४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

सरकारको बेसार : कोरोनाको उपचार



देवेन्द्र पौडेल ।
हाम्रा प्रधानमन्त्रीले संसदमा भैँसी व्यापारीको कथा सुनाउनु भयो । व्यापारीले ग्राहकलाई भन्दै थियो, भैँसीको कल्चौँडो नहेर्नुस्, दुध कति दिन्छ, घिउ कति लाग्छ, त्यो केही पनि नसोध्नुस् । सिंग हेर्नुस् कति राम्रा र चिल्ला छन् । तेल घसेका सिंग देखाउँदै व्यापारीले भनेछ । कथा रोचक थियो । खुसी पनि लाग्यो, उहाँको साहित्यिक र भाषिक प्रगति देखेर । पहिलेपहिले उखान टुक्का, त्यसपछि गीत, कविता हुँदै कथा यात्रामा फड्को मार्दै हुनुहुन्छ । म पनि भाषा र साहित्यको विद्यार्थी हुँ । मसँग कुनै मानार्थ विद्यावारिधि त छैन । त्रिभुवन विश्व विद्यालयबाट दुख र मिहिनेत गरी प्राप्त गरेका दुई वटा मास्टर डिग्री प्रमाणपत्रका खोस्टा मात्र छन् । उहाँको कथा ध्यानपूर्वक सुने ।

कथा सुनि सकेपछि प्रधानमन्त्रीले चलाख भैँसी व्यापारी भनेर कसलाई भन्नुभएको होला ? मैले बुझ्नै सकिन । पिसिआर परीक्षणमा भएको सुस्तता, आरडिटीको विश्वसनीयता र क्वारेन्टिनको अवस्थाका बारेमा सांसदहरुबाट प्रधानमन्त्रीलाई सोधिएको प्रश्नको सन्दर्भमा भैँसी व्यापारीको कथा आएको थियो । प्रधानमन्त्रीले सरकारप्रति आलोचनात्मक चेत राख्ने जोकोहीलाई व्यापारी भन्नुभएको वा सरकारलाई नै ? मैले आजसम्म व्यापारी शब्दको अर्थ नै नबुझेजस्तो लाग्यो र शब्दकोश पल्टाएर हेरेँ, त्यहाँ कुनैै लाभका लागि वस्तु तथा सामानको किनबेच वा धन्दामा लाग्ने व्यक्तिलाई व्यापारी भनिएको थियो । व्यापार भनेको नाफासहितको किनबेच मात्र होइन रहेछ, धन्दा पनि रहेछ । मैले नयाँ कुरा थाहा पाएँ । सरकारका कामको साढे दुई वर्षलाई फर्केर हेर्दा लाभद्वारा निर्देशित अदृश्य धन्दा जस्तै लाग्यो । वाइड बोडी, तेत्तीस किलो सुन, सेक्युरिटी प्रिन्टिङ प्रेसका कति कुरा गरिरहनु, बालुवाटार जग्गा, ओम्नीसँगको लगनगाँठो र एमसिसीबारे कति भनिरहनु । अहिले विदेशमा अलपत्र नेपालीलाई फिर्ता ल्याउने प्रयासमा पनि महंगो भाडादर निर्धारण गरिएको कुरा सार्वजनिक हुँदैछन् । १० अर्बका सन्दर्भहरु बाहिरिएका छन् । साँच्चै व्यापार र धन्दा त सरकारले गर्दै आइरहेको हो कि ? प्रशस्त आशंकाहरु उब्जाउने काम स्वयम् सरकारले नै गरिरहेको छ ।

व्यापारमा मात्रै होइन, काम र जिम्मेवारीमा सरकार जहीँतहीँ चुकेको छ । निर्मला काण्डमा अपराधी पत्ता लाउन नसकेर, यातायात सिन्डिकेट तोड्न नसकेर, गुठी विधेयक, पार्टी फुटाउने अध्यादेश सबै ठाउँमा सरकार चुकेको छ । कोरोना महामारीमा त झन कुरै नगरौँ, स्वास्थ्यमन्त्रीको कान छैन, प्रधानमन्त्रीको ज्ञान छैन भनेर संसारले भन्न थालिसक्यो । प्रधानमन्त्रीको कुरा मान्ने हो भने धान रोप्न छोडेर हलेदो खेती गर्नुपर्ने भो । कुरा त राम्रै हो, सरकारले किसानलाई धान खेतीका लागि मलबिऊ दिनसकेको छैन् । हलेदो लगाए मल पनि नचाहिने । आजसम्म नभएको पीताम्बर कृषिक्रान्ति पनि हुने ।

