दाङ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डमा भएको सवारी दुर्घटनामा घाइते भएर च्यापिएका ट्रक चालकको उद्धारमा समस्या भएको छ ।
शनिबार बिहान भालुबाङबाट लमहीतर्फ जाँदै गरेको ना १ ख ४७९३ नम्बरको ट्रक र धनगढीबाट काठमाण्डौ जाँदै गरेको बा ५ ख ५२८३ नम्बरको बस राप्ती गाउँपालिका–२ को बराखुट्टीमा एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर च्यापिएका ट्रक चालकको च्यापिएको पाँच घण्टा भैसक्दा पनि उद्धार हुन सकेको छैन । बस चालकको भने उद्धार गरिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । बस चालक घोडाघोडी नगरपालिका–१ निवासी २२ वर्षीय अरुण चौधरीको उद्धार गरिएको हो ।
ट्रक चालक अझै च्यापिएको र परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर च्यापिएका चालकको उद्धार गर्न उपकरण नहुँदा समस्या परेको हो । क्रेन र टोचन नहुँदा सामान्य ब्लेडले ट्रक काटेर उद्धार गर्दा धेरै समय लागेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुवै चालकसहित १३ जना यात्रु घाइते भएका छन् । जसमध्ये तीन जनालाई थप उपचारको लागि जिल्ला बाहिर लगिएको छ । १० जनाको राप्ति पोलिक्लनिक भालुबाङमा उपचार भैरहेको छ ।
१८ आश्विन २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया