सलिम अन्सारी, प्युठान ।
गत आईतवार प्युठान नगरपालिका ९ मरन्ठाना स्थित बुढादेवी मन्दिर परिसरको वातावरण बेग्लै थियो । सेतो रंगको दौरा सुरुवाल, कम्मरमा पटुका र शिरमा सेतै पगरी गुछेर लोभलाग्दो पहिरनमा पुरुषहरू सराय खेलिरहेका थिए । नेपाली पोसाकमा सजिएर वरिपरि ढाल र तरवार नचाउँदै बाजाको तालमा उनिहरु वाख्वाई वाख्वाई ह्वा गरिरहेका देखिन्थे ।
पञ्चेबाजाको डुंग, डुंग कि डुंगको ताल र वाख्वाई ह्वाको आवाजले मन्दिर क्षेत्र गुंजायमान बन्यो । युवाहरूको जोशिलो नाचसंगै दर्शकहरु पनि झुम्मिरहेका देखिन्थे । उनीहरुसँगै महिला, बृद्धबृद्धा पनि वाख्वाई, वाख्वाई गर्दै सरायँमा सहभागी भए । बाजाको लयसँगै पाइला र तरवार चलाउने खेल हेर्दै हिम्मतिलो र आकर्षक लाग्छ । कोजागत पुर्णिमाको मेला हेर्न आएका स्थानिय अजय बिकले भने सरायँ हेर्दा नांचु नाचु लाग्ने, रमाईलो हुँदो रहेछ ।
सराय नाच हेर्दा रमाइलो र हतियार नचाउँदा डरलाग्दो हुने उनले अनुभव सुनाउन समेत भ्याए । सरायँको प्रचार–प्रसार गर्न सकेमा धार्मिक शक्तिपिठको थप विकासमा सहयोग पुग्ने उनले बताए । ‘एकातर्फ गाउँठाउँको विकास हुन्छ भने अर्कोतर्फ हाम्रो पहिचान बोकेको सँस्कृतिको प्रचार हुन्छ ।’ उनले भने, ‘स्थानीय नागरिकदेखि सरकार सबैले ध्यान दिनु आवश्यक छ ।प्युठानमा दशै र तिहारको अबसरमा सराए नाचिन्छ।

संकटमा सराय
एक समय तामझामका साथ तरवार नचाएर सराय नाचिन्थ्यो । गाउघर तिर एक आपसमा खुसी साटासाट गर्न विशेष मौकाका रुपमा पनि यस्लाई लिइन्थ्यो । घरगाउँबाट टाढा गएकाहरु दशैंंमा घर फर्किँदा साथीसँगीसँग भेटिने अवसर पनि थियो । नाच्न तछाडमछाड हुन्थ्यो,नाच हेर्नेहरुको ठुलै लर्को लाग्थ्यो । हिजोआज त नाच्नेहरुको संख्या पनि निकै घटिसकेको छ । पछिल्लो समयमा यो नाच हराउन थालेको छ। केही ठाउँमा मात्रै संस्कृति जोगाउने नाममा नाच देखाउने गरिएको छ । नयाँ पिढिँमा हस्तान्तरण हुन नसक्दा यो नाच दूर्लभ हुँदै गएको छ । प्युठानको पुर्ण्यखोलाका स्थानीय दल बहादुर केसीका अनुसार पुरानो पुस्ताले निकै रोमाञ्चक र सांस्कृतिक ढंगले मनाउने गरेको यो नाचप्रति पछिल्लो पुस्ताको आकर्षण त्यति देखिन्न ।
‘पुर्खाबाट चलिआएको परम्परा हामीले बचाउनुपर्छ, अब युवाहरुले यसमा ध्यान दिनुपर्छ ।’उनले भने, हाम्रो परम्परा लोप हुन थाल्यो, यसलाई वचाउने जिम्मा युवाहरुको हो । युवा पुस्ताले यस्को सांस्कृतिक महत्वलाई बुझ्न नसक्दा मौलिक सस्कृति ओझेलमा परेको उनले बताए।सस्कृती संरक्षणमा सरोकारवालाले चासो नदिएको उनले बताए ।
बिश्वनिकेतन काठमाडौका प्राध्यापक भरतमणी भण्डारी पनि नया पुस्ताले मौलिक संस्कृती बेवास्ता गर्दै गएको बताउछन । ’सस्कृती मानिसको जीवन हो भन्ने युवाले बुझेन्न,उनले भने, ‘नयाँ पुस्तामा सस्कृती चेतको अभाव छ, अहिलेका युवामा सरायको भाखा र शब्दको ज्ञानै छैन,’ सिक्ने र सिकाउने पुराना र नयाँ पुस्ताबिचको समन्वय नहुँदा मौलिक कला संस्कृति हराउंदै गएको उनको ठहर छ । सरायँ, सांस्कृतिक पहिचानको धरोहर भएको बताउदै संरक्षण र सम्वर्दनको खांचो रहेको उनले औलाएं । ‘यसलाई सबै मिलेर बचाउनुपर्छ ।’ प्युठानको मरन्ठानाका उनले भने, युवापुस्तालाई बाजागाजा निर्माण देखि बजाउने सम्म तालिम नै दिएर भएपनि सँस्कृति जोगाउनु पर्नेमा उनको जोड छ । समाजशास्त्री भण्डारीको अध्ययनमा राक्षसी प्रवृत्तिमाथि दैवी शक्तिको विजयी भएको उपलक्षयमा यो नाच मनाउन सुरु गरिएको हो।‘

