२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

तौलिहवा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना, चालक र सह–चालकलाई फूलमाला



मायादेवी अनलाइन, तौलिहवा । 

बडा दशै र तिहारलाई लक्षित गरी तौलिहवा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रुहरुको सुबिधालाई मध्य नजर गरी प्रहरीले बसपार्कमा सो संचालन गरेको हो । यस्तै सोही अवसरमा चाडपर्वमा यात्रा भरपर्दो र सुरक्षित बनाउन कपिलस्तुका चालक र सह–चालकलाई फूलमाला लगाएर स्वागत गरिएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्रले तौलिहवा बस पार्कमा राखेको दशै, तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बस, जीप चलाउने चालक र सह चालकलाई फूलमाला लगाएर सम्मानित गरिएको हो । बिभिन्न यातायात समितिका सवारी साधनमा कार्यरत २५ चालक र सह–चालकलाई फूलमाला लगाएर प्रजिअ गजेन्द्र बहादुर श्रेष्ठले स्वागत गरेका थिए ।

सो अवसरमा उनले आसन्न चाडवाडलाई मध्यनजर गर्दै यात्रु र आफ्नो सुरक्षाका लागि ट्राफिक नियम अनुसार गर्नु पर्ने बताए । ‘दशैका बेलामा सवारी साधानमा चाप हुन्छ, भीडभाड हुन्छ यस्तोमा सुरक्षित तरिकाले सवारी साधन चलाउनु पर्छ’ उनले भने ‘यात्रुहरुलाई सुरक्षित तरिकाले गन्तब्य सम्म पुर्याउने दायित्व चालक र सह–चालकको हातमा हुन्छ ’ । उनले यो कार्यक्रमले चालक र सह–चालकलाई थप जिम्मेवार बनाउने बिश्वास ब्यक्त गरे ।

सो अवसरमा चालक अहमद रंगरेजले फूलमालाले स्वागत पाउँदा आफु निकै खुशी भएको भन्दै यात्रुहरुलाई भरपर्दो र सुरक्षित तरिकारले यात्रा गराउने प्रतिबद्धता ब्यक्त गरे । ‘यो कार्यक्रमले हामीलाई थप जिम्मेवार बनाएको छ, हामीले ट्राफिक नियमको पालना गनेछौ’ उनले भने । कार्यक्रममा कपिलवस्तु यातायात ब्यवसायी समितिका अध्यक्ष सन्तोष हमालले कार्यक्रमले चालक र सह–चालकमा उत्साह थपेको बताए ।

‘चालक र सह चालकलाई प्रायः जसोले गाली नै गर्छन तर अहिले भने प्रजिअ कै हातबाट स्वागत पाउँदा चालकहरु निकै खुशी छन्’ । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देबी बर्माले कार्यक्रमले चाडवाडमा हुने दुर्घटना न्युनीकरणमा मद्दत मिल्ने बिश्वास ब्यक्त गरे । सो अवसरमा प्रहरी नायब उपरिक्षक सुनिल मल्लले यस्ता कार्यक्रम जिल्लाका बिभिन्न स्थानमा गरिने बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७६ सोमबार ००:००  ६ : ५४ बजे