२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

निर्माणधिन ‘फोर लेन’ चन्द्रौटा–कृष्णनगर सडक, ३० महिनामा काम सक्ने लक्ष्य



मायादेवी अनलाइन, वाणगंगा ।

नेपाल–भारत जोड्ने नेपालकै महत्वपूर्ण चन्द्रौटा–कृष्णनगर सडकखण्डलाई फराकिलो बनाउने काम सुरु भएको छ । राष्ट्रिय गौरवको यो आयोजना सक्न ३० महिना लाग्ने छ । चन्द्रौटा–कृष्णनगर सडकखण्डलाई फोर लेन बनाउने काम सुरु भएको हो । हाल यो सडक दुई लेनको हो । चन्द्रौटा देखि कृष्णनगरसम्म यो सडकखण्ड २१ किलोमिटरको छ ।

सडक सुधार विकास आयोजनाले प्रत्यक्ष निगरानी गर्ने यो सडकखण्ड निर्माणका लागि भारतीय एक्जिम बैंकले सहयोग गरेको छ । सडक सुधार विकास आयोजना र एक्जिम बैंक बीच सडक निर्माणका लागि सम्झौता भएको हो । दुई बीचको सम्झौता पछि यो सडकखण्डको ठेक्का कालिका दिनेश चन्द्र जेभिले लिएका छन् । कालिका नेपालको कन्ट्रक्सन हो भने दिनेश जेभि भारतीय कन्ट्रक्सन हो । ३० महिना भित्र काम सक्ने गरी सडकको ठेक्का लिएको कालिका दिनेश चन्द्र जेभिका प्रतिनिधि नविन गुरुङले जानकारी दिनुभयो । सडक निर्माणको क्रममा ५१ प्रतिशत सामग्री भारतबाट ल्याइने उहाँले बताउनुभयो । भारतीय लगानीमा निर्माण हुने सडकखण्डमा भारतको ५१ प्रतिशत सामान आयात गर्नुपर्ने निमय छ ।

ठेक्काको सम्झौता भएको ६ महिना भैसक्दा पनि विभिन्न प्राविधिक कारणले काम रोकिन पुगेको गुरुङले बताउनुभयो । तर, अहिले सडक निर्माणको काम धमाधम भैरहेको छ । ज्वाइन सर्वे, माटो फिलिङ, टप स्वाइलको काम लगभग अन्तिम चरणमा पुगेको छ भने नाली निर्माणको काम सुरु भएको छ । सडक फोर लेनको बन्ने छ भने बीचमा डिभाइडर हुने छ ।

चन्द्रौटा–कृष्णनगर २१ किलोमिटर फोर लेनको अलवा कृष्णनगर बजारमा पनि आयोजनाले काम गर्ने छ । बजार भित्र ८ किलोमिटर नाली सहितको दुई लेनको सडक बनाइने छ । कृष्णनगर बजार भारतीय सिमासंग जोडिएको महत्वपूर्ण बजार हो । यद्यपि अहिले त्यहाँको बजार अस्तव्यस्त जस्तै छ । समयमै काम सकियो भने ३० महिना भित्र कृष्णनगर बजार नेपालकै नमुना बजार बन्ने छ ।

चन्द्रौटा–कृष्णनगर सडकखण्ड नेपाल भारत बीचको व्यापार आदानप्रदान गर्ने देशकै महत्वपूर्ण सडकखण्ड हो । दिल्लीसंग सिधा जोडिने यो सडकखण्ड हुँदै अरवौं रुपैयाँको व्यापार दुई देश बीच आदान प्रदान हुँदै आएको छ । नेपालको बोर्डरमा अवस्थित कृष्णगर भन्सार कार्यालयले बार्षिक अरवौंको राजश्व सरकारलाई बुझाउँदै आएको छ ।

यति मात्र होइन् यो सडकखण्ड भित्रै पर्ने जवाभारी, चन्द्रौटा, विशनपुर, बहादुरगञ्ज लगायतका स्थान उद्योग हवको रुपमा विकास भैरहेका छन् । यहाँ ठूला ठूला उद्योगभन्दा, कलकारखाना स्थापना भैरहेका छन् । साघुँरो सडकले गर्दा उद्योगभन्दा फष्टाउन सकेका छैनन् । प्रदेश सरकारले पनि यस क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

दुई देश बीचको महत्वपूर्ण व्यापारिक मार्गका रुपमा रहेको यो सडकखण्ड निर्माण भएसंगै जिल्लाको पश्चिमी क्षेत्रको मुहान फेरिने विश्वास छ । औद्योगिक हवका रुपमा विकास भैरहेको पश्चिमी क्षेत्रमा लगानीका क्षेत्रहरुमा बृद्धि आउनेका विश्वास लिइएको छ । चन्द्रौटा बजार जिल्लाको मात्र नभई प्रदेशकै महत्वपूर्ण व्यापारिक केन्द्र मानिन्छ । अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम, दाङ लगायतका जिल्लामा चन्द्रौटाले खाद्यान्न, सिमेन्ट लगायतका वस्तु जाने गरेको छ । भारतमा रोजगारीका लागि जानेहरुले पनि चन्द्रौटा–कृष्णनगरको सडकखण्ड प्रयोग गर्ने गरेका छन् । रोल्पा, रुकुम, दाङ, प्युठान, अर्घाखाँचीका नागरिक यसै सडकखण्ड हुँदै भारत जाने गरेका छन् ।

चन्द्रौटा–कृष्णनगर सडकखण्ड फोर लेनको बनेसंगै जिल्लाको पश्चिमी क्षेत्रले विकासले फड्को मार्ने कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहको विश्वास छ । विकासको मुख्य मेरुदण्ड भनेको सडक हो, अझ फोर लेनको सडक भनेको त विकसित ठाउँको झल्को हो शाहले भन्नुभयो, “यो सडकखण्डको काम छिटो सक्न हाम्रो पूर्ण सहयोग रहन्छ ।” सडक निर्माणका क्रममा आउने बाधाव्यवधानलाई पनि नगरपालिकाले पूर्ण रुपले सघाउने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ३२ श्रावण २०७६ शनिबार ००:००  ८ : १४ बजे