यस्तो छ किवंदन्ती
बुढापाकाको भनाइमा वाख्खै भनेको उ खै हो । प्युठानको भित्रीकोट राज्यमा ५ सय ६४ बर्ष पहिले जांट बंशिय राजाको राक्षसि स्वभावका बिरुद्ध जनताले तरवार उठाएको घटनासंग यो सराय नाच जोडिएको छ । विभिन्न स्थानबाट तरबार लिएर आएका जनताले राजालाइ मारेको संझनामा सरायँ नाच्न थालिएको किवंदन्ती छ।दानबिय स्वभावका ती राजाले चाहेका बेला बालबालिका चढाउनुपर्ने कारण आक्रान्त बनेका स्थानियले उनकै भारदार र श्रीमतीको योजनामा राजालाई भित्रीकोटबाट लखेट्दै पुण्यखोला स्थित डल्लेमा ल्याएर काटेको किंवदन्ती छ । यसैको खुशीयालीबाट बिकास भएको सरायँ मेला बिभिन्न अवसरमा लाग्ने गरेको स्थानीय बुढापाकाहरु बताउछन् । तिहारको भाइटिकाको दोश्रो दिन डल्ले, तेश्रो दिन बाल्मन्दिर चितिखोला, चौथो दिन ढुगेंठाटी, पुण्युमा बहाने र खैरा लगायतका स्थानमा सरायँ नाचहरु नाचिने गर्दछन् । युद्धकलासंग सम्वन्धित सराए खेल्ने र हेर्नेको यहाँ भिड लाग्छ । कोजागत पुर्णिमाको अबसरमा प्युठानको जुम्री, पुण्यखोला,मरन्ठानाको बुढादेवी मन्दिर, मल्लरानीको चौरपानी, ऐरावतीको जाबुनेकोट, लगायतका स्थानमा पञ्चे वाजाको तालमा तरवार नचाएर सराए प्रदर्शन गरिएको थियो।हिन्दुहरुको महान पर्व वडादसैं एवं तिहारको अबसरमा नाचिने सराय नाच प्युठानको मौलिक नाच हो । तरबार खुडा र हतियार प्रदर्शनसहित नाचिने यो नाचले देवी खुसी हुने विश्वास रहेको छ। देवीले महिसासुर र शुम्भको बध गरेको दिन विजया दशमीको दिनदेखि नाचिने यो नाच खुसीयालीमा नाच्न थालिएको बुढापाकाहरुको भनाइ छ। गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र कपिलवस्तुका शक्तिपीठमा दशैँको भोलिपल्टबाट पूर्णिमासम्म सराय नाच्ने प्रचलन छ ।

संस्कृती जोगाउन जागे युवा
मौलिक संस्कृती सरायँ नाचको संरक्षणमा युवाहरू जुटेका छन् । जिल्लाको मल्लरानी र जुम्री बजारका स्थानिय युवाहरुले सराय विशेष कार्यक्रम आयोजना गरेका हुन।आइतबार जुम्री परिवर्तनशील युवा समूह प्युठान नगरपालिका–३ को आयोजनामा भएको कार्यक्रममा सरायँ नाच हेर्नेको घुइँचो थियोे । जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर–८ स्थित राँगामारेमा चतुदर्शीका दिन मेला लाग्ने गर्छ । यसै अवसरमा सरायँ नाच्ने गरिन्छ । युवा पुस्ताहरूलाई सरायँ नाचप्रति आकर्षित गर्न सराय विशेष कार्यक्रम गरिएको वडा नम्बर–८ का वडाध्यक्ष नरेन्द्र बस्नेतले बताए । ‘ यस्का लागि वडामा रहेका क्लबहरू परिचालन गरी व्यवस्थित गरिएको उनले सुनाए । युवा पुस्ता परम्परागत रीतिरिवाजबाट टाढा नहुन् भन्ने उद्देश्यले युवा क्लबहरूलाई क्रियाशील बनाइएको बस्नेतको भनाई छ।
स्ता परम्परागत रीतिरिवाजबाट टाढा नहुन् भन्ने उद्देश्यले युवा क्लबहरूलाई क्रियाशील बनाइएको बस्नेतको भनाई छ।






प्रतिक्रिया