७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

दशैँपछि चहलपहल सुरु, लामो तथा छोटो दुरीका सवारी पनि चल्न थाले



मायादेवी अनलाइन, वाणगंगा ।
आफन्तकहाँ टीका लगाउन जानेहरु आआफ्नो क्षेत्रमा फर्कन सुरु गरेसंगै प्रदेश ५ मा चहलपहल सुरु भएको छ । दशैँ अघि र दशैँको दिन सुनसान रहेका बजार र सडकमा आज विहानैबाट चहलपहल सुरु भएको हो ।प्रदेशका कपिलवस्तु, रुपन्देही, नवलपरासी, अर्घाखाँची, गुल्पी, पाल्पा, दाङ लगायतका जिल्लाका मुख्य बजारमा चहलपहल सुरु भएको हाम्रा सहर्मीहरुले जनाएका छन् । कपिलवस्तुको मुख्य केन्द्र बाणगंगा क्षेत्रमा पनि मानिसहरुको आवतजावत बढेको छ । पश्चिम क्षेत्रको सबैभन्दा व्यस्त बुटवल बसपार्कमा पनि दशैँ मनाए लगत्तै आ आफ्नो कार्यथलोमा जान हिजो साँझ देखि नै यात्रुहरु जम्मा भएका थिए । आज विहानै पनि सो बस पार्कमा मानिसहरु टिकट काट्न लाइनमा बस्न थालेका छन् । पसलहरु विहानैबाट खुल्न सुरु गरेका छन् । लामो तथा छोटो दुरीका सवारीहरु पनि सडकमा देखिएका छन् । दशैँको दिन साँझ नै बाणगंगाका चार नम्बर, बनगाई, गजेहडा, वैरिया , पिपरा आदि स्थानमा फाट्टट फुट्ट पसल पनि संचालनमा आएका थिए भने आज विहानै पनि पसलहरु खुलेका छन् । यस्तै जिल्लाको तौलिहवा, कृष्णनगर, ओदारी, गोरुसिंगे, चन्द्रौटामा पनि चहलपहल सुरु भएको छ । आजबाट लामो दुरीका सवारी पनि चल्न सुरु गरेका छन् । दशैँ मनाए पछि सवारधिनीहरुले यात्रुहरुको समस्यालाई मध्येनजर गर्दै सवारी चलाउन सुरु गरेका हुन् । आज तौलिहवा र कृष्णनगरबाट काठमाण्डौँका लागि सवारी छुटेका छन् भने अन्य स्थानबाट लामो दुरीका सवारीहरु चल्न सुरु गरेका छन् । यस्तै काठमाण्डौँमा पनि चहलपहल बढेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७६ बुधबार ००:००  ६ : ३० बजे