१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

सरसफाइले मात्र कोरोनालाई जित्न सकिन्न समय पनि उत्तिकै जरुरी



एजेन्सी ।

आजको दिनसम्म सबैले कोरोनाबाट बच्न मुख्यगरी के–केमा ध्यान दिनुपर्छ भन्ने जानिसकेका छन् । मास्क लगाउनु, नियमित साबुन पानीले हात धुनु, अरुबाट ६ फिट टाढा बस्नु लगायतका निर्देशन नसुन्ने अहिले सायदै कोही होला ।

तर यसबाहेक कोरोना संक्रमणको अर्को एक महत्वपूर्ण पक्ष पनि रहेको छ जसप्रति एकदम कम ध्यान दिइएको छ । यसमा कोभिड–१९ को संक्रमण अरु रोग जस्तैगरी भाइरससँग सम्पर्क आउने समयसँग पनि सम्बन्धित रहेको देखाउने प्रमाणहरु बढ्दो रुपमा फेला परिरहेको छ । जसको अर्थ भाइरस भएको वातावरणमा हामी जति लामो समय रहन्छौँ बिरामी हुने खतरा पनि उत्तिकै बढ्दै जानेछ ।

इम्युनोलोजिस्ट एवम् बायोलोजीका प्रोफेसर एरिन बोर्मेजले यसअघि कोरोनाको जोखिम कम गर्ने तरिकाहरुबारे आफ्नो ब्लगमा व्याख्या गर्दैगर्दा यो विषय पनि चर्चामा आएको थियो । उनले यससम्बन्धी लेखेको ब्लग पोस्ट समाचार तयार पार्दासम्म १ करोड ५० लाख भन्दा धेरैपटक पढिएको छ ।
यसमा कुनै पनि व्यक्ति भाइरल पार्टिकलको कति मात्रासँग सम्पर्कमा आउँछ भन्ने कुरा पनि संक्रमणको जोखिमसित जोडिएको बताइएको छ ।

जस्तै संक्रमित मान्छेले हाच्छ्युँ गर्दा वा खोक्दा धेरै सङ्ख्यामा भाइरल पार्टिकलहरु हावामा फैलन्छन् तर त्यही व्यक्ति केबल बोलिरहँदा र सामान्य रुपमा सास फेर्दासमेत केही भाइरस हावामा आइसकेका हुन्छन् । यस्तोमा थोरै मात्रामा भाइरल पार्टिकलसँग कुनै बन्द कोठामा लामो समय सम्पर्कमा आइरहँदा पनि उत्तिकै संक्रमणको जोखिम रहेको उनले बताएका हुन् ।

उनले भनेका छन्, “हामी त्यस्तो वातावरणमा जति धेरै मिनेट वा घण्टा बिताउछौँ त्यति नै भाइरस स्वासप्रस्वास मार्फत हामीभित्र गइरहेको हुन्छ र त्यति नै बढी शरीरभित्र आफूलाई स्थापित गराइ संक्रमण फैलाइरहेको हुन्छ ।

त्यसैले यो सधैँ भाइरससँग सम्पर्कमा आएको समयमा आधारित हुने गर्दछ । जस्तै उच्च स्तरमा भाइरससँग छोटो समय सम्पर्कमा आउँदा छिटै संक्रमित भइन्छ भने कम स्तरको भाइरससँग लामो समय सम्पर्कमा रहिरहेमा चाहिँ भाइरसलाई शरीरभित्र संक्रमण फैलाउनमा धेरै समय लाग्नेछ ।”

न्युयोर्कस्थित संक्रमक रोगका विशेषज्ञ डाक्टर केन्ट सेप्कोविजका अनुसार भाइरससँग सम्पर्कमा आएको ‘समय’ दादुरादेखि टीभी र कोभिड–१९ सम्म सबै किसिमका संक्रमक रोगमा लागू हुन्छ र अधिक महत्वपूर्ण मानिन्छ । वास्तवमा कन्ट्याक्ट ट्रेसिङ पनि यही सिद्धान्तमा आधारित रहँदै आएको छ जसमा संक्रमितसँग अर्को व्यक्तिले कति समय बिताएको छ त्यही हिसाबले उसको खोजी गर्ने प्रयास गरिन्छ ।

