८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

ए डिभिजन लिगः मनाङ च्यासलसँग पराजित



काठमाडौं ।
काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब च्यासल युथ क्लबसँग पराजित भएको छ ।

जारी लिगमा अपराजित रहेको मनाङ सोमबार भएको खेलमा २–० ले पराजित भएसँगै अपराजित यात्रामा पूर्णविराम लागेको हो ।

सोमबार एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा २४औँ मिनेटमा टागिया नाकामुराले च्यासलका लागि गोल गरेका थिए। उनले फ्रि किक बलमा गोल हानेका थिए।

यस्तै अन्तिम थप समयमा सन्तोष साहुखलले च्यासलका लागि दोस्रो गोल गरेका हुन्।

च्यासलसँगको हारले उपाधि दाबेदारीमा रहेको मनाङलाई दबाब परेको छ।

यसअघि ५ खेल जितेर चार खेल बराबरी खेलेको मनाङको यो नै पहिलो हार हो। मनाङको १० खेलमा १९ अंक छ। शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १० खेलमा २३ अंक र दोस्रो स्थानमा रहेको मछिन्द्रको १० खेलमा २२ अंक रहेको छ।

मनाङलाई हराएको च्यासलको १० खेलमा १२ अंक रहेको छ। जितसँगै च्यासल नवौँ स्थानमा उक्लिएको छ।

प्रकाशित मिति : २० माघ २०७६ सोमबार ००:००  ५ : ५० बजे