब्रिटिसको उपनिवेशसम्म केन्द्र नै थियो । त्यतिवेला ब्रिटिसले बनाएका संरचनाहरूको भ्रमण यहाँको अर्को रमाइलो पाटो हुन सक्छ ।

कोलकातामा अरू केही अनौठा विशेषता पनि छन् । यहाँ मान्छेले तान्ने रिक्सा अझै प्रचलनमा छ । भारतकै पुरानो बन्दरगाहा, विश्वकै पुरानो पोलो क्लब, फुटबल र क्रिकेटको हब यहाँका अन्य विशेषता हुन् । भारतकै पुरानो मेट्रो पनि यहीँ छ । एम्बेसडर ब्रान्डका पुराना ट्याक्सी र ब्रिटिस शासनकालमा बनाएका क्लक टावरहरू सहरका थप विशेषता हुन् ।

नोबेल पुरस्कार विजेता मदर टेरेसा, रवीन्द्रनाथ टैगोर, अर्मत्य सेन, सिभी रमन र सर रोनाल्ड रोसको सहर कोलकाता पुस्तकका लागि मात्रै होइन, यात्रा सेलेब्रिटी गर्नेहरूका लागि पनि आकर्षणको केन्द्र रहँदै आएको छ ।

सपिङको हब
कोलकत्ता सपिङको हब हो । जहाँ कपडा तथा इलेक्ट्रिोनिक्स सामानहरू नेपालमा भन्दै निकै सस्तोमा पाइन्छन् । विवाहका कपडाहरू खरिदका लागि समेत नेपाली पुग्ने गरेको स्थानीय व्यवसायी बताउँछन् । स्थानीय उत्पादनदेखि चिनियाँ सामानको ठूलो बजार कोलकातामा छ ।

नेपालमा साँझ परेपछि बजार बन्द हुन थाल्छन् । तर, कोलकत्तामा साँझ परेपछि बजारमा गुलजार हुन थाल्छन् । कोलकत्ता बिहान २-३ बजेसम्म खुल्छ । सडकको फोहोर र अनुशासनहीन सडकलाई बिर्सने हो भने कोलकातामा मन रमाउने थुप्रै कुरा छन् ।

कोलकातास्थित इस्ट विन्ड होलिडेजका प्रमुख कार्यकारी अधिकृत रूपकुमार मलिक कोलकातामा नेपालीको आवागमन बढ्दै गएको बताउँछन् । बुद्ध एयरको कोलकाता उडानले दुई देशबीचको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उनको भनाइ छ ।

कोलकातासँगै बुद्ध होलिडेजले नजिकका सहरहरू भुवनेश्वर र जगन्नाथपुरीसम्म पनि लैजाने गरेको छ । जगन्नाथपुरीलाई भारतका चार धाममध्ये एक मानिन्छ, बद्रीनाथ, द्वारीका र रामेश्वरम र पुरी । जसकारण हिन्दू धर्मावलम्बीको केन्द्र बनेको छ । ‘बे अफ बंगाल’को किनारमा रहेको यो सहर पूर्वी भारतको पुरानो सहर हो ।
३४ हजारदेखिको प्याकेज
कोलकत्तामा बुद्ध एयरले हप्ताको तीन उडान भर्दै आएको छ, सोमबार बुधबार र शुक्रबार । यसका लागि ३४ हजार रुपैयाँदेखिको प्याकेज रहेको बुद्ध होलिडेजकी प्रमुख कार्यकारी अधिकृत आस्था बस्नेतले बताइन् । जसमा दुईतर्फ हवाई टिकट, होटेल र ब्रेकफास्टको सुविधा हुन्छ । न्यूनतम तीनतारे होटेलको सुविधा उपलब्ध हुने उनले बताइन् ।

त्यस्तै, विष्णु भगवान्को चार धाममध्ये एक धामका रूपमा मानिने जगन्नाथपुरीसम्मको प्याकेज पनि बुद्धले दिने गरेको छ । जसमा भुवनेश्वर मन्दिर, कोनार्कको सूर्य मन्दिरलगायत ठाउँहरूको भ्रमणसमेत समावेश गरिएको छ । बिजनेस ट्रिपका लागि कोलकत्ता जानेहरूलाई पनि बुद्धले प्याकेज बनाएको छ ।

नेपालीलाई कोलकत्ता घुमाउनुका साथै भारतीय पर्यटकलाई नेपालमा आकर्षित गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ । कोलकत्तावासी धेरै घुम्ने भारतीयका रूपमा चिनिन्छन् । त्यसैले पनि उनीहरूलाई नेपालमा आकर्षित गर्न विभिन्न प्याकेज बनाइएको कम्पनीले जनाएको छ ।
नवराज मैनाली नयापत्रिका दैनिकबाट साभार

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  १० : ४१ बजे