यसकारण पनि मान्छेले छोटो समय सपिङ गएर आउनुको तुलनात्मक रुपमा कम जोखिम हुन सक्छ तर त्यही स्टोरमा आठ घण्टा लगातार काम गरिरहेका कामदारहरु भने बढी खतरामा हुन्छन् । बोर्मेजले भनेका छन्, “त्यो वातावरणमा भाइरस उपस्थित भएपनि यदि तपाईँले एकदम छोटो समय बिताउनुभयो भने तपाईँलाई संक्रमित गर्न त्यति समय पर्याप्त नहुन सक्छ ।

तर त्यही कम डोजको भाइरस दिनभर सो वातावरणमा काम गरिरहेका कर्मचारीका लागि चाहिँ खतरनाक साबित हुन्छ । किनकी किटाणु थोरै भएपनि त्यसले संक्रमण फैलाउन धेरै समय पाउनेछ । ”

पछिल्ला केही महिनाहरुमा कोभिड–१९ सम्बन्धी गरिएका विभिन्न अनुसन्धानहरुले पनि यस किसिमको जोखिमबारे कुरा उठाएको छ । जस्तै वासिङटनको संगीत अभ्यासमा, चीनको एक रेस्टुरेन्टमा र दक्षिण कोरियाको एक फिटनेस स्टुडियोमा बन्द कोठामा लामो समय बिताउनाले फैलिएको संक्रमणको घटनाले यो कुरा स्पष्ट पारिदिएको छ ।

यसमा वासिङटनको संगीत अभ्यासमा सहभागी एक संक्रमित व्यक्तिले २ घण्टा बन्द कोठामा समय बिताउँदा उपस्थित ६१ मानिस मध्ये ५३ जना संक्रमित भएका थिए । त्यो अभ्यासको समयमा कसैले कसैलाई छोएको थिएन र कुसीहरु पनि टाढा टाढा राखिएको थियो ।

यसैगरी गत जनवरीमा चीनको ग्वाङजाउस्थित एक रेस्टुरेन्टमा पनि एक ग्राहकले एक घण्टा खाना खान बस्दा आफूसँगैको टेबलमा बसेका चारजना, नजिकैको अर्को टेबलका तीन जना र अर्को टेबलका दुईजनालाई संक्रमित गराएका थिए । यता दक्षिण कोरियामा भने चार घण्टा चल्ने फिटनेस सेन्टरबाट १०० जना बढीमा संक्रमण फैलिएको थियो ।

तर मान्छे र भाइरसबीच एक्सपेरिमेन्ट गर्न नसकिने हुँदा यस सम्बन्धी डाटाहरु पनि सिमित भएको हुँद कति समयमा संक्रमण हुन्छ भन्ने निश्चित बताउन चाहिँ कठिन रहेको बताइएको छ । सेप्कोविजका अनुसार छोटो सम्पर्क तुलनात्मक रुपमा सुरक्षित हुन सक्छ तर कति समय छोटो र कतिलाई धेरै मान्न सकिन्छ भन्नेको निश्चित नियम छैन ।

त्यसैगरी यो कुरा मान्छेको उमेर, स्वास्थ्य, प्रतिरोघात्मक क्षमतासँग पनि सम्बन्धित भएको बताइएको छ जसमा कमजोरहरु छोटो समय र थोरै भाइरससँगको सम्पर्कबाट पनि बिरामी पर्न सक्ने बताइएको छ । – सीएनएनबाट

प्रकाशित मिति : ११ जेष्ठ २०७७ आइतबार ००:००  ६ : १० बजे