१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

गुल्मीमा नागरिक सहायता कक्ष स्थापना



गुल्मी ।

गुल्मीमा सेवासहितको नागरिक सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरीले सदरमुकाम तम्घास भित्रिने र तम्घासबाट बाहिरिने मुख्य दुई ठाउँ बुढाथोकी बसपार्क र उदिनढुङ्गा चोकमा सहायता कक्षको स्थापना गरेको हो ।

कक्षको आइतबार प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले उद्घाटन गरे । कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पौड्यालले प्रशासनले दसैँको समयमा यात्रुहरुलाई सहज होस् भन्ने उदेश्यले कक्षको स्थापना गरिएको बताए । त्यसका साथै दसैँको समयमा जिल्लामा शान्ति सुरक्षाको व्यवस्था पनि सुरक्षित बनाइएको जानकारी दिए ।

यात्रु जाने ठाउँ, सवारीमा तिरेको भाडा तथा यात्रुहरुलाई परेको समस्याको समाधान गरी सुरक्षित तरिकाले गन्तव्यसम्म पु¥र्याउने लक्ष्यका साथ नागरिक सहायता कक्षको स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी मिन घलले भने, ‘कुनै समस्या परे नागरिक सहायता कक्षले समाधान खोज्छ ।’ जिल्ला ट्राफिक प्रहरीले विगतका बर्षहरुमा पनि दसैँको समयमा नागरिक सहायता कक्षको स्थापना गर्ने गरेको थियो ।

यो बर्ष पनि सोहि कार्यलाई निरन्तरता दिदैँ दसैँअवधिभर सहायता कक्ष संचालन गरिएको ट्राफक प्रहरी हवल्दार देवीप्रसाद पौड्यालले जानकारी दिए ।

प्रकाशित मिति : १३ आश्विन २०७६ सोमबार ००:००  ६ : ४५ बजे