रेडियो   टिभी

प्रकाश सपूतको प्रधानमन्त्रीलाई मन छुने विन्ती पत्र, हात धुने साबुन किनम् कि भात भिजाउने तिउन ?


कलाकार प्रकाश सपुतले कोरोनाबारे उब्जिएको परिस्थितिलाई मध्यनजर गरेर प्रधानमन्त्रीलाई पत्र पठाएका छन् । आफ्नो आधिकारिक फेसबुकमार्फत् गीतकार समेत रहेका सपुतले मन नै भावुक बनाउने विन्ती पत्र चढाएका हुने । फेसबुकमा लामो स्टाटस लेख्दै उनले आम नागरिकको हेक्का राख्न र यो विषम परिस्थितिमा जनताको सुरक्षामा ग्यारेन्टी गर्न माग गरेका छन् । उनको यो फेसबुक सटाटस हजारोँले सेयर गरेका छन् ।

उनले फेसबुकमा लेखेको जस्ताको तस्तै
विश्वमा भयानक रुप लिदै महामारीको रुपमा फैलीरहेको कोरोना भाईरस सतर्कताका लागि नेपाल सरकारले गरेका प्रयासहरु सरहानीय छन । भर्खरै मिर्गौला प्रत्यारोपण गरेको आफ्नो कमजोर शरीर तर बलियो आत्मबल सहित सार्क राष्ट्रका सरकार प्रमुखहरुसंग गरेको भिडियो कन्फेरेन्स र शुक्रबार साझको सम्बोधनले व्यक्तिगत रुपमा तपाईको सक्रियता र सरकारको जिम्मेवारी बोध प्रति हामी कृतज्ञ छौ । यद्यपि केहिदिन अगाडि स्वास्थ्य मन्त्री ज्यु ले घरमा पाहुना आएको भन्दै देखाएको व्यक्तिगत हतारोले खिस्रिक्क परेका थियौ । अरु त सबै ठिकै छ । कोशिश राम्रो छ । किप ईंट अप ।
सरकारकै निर्देशनलाई पालना गर्दै सबै काम धन्दा छोडेर भिडभाड कम हुने र बस्ती अलि पातलो भएको आफ्नै गाउको घरमा आएर सेल्फ क्वारेनटाईनमा बसेका छौँ । दशैमा समेत नजुटिने हाम्रो परिवार यसपाली घर भरी भएका छौँ । एक अर्थमा मेरो बाबा, आमा र गाउ सार्है खुसी देखिएका छन तर त्यो खुसी धेरै बेर रहन सकेन जब साझ खान खाने बेला बाबाले चिन्ता व्यक्त गर्नु भयो । “ अब अनिश्चितकालीन बन्द भन्छन् । यसरी सबै परिवार भेला भएर बसी-बसी खान कहिले सम्म पुग्ने हो ? ” माहोल स्तब्ध भयो । खाना खल्लो ! -बाबा लामो बैदेशिक रोजगार पछि अहिले घरमा हुनुहुन्छ । मैले नै उहालाई ढाडस दिएको थिए, बा ! तपाई बुढो हुनु भो अब बिदेश नजानुस ।म गर्छु । “आमा गृहिणि हुनुहुन्छ । माईलो भाई रोजगारीको लागि कहिले मलेशिया कहिले दिल्ली भौतारिराछ । खास तरक्कि गर्न सकेको छैन । बुहारी र छोरा गाउमै छन । अर्को दुई जना भाई र मेरी श्रीमती बिन्दु अध्यनरत छन र आफ्नो करियरमा संघर्षरत छन । मेरी एउटा छोरी छिन ३ वर्षको । पछिल्लो ५/६ वर्ष देखि १० जनाको हाम्रो परिवार नितान्त म मा निर्भर छ भने पेशाले म गितसंगितमा निर्भर छु । फुलटाईमर कलाकार भनम न । दर्शकस्रोताको मायाले जेनतेन चलिरहेको छ । हैन, राम्रै चलिरहेको छ । खाना खाईवरी कोठामा पुगेपछि श्रीमती बिन्दु जि र मैले हाम्रो अकाउन्ट चेक गर्यौ । यहि वर्ष काठमाण्डौमा सानो घर लिएकाले हामीसंग धेरै नगद मौज्दात रहनेछ । व्यवस्थापनमा मास्टर्स डिग्री बिन्दु जिले हिसाब निकाल्नु भयो । सामान्य खर्चमा १० जनाको हाम्रो परिवारलाई बसि बसि खाए पनि ४ देखि ६ महिनालाई पुग्ने पैसा हामीसंग रहेछ । मैले आफुलाई भंयकर सम्पन्न भएको महशुस गरेँ । मैले आफ्नो करियरमा कहिल्यै पैसालाई महत्व दिईन । आत्मसम्मान र सपनाको पछि लागेँ । यद्यपी दुई छाक टार्न गरेको संघर्षको छुट्टै कहालीलाग्दो कथा छ । परिवारलाई हुँदा खाने धरातलबाट उठाएर ६ महिना बसी बसी खान पुग्ने धन जोर्नु भनेको ठुलो उपलब्धि हो । मैले खत्रै फट्को मारेको हो हाम्रो पुर्खाको तुलनामा – बिन्दु जि लाई यति गफ लाईदेको उनी ढुक्क भएर निदाईन । तर म निदाउन सकिन ।

