१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

देखिन छाडे ‘काठे र लिंगे पिङ’



मायादेवी अनलाइन, कपिलवस्तु ।

चाडपर्वमा गाउँघरमा पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदै गएको छ । कपिलवस्तुका हरेक गाउँ बस्तीका टोलटोलमा हालिने र खेलिने पिङ लोप हुँदै गएको हो । दशै तिहारमा पिङ खेल्ने र रमाइलो गर्ने चलन थियो ।

हिजोआज भने आधुनिक जीवनशैली सँगै पिङ हाल्ने र खेल्ने संस्कृति विस्तारै हराउँदै गएका छन् । संस्कृतिकै रुपमा विकास भएका पिङको संरक्षणका लागि स्थानीय संस्था तथा व्यक्तिले चासो नदेखाएको कारण पनि लोप हुँदै गएको छ ।

पिङ किशोर, युवादेखि वयस्कसम्म सबै लिङ्गका मानिसको रुचिको विषय हो । ‘पहिले पहिले टोल टोल र हरेक सार्वजनिक स्थानमा पिङ हाल्ने चलन थियो आज भोलि भने पिङमा भन्दा अन्य कुरामा युवा युवतिहरु रमाउने गरेका कोइली बनगाईका जीवन विष्टले बताउनुभयो ।

उहाँका अनुसार विगतमा तीज तथा दशैंतिहारमा हाल्ने गरेका पिङ अब वर्षेनी लोप हुँदै गइरहेका छन् । पछिल्लो पुस्ताले त काठेपिङ देख्न समेत पाएका छैनन ।

पहाडका केही स्थानमा तिजको बेला कहि कतै पिङ हाले पनि दशैं र तिहामा भने पिङ राख्ने प्रचलन हराएको छ । विगतको समयमा समुदायका सबै जना जुटेर पिङ लगाएर मच्चाउँदै रमाइलो गरिने भए पनि आजभोलि लिंगे पिङ तथा रोटे पिङ लोप हुने अवस्थामा छ ।

जिल्लाका कहि कतै दुई चार स्थानमा लहरे पिङ हालेपनि काठेपिङ भने लोप भई सकेको छ । प्राप्त रुपमा बनमा काठकाटन नदिदा पनि काठेपिङ हाल्ने संस्कृति हराएको चारनम्बरका युवा सागर घिमिरेले बताउनुभयो ।

पछिल्ला पुस्ताका युवाले परम्परागत संस्कार संस्कृतिलाई जगेर्ना गर्नुभन्दा पनि आधुनिक मनोरञ्जनका विकल्प रोज्नाले पिङजस्तो मौलिक मनोरञ्जनको साधन ओझेलमा परेको हो ।

दशैँ र तिहारका बेला चाडपर्वमा मात्रै गाउँघरमा जुट्ने युवालाई चर्खे पिङ बनाउने फुर्सद र सीप पनि छैन । बेरोजगारीका कारण युवा गाउँमा नबस्दा पिङ बनाउने जनशक्ति भने गाउँमा पाउन छोडिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६ बिहिबार ००:००  ६ : २७ बजे