५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

गौतम बुद्धको गृह नगर तौलिहवामा कपडा बैंक स्थापना



मायादेवी अनलाइन, तौलिहवा ।
भगवान गौतम बुद्धको गृह नगर तौलिहवामा पशुपति अन्नपूर्ण आश्रम जिल्ला शाखा कपिलवस्तु र नेपाल बाल संगठन कपिलवस्तुको संयुक्त आयोजनामा बालमन्दिर तौलिहवामा कपडा बैंकको स्थापना गरिएको छ ।
कसैले घरमा आफुलाई ठिक नभएर, मन नपरेर, डिजाईन गएर प्रयोग गर्न मन नभएर लामो समय देखि पोको पारेर राखेका फाल्न पनि माया लाग्ने आफुले प्रयोग पनि नगर्ने जस्ता कपडाहरू संकलन गर्नका लागि कपडा बैंकको स्थापना गरिएको हो ।
एकधरो लाउने कपडाको अभावमा नाङ्गै हिड्न बाध्य आम गरिव दुखिलाई निशुल्क बितरण गर्ने, बाढी पहिरो, आगलागी जस्ता बिपतमा परेकाहरूलाई राहत स्वरूप तत्काल बितरण गर्ने गरि कपडा बैंक स्थापना गरिएको बताइएको छ ।
शनिवार कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले कपडा बैंकको उदघाटन गर्नु भएको थियो । कार्यक्रममा पशुपति अन्नपूर्णा आश्रमका केन्द्रीय उपाध्यक्ष सहित प्रदेश नं. ५ का पदाधिकारी, कपिलवस्तु नगरपालिकाका सबै वडाका वडाध्यक्ष, नेपाल बाल संगठन कपिलवस्तुका पदाधिकारी, पशुपति अन्नपूर्ण आश्रम जिल्ला शाखा कपिलवस्तुका पदाधिकारी लगायत स्थानीय समाजसेवी, पत्रकार तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७६ आइतबार ००:००  ८ : ४६ बजे