Image may contain: 1 person

सम्माननीय प्रधानमन्त्री ज्यु ।
के हाम्रो बा ले गरेको जस्तो अड्कल र चिन्ता हजुरले गर्नु भएको छ ? मन्त्रीपरिषद्को कोरोना भाईरस सुरक्षा सतर्कता बैठकमा के यो प्रश्न उठेको छ कि परिस्थिति यस्तै रहयो भने हामी कति दिन सम्म पाल्न सक्छौ हाम्रो जनतालाई भनेर ? के सरकारले मैले जस्तै आफ्नो खाता पाता र भकारी चेक गर्यो ? मैले आफुले पाल्नु पर्ने परिवारको हिसाब राखे जस्तै के सरकारले आफुले पाल्नु पर्ने नागरिकको हिसाब राखेको छ ? मैले छ महिना भने जस्तै के तपाई भन्न सक्नु हुन्छ यदि भकारी नै रित्तिएर मर्ने स्थिती आयो भने सरकारसंग कति महिनालाई पुग्ने भकारी छ ? समस्या अहिल्यै बाट शुरु भैसकेको छ । कोरोना नआए पनि भोकमरीले अलिअलि छाया देखाईसकेको छ ! कम्पनी बन्द भएपछि कतै सेल्फ क्वारेन्टाईन त कतै आईसोलेशनमा थुनिएको परदेशीले उसकै भरमा बसेको आफ्नो परिवारलाई केहि हप्ता देखि पैसा झिक्ने रेमिट नम्बर टिपाएको छैन ! काम ठप्पै भएपछि खल्तीमा डेडदुईसय बचेको एउटा दैनिक मजदुरले कालोबजारी पसेर अचानक महगिँएको पसल अगाडि गएर घण्टौ सोच्छ होला । यति पैसाले स्यानीटाईजर किनम कि स्यानी छोरीको लागि एक गास चामल ? हात धुने साबुन किनम कि भात भिजाउने तिउन ? कोरोना छेक्ने माक्स किनम कि आशु पुछ्ने रुमाल ? रोगको डर र भोकको डरमा कति फरक छ ? रोगले मर्नु र भोकले मर्नु मा मृत्युको मुल्य कति फरक हो ? कि उस्तै उस्तै हो ! साझ निदाउने बेला एकपटक ‘कवि’ जस्तो मन बनाएर, एकपटक ‘बा ‘ जस्तो मन बनाएर यस्सो सोच्नुस त प्रम ज्यु । के भन्दो रछ हजुरको मनले !

ल मानम परिस्थिति यस्तै भयो । आफुसंग हुदा सम्म खाने, नभए मर्ने स्थिती आयो भने हाम्रो परिवारको आयु ६ महिना तोकियो । यसबाहेक पनि केहि रकम बच्ने भयो करिब -२ लाख रुपैया । एउटा जिम्मेवार नागरिकका हैसियतले यो रकम यो विषम परिस्थितीका निमित्त सहयोग गर्न चाहन्छु । कहा कसकों नाममा दिने निधो नभएपछि रकम लेखेर हस्ताक्षर गरेको चेक पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष ज्युको रोहबरमा महासंघको कार्यलय बागलुङमा पठाएको छु । यो रकम सरकारकै मातहतमा जहा चलाए पनि हुन्छ । कोरोनाको आंशकामा बिना पुर्वाधार बिरामी जाचिरहेका ति हिम्मतिला नेपाली डाक्टर र स्वास्थ्यकर्मिका लागि २ जोर ग्लब्स र एक जोर बलियो गाउन किन्न काम लागेपनि म खुसी ! सेल्फ क्वारेन्टाईनमा बस्न नपाई ज्यानको बाजी लगाएर नागरिकको सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले पाउने पेन्शनमा हौसला स्वरुप कतै थोरै थपिन्छ भने पनि म खुसी । रोग प्रतिरोधात्मक क्षमता कम भएका वृद्धवृद्दार बालबालिका र अन्य रोगले ग्रस्त कोहि कसैलाई २ बोतल भिटामिन ख्वाउन काम लागे पनि म खुसी । काम धन्दा सबै ठप्प भएर भोंकभोकै हुनुपर्ने केहि श्रमिक घरपरिवारलाई गोडाएक महिना दुई गास दालभात ख्वाउन पाए पनि म खुसी । रकम थोरै छ तर यस्तो परिस्थितिमा जहा जसरी काम लागे पनि म खुसी ।

ल मानम् यो सबै परिस्थितीको सामना र जिम्मेवारी सरकारले नै पुरा गर्ने भयो । सामान्य नागरिकको सहयोग नचाहिने भयो र मेरो चेक फिर्ता आयो भने त म झनै खुसी । यदि फिर्ता आयो भने म यो चेकको केहि पैसाले सरकारको महिमामा एउटा गज्जबको गित रेकर्ड गर्ने छु । र बाकि रकमले मेरी छोरीको शैक्षिक बिमा गरिदिनेछु । उस्ले धेरै पढोस र विश्वमा फेरी यस्ता विषम परिस्थिति आयो भने रकम नतोकिएको चेक डोनेशन गर्न सक्ने हैसियत बनाओस । आफ्नो देशका लागि मात्रै होईन पुरै विश्वका लागि ।
आफ्नो र हाम्रो ख्याल राख्नु होला । धन्यबाद ।

प्रकाश सपुत
एक नागरिक र एक कलाकार ।

प्रतिक्रिया दिनुहोस