१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

‘कपिलवस्तुलाई सन्देश’



देवेन्द्र पौडेल ।

कपिलवस्तु निवासी मेरा प्रियजनहरु

देशभरिमा सबैभन्दा बढी कोरोना कहरको प्रताडना बोकेर प्रतिकूलताको तातो हावामा गुज्रिरहेको अवस्थाले म पनि असाध्यै दुखी र मर्माहत भएको छु । तपाईँहरुको सामीप्यताबाट भौतिक रुपमा केही पर रहे पनि मन भने तपाईँहरुसँगै छ र भतभती पोलिरहेको छ । तपाईँहरुका पीडा र कहरका एक–एक खबरहरु स्थानीय पत्रकार, साथीभाई, स्वास्थ्यकर्मी र मायादेवी अनलाइनबाट लिइरहेको हुन्छु ।

अहिले देशैभरि दुई हजार बढी नेपालीहरु कोरोना भाइरसको संक्रमणमा परेका छन् र बच्चा, सुत्केरी, युवा र वृद्ध आठ जनाले त रोग जान्नै नपाएर ज्यानसमेत गुमाइ सकेका छन् । यो तथ्यांकमा प्रदेश ५ को पीडा अगाडि छ र जिल्लागत दृष्टिले कपिलवस्तु नै बढी प्रताडीत देखिन्छ । कोरोनाले सिर्जना गरेको त्रास र पीडा कति छ भन्ने कुरा सायद मैले शब्दमा व्यक्त गर्न सक्दिन होला । यसैमाथि छरछिमेकीका अपमान र अर्घेल्याइँले तपाईँहरुको चोटको गहिराई मापन गर्न जो कोहीलाई पनि हम्मेहम्मे पर्दछ ।

आजको यो कोरोना संकटले निम्त्याएको समस्या र अवस्थाले गर्दा मैले मेरो गृह जिल्लाको भयावहतालाई टाढैबाट भए पनि बुझिरहेकोे छु । समाजका भुइँमान्छेका कथा र व्यथाहरुको एउटा ठुलो महाकाव्य बन्ने रहेछ मेरा जिल्लावासी प्रियजनहरुको । एउटा ठुलो विश्वविद्यालय बन्ने रहेछ, रोग, भोक र शोकको । साथै मैले मेरो जिल्लाको आर्थिक, समाजिक तस्वीर र सदभाव, सहयोग, मेलमिलापको जीवन्त चित्र पनि नियालि रहेको छु । मलाई बेखबर बस्ने पराइ नसम्झनु होला ।

देशमा रोजीरोटी नपाएर परदेशिएका गोडाहरु विपतमा आज आफ्नो छानो खोज्दै गाउँ फर्केका छन् । कैयौँ दिन रातबिरात नभनी, भोकै हिंडेर, सीमामा अल्झिँदै देशको संरक्षण र माया पाइएला भनी स्वदेश फर्किएका तपाईँहरुलाई राज्यले पनि निम्छरो व्यवहार गरिरहँदा असाध्यै चोट पर्नु स्वाभाविक हो । यस्तो बेला केन्द्रमा बसेर तपाईँहरुका पीडा र दुखहरु टुलुटुलु हेर्न र सुन्नबाहेक मैले पनि केही गर्न सकेको छैन । राज्यका सेवा र सुविधाबाट सधैँ बञ्चित रहे पनि छाना, नाना र मानाका निम्ति माटो र श्रमसँग पसिना साट्दै स्वदेश र विदेशमा हाडछाला घोँट्ने यहाँहरुको जीवनलाई म उच्च सम्मान गर्दछु ।

आज मैले कपिलवस्तुप्रति श्रद्धा प्रकट गर्दै लेखिरहँदा आञ्चलिक र साम्प्रदायिक भावनाले पे्ररित भएछ भनेर कसैले सोंच्लान् । मेरा यी भावनाहरु त्यस किसिमको संकीर्ण सोंचमा सीमित छैनन् र संकीर्णता एवम् साम्प्रदायिकतामा मैले विश्वास पनि गर्दिन । जे भए पनि आफु जन्मिएको, तातेताते गर्दै हिंडेको र फूलजस्तै फक्रिएर ठुलो भएको ठाउँप्रति असीम श्रद्धा उम्लेर आउँदो रहेछ । बुद्धभूमि, शुद्धोधन, यशोधरा, शिवराज, विजयनगर, कृष्णनगर, वाणगंगा, महाराजगञ्ज, मायादेवी र कपिलवस्तु मेरा प्रिय ठाउँका नामैले मनमा अथाह आनन्द र शान्तिको सञ्चार गरिरहेका हुन्छन् । यस किसिमको धार्मिक, सांस्कृतिक र पुरातात्विक स्थलहरुको मीठो संयोग पाउने तपाईँ हामी भाग्यमानी नै हौँ तर भाग्य निर्माण गरिदिने अभियन्ताहरु नै कमजोर, अल्छी र बेइमान भएपछि कसको के लाग्दो रहेछ र ? विश्वमा शान्तिको सन्देश प्रवाह गर्ने बुद्धका आदर्शहरु आज असरल्ल छरिएका छन्, कपिलवस्तुको माटोभरि । यद्यपि विकास र समृद्धिका प्रचूर सम्भावनाहरु म्रिसकेका भने छैनन् । कालो बादलभित्र पनि चाँदीको घेरा हुन्छ, यही आशा र विश्वासका साथ हामीले आफ्नो कर्तव्य निर्वाह गर्दै जानु पर्दछ ।