तर चुकेपछि झुक्न जान्नुपर्छ । लहड र भावनामा डुबेर देश हाँकिन्न । दुईचार किलोमिटर बाटो बनाएँ भनेर, दुईचारवटा पुल बनाएँ भनेर सरकारले बहादुरी गर्न मिल्दैन । जनताका दुखसँग भिज्न सक्नुपर्छ सरकार । आजसम्म कुनै उदाहरणीय काम गरेको छ र सरकारले ? सधैँ विवादित काम र तिरस्कृत व्यवहार सरकारी उपहार भएका छन् । रेल कम्पनीको महाप्रबन्धक नियुक्तिको समाचार सुन्दा नसुन्दै सामाजिक सञ्जालमा उनले अरुप्रति प्रयोग गर्ने भाषा र शैलीको कुरा पनि आयो । मोबाइल हेर्दै थिएँ, मेरी ६ वर्षकी छोरी पनि पढेर लज्जित भइन् । प्रधानमन्त्रीले अरुलाई आदर र सत्कारको भाषा तपाईँ, हजुर प्रयोग गर्न सिकाउनु हुन्छ तर अश्लील भाषाको खेती गर्नेलाई आफ्नो सपनाको सारथि बनाउनु हुन्छ । यस्तै यस्तै गतिविधिले कसैले चलाउन, हल्लाउन नसक्ने अवस्थाको सरकार दिनप्रतिदिन पाइलैपिच्छे स्खलित हुँदै गएको छ । यस्तो अवस्थामा दोष अरुलाई थोपरेर सरकार पानीमाथिको ओभानो बन्ने दुस्प्रयासमा लागेको छ । सरकार आफैँ भैँसी व्यापारी भएको छ । यो मेरो मात्र होइन, नेपाली जनताको बुझाइ पनि हो । २०७४ को निर्वाचनमा घाममा भोट हालेका नेपाली जनतालाई अहिले त्यही घामले पोल्दैछ ।

केही वर्ष पहिले मैले स्याङ्जामा त्यहाँको स्थानीय भाषा र लोक संस्कृतिबारे अध्ययन गरेको थिएँ । एकजना बुबाले सेतो भैँसी खोइले सिंग, चनौटे कल्चौँडो किर्ने थुन, यस्तो भैँसी किन्दै नकिन्, किनेमा लाग्छ रिन” भन्ने एउटा भैँसीसम्बन्धी उखान सुनाउनु भएको थियो । अहिलेको सरकार पनि यस्तै चिल्ला सिंगको कुरा गर्ने खोइले सिंग भएको भैँसीजस्तै लागेको छ । अझ भनौँ सेतो भैँसी होइन, सेतो हात्तीझैँ लागेको छ । सेतो हात्तीलाई जति खाए पनि पुग्दैन रे । काँस पनि खान्छ, घाँस पनि खान्छ तर अघाउँदैन रे । बेलानकुबेला खानमात्र खोजिरहन्छ रे ।

दुईतिहाईको कल्चौँडोबाट आजसम्म जनताले ओलन भिजाउने एक मुठी दुध पनि पाउन सकेका छैनन् । सरकारले स्वदेशी दुधजन्य पदार्थको व्यापार गर्न सकेको छैन तर विदेशी चकलेटको भन्सार घटाउँछ । वातावरणमैत्री विजुली गाडीको भन्सार बढाउँछ । सरकारले जनताको मन जित्ने काम खै त गरेको ? सर्वत्र मन दुखाउने काम मात्र गरेको छ । यसैको प्रतिक्रिया स्वरुप रोग ठुलो कि भोक ठुलो भन्दै हजारौँ युवाहरु सडकमा देखिन थालेका छन् । सरकार आफ्नै कारणले सिंहदरबार र बालुवाटारको खोरमा थुनिँदै गएको छ । एक्लिँदै गएको छ । जनताको आलोचनालाई स्वीकार गर्न नसक्ने, आफ्ना व्यवहार र स्वभावलाई परिवर्तन गर्न नसक्ने डरलाग्दो प्रवृत्ति सरकारमा हावी हुँदै गएको छ । यिनै कुरालाई छायाँमा पार