५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

तापक्रम निरन्तर घट्दो, बढ्दै रोगव्याधी



काठमाडौं ।
तापक्रम निरन्तर घट्दो छ । तराईका अधिकांश भू भागमा बाक्लो हुस्सु र कुहिरो देखिन्छ । उपत्यकामा दिउँसो झुलुक्क घाम देखा परे पनि चिसो महसुस भइरहेको छ । मुलुकका विभिन्न भागमा तापक्रम घट्दै गएकाले सबै सजग हुन आवश्यक छ । रोगव्याधिले सताउन सक्छ ।
पश्चिमी वायुको वहाब नेपालतर्फ बढिरहेकाले चिसो भइरहेको जल तथा मौसम विज्ञान विभाग, हावापानी शाखा प्रमुख डा. इन्दिरा कँडेल बताउँछिन् । ‘यतिबेला सूर्य दक्षिणि गोलाद्र्धतर्फ ढल्किएको छ । उत्तरतर्फ रहेको नेपालमा पश्चिमी चिसो वायु आइरहेको छ । यसले गर्दा पनि जाडो महसुस भइरहेको छ,’ उनले भनिन् । उनले साइबेरियाबाट आएको चिसो हावा पनि मिसिँदा ठन्डी बढेको बताइन् । चिसो हावाको घनत्व बढिरहेकाले ठन्डीले धेरैलाई सताइरहेको छ ।
विभागका अनुसार २५ मंसिरदेखि मुलुकको पश्चिमी भूभागबाट न्यूनचापीय प्रणालीको प्रवेश भएको छ । यो प्रणालीका कारण देशको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपातसमेत भएको थियो । दुई साताअघि पश्चिमी वायुकै प्रभावले मुलुकको अधिकांश भूभागमा वर्षा भएकाले तापक्रम चिसिँदै गएको विभागले जनाएको छ । विभागका अनुसार तराईमा अझै केही दिन हुस्सु र कुहिरो लाग्नेछ । दिउँसो राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आइ चिसो नै रहनेछ । आगामी मंगलबारसम्म पहाडी भूभागमा आंशिक बदली हुने विभागले अनुमान गरेको छ ।

चिसोबाट बचौं

त्रिवि शिक्षण अस्पताल महाराजगन्जकी छाला रोग विशेषज्ञ डा. रिता श्रेष्ठ चिसोको बेला छालाजन्य समस्या देखिने बताउँछिन् । ‘जाडो समयमा हावामा पानीको कण न्यून हुन्छ । हावा सुक्खा हुन्छ,’ उनले भनिन्, ‘छालामा हुने पानीको मात्रा सुक्खा हावाले पनि उडाउँछ । सुक्खा छालामा अनेकखाले संक्रमण हुन्छ ।’ छाला चिलाउने, फुट्नेलगायत समस्या देखा पर्छन् । अनुहार सुक्खा हुन्छ ।
उच्च रक्तचापको औषधि सेवन गरिरहेका र मुटुजन्य समस्याबाट पीडितले चिसो मौसममा सजग हुनुपर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउँछन् । ‘जाडोमा शरीरको तापक्रम घट्न जान्छ । यस्तो अवस्थामा मुटुको धड्कन छिटो चल्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘धड्कन छिटो छिटो चल्दा मुटुमा दबाब पर्छ । कमजोर मुटु छ भने फेल हुन सक्छ ।’ जाडोले मुटुका रक्तनली खुम्चिने र एकाएक रक्तनली खुम्चिए हृदयाघात समेत हुनसक्ने उनी बताउँछन् ।
चिसो मौसममा विशेषगरि बालबालिका र वृद्धवृद्धालाई संक्रमणको सकस हुने गरेको छ । त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक डा.निरज बम ठन्डी मौसममा रोगव्याधिले सताउने बताउँछन । बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता विकसित नभइसक्दा र ज्येष्ठ नागरिकमा न्यून हुने भएकाले झन् बढी सजग हुनुपर्ने उनको सुझाव छ । चिसोले निमोनिया, दम, बाथ, टाइफाइडलगायत समस्या लिएर सरकारी एवं निजी स्वास्थ्य संस्थामा उपचारका गर्न आउने बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ । –अन्नपूर्ण पोस्ट्बाट

प्रकाशित मिति : १४ पुस २०७६ सोमबार ००:००  ८ : २६ बजे