तिलौराकोट, निग्लिहवा, लम्बु सागर, विश्व सिमसार क्षेत्र जगदीशपुर ताल, श्रृंगीघाट, कुदान, गोटिहवा लगायतका महत्वपूर्ण स्थलहरुको संगम हो कपिलवस्तु । यी ठाउँहरुले मलाई सपनामा पनि बोलाइ रहेका हुन्छन् । अझ त्यसमा पनि

जन्मिएको धर्ती ठुलो जन्मिएको गाउँ
जे गरेर हुन्छ राम्रो बनाउन पाऊँ

भन्ने काव्यिक भावनाले यो मन सधै भरिएको हुन्छ । त्यसो त सिंगै देश मेरै हो । छातीमा पहाड र शिरमा हिमाल बोकेर तराईका सुरम्य फाँटमा रमाउन चाहने मान्छे म । मलाई बुद्धको प्राचीन दरबार तिलौराकोटको जति माया छ, त्यति माया लिपु लेक, लिम्पियाधुरा र कञ्चनजंघाको पनि छ । त्यसैले सिंगै देशलाई चिनाउने आधार कपिलवस्तुप्रतिको सदभावलाई यही रुपमा बुझिदिनुहुन सबैमा अनुरोध गर्दछु ।

मेरा प्रियजनहरु

पर्याप्त समय हुँदाहुँदै पनि संकटको पूर्वतयारी गर्न राज्यले नसकेकै हो । यही अलमलले गर्दा आज देशभरिको अवस्था झनझन बिग्रदै गएको छ । अभाव र अप्mठ्यारोका बीच आधा महिनाभन्दा बढी नाममात्रका क्वारेन्टिनमा बसिरहँदा तपाईँहरुले कति सकस भोग्दै हुनुहुन्छ, दुख त भोग्नेलाई मात्रै थाहा हुन्छ । स्थानीय तहले आप्mनो साधन र स्रोतले भरथेग त गर्न खोजेको छ तर पनि स्थिति अत्यासलाग्दो बन्दैछ भन्ने खबर सुन्दैछु । पिसिआर परीक्षणका लागि केन्द्रको मुख ताक्दाताक्दा नपाएपछि आपैmँले पैसा जुटाएर किट किनेको खबर पनि सुनेको छु । तपाईँहरुको यस किसिमको साहस र आत्मबलप्रति उच्च श्रद्धा प्रकट गर्दछु ।

हालै एउटा पत्रिकामा कपिलवस्तुको अभावग्रस्त क्वारेन्टिनको तस्वीर हेरेको मात्रै होइन, पढेको थिएँ । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले वर्णन गर्दछ ।क्वारेन्टिन नै संक्रमण बिस्तारका घातक स्थल बन्दैछन् । त्यो कपिलवस्तुको मात्रै होइन, सिंगो देशको नाजुक अवस्थाको प्रतिबिम्बन हो । देश हेर्ने ऐना हो । शासकहरुको निरीह र निर्लज्ज तस्वीर हो । यही बेला यो देशका उच्च शासकहरु आप्mना दरबारमा करोडका गलैँचा, पर्दा र कार्पेट फेर्दैछन् । मन्त्रीहरुका लागि जिमखाना बनाउँदैछन् । जनता परीक्षण किटको अभावमा अत्यासिएका छन् । नदेख्ने, नसुन्ने कस्तो संयन्त्र निर्माण गरेछौँ हामीले । यस्तो देख्दा जलन र औडाहा हुन्छ । भएर के गर्नु, साह्रै विरोध गरिरहँदा पनि समाजवाद विरोधी र सुखी नेपाली ः समृद्ध नेपालको बाधक भन्ने डर छ ।

महामारीमा ओखती बन्न नसक्ने निरीह राज्यसंयन्त्र, किसानले दुख गरी उत्पादन गरेको तरकारीबाट भयभित बनेर मिल्काउने स्थानीय प्रशासन र राजनीतिज्ञका व्यवहार र कोरोना कहर बीच भएका अप्रत्यासित आगलागीका दुखद खबरले पक्कै आत्तिनु भएको होला । यस्तो विषम् र प्रतिकूल अवस्थामा पनि यहाँहरु लिपु लेक, लिम्पियाधुरा हाम्रै हो भन्दै राष्टियता र स्वाभिमानका प्लेकार्ड बोकेर भौतिक दुरीसहित तातो सडकमा उभिएको देख्दा, रुकुमको बर्बर घटनामा अपराधीलाई सजाय देऊ भन्दै सामाजिक न्यायका पक्षमा बोलिरहँदा अनि केही पहिले भोका पेटका लस्करहरुलाई उदार मनले खाजाखानाको प्रबन्ध गरी गन्तव्यसम्म पुराउन सहयोग गर्ने मेरा कपिलवस्तुनिवासी प्रियजनहरुका कर्म देख्दा खुसीले यो मन पुलकित हुने गर्दछ ।

कपिलवस्तु निवासी प्रियजनहरु,

जीवनमा हिमालहरु हुन्छन् । हिमालमा जीवनहरु हुन्छन्, जसरी हिमालमा हिउँ पर्छ, तुफान चल्छ, जीवनको हिमालमा पनि संकट र महाविपत्तिहरु आउन सक्छन् । जीवनको चुली चढ्न सजिलो कहाँ छ र ? यो तपाईँहरुले नै मलाई बाल्यकालमै सिकाएको कुरा हो । त्यसैले विश्व समुदायमाथि नै परिरहेको यो महासंकटको घडीमा धैर्य नगुमाउनु होला है । सचेत रहनु होला । भारतबाट आउने नेपाली दाजुभाइलाईसुरक्षित किसिमले राख्नुहोला, त्यसरी आउने दाजुभाइ आफै पनि सुरक्षित भइदिनु होला । केही हुँदैन भन्दै हेलचेक्राइँ नगरीदिनु है । केही समय पाहुना हुन नजानु होला र पाहुना पनि नबोलाउनु होला । सीमापारिका शासक पनि त्यस्तै छन्, अफ्ठ्यारोमा झन दुख दिने र आँठो मिच्ने बानी छ । सीमानाका दाजुभाइ झन होसियार रहनु होला । खेतीपातीको बेला सुरु भयो, सुरक्षित भएर काम गर्नु हुनेछ भन्ने विश्वास छ । थाहा पाउनु भो नि, रोग लागेपछि कस्तो व्यवहार गरिन्छ र मरेपछि कसले कहाँ लगेर गाड्छ, थाहै पाइदैँन । गुल्मीका शिक्षककलाई कस्तो व्यहार गरिएको थियो ? तपाईँहरुले जान्नु भएकै छ ।

त्यसैले, तपाईँ हामी त बुद्धका गाउँका मान्छे हौँ । हाम्रो आत्मविश्वास, शान्ति र धैर्यले महामारीलाई जित्नु छ र सिंगै देशभरि यस्तै सकारात्मक भावनाको सञ्चार गर्नुछ । जिल्लावासी सम्पूर्ण बुबाआमा, दाजुभाई, दिदीबहिनी सबैलाई सम्झेको छु । यसपालिको बैशाख जेठमा थाकल, कुसुम, प्यार खान आउने मन थियो, यो उखुरमाउलो गर्मीमा बाल्यकालमा गहिरो मित्रता गाँसेको वाणगंगा नदीमा डुबुल्की मार्ने रहर थियो । अहिलेलाई यस्तै भयो, सबै कुरा राम्रो हँुदै गएछ भने केही पछि जामुन र फँडेर खान आउने नै छु । तपाईँहरुले मलाई गर्ने माया सम्झिरहेको छु । झालको काँक्रो टिपेर हरियो खुर्सानी, नुन र धनियाँ पिसेर, कहिले ठेकी भरि बाक्लो मही ल्याएरआप्mनै छोरो सम्झी दिनुहुन्थ्यो ।

लौ त, भन्ने र सम्झिने कुरा त कति छन् कति । अर्को पत्र वा भेटमा गरौँला । मेरा कुरा राम्रोसँग मनन गरिदिनु होला । सानो मुखले ठुला कुरा ग¥यो नभन्नू है । जहाँ भए पनि भावनात्मक रुपले म तपाईँहरुसँगै छु, र तपाईँहरुसँगै रहिरहने छु । उही तपाईँको टाकुरे कान्छो ।

लेखक पौडेल मायादेवी अनलाइनका नियमित स्तम्भकार हुनुहुन्छ । हाल उहाँ काठमाडौँमा बसेर अध्यापन गराउनुहुन्छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७ बुधबार ००:००  ८ : २२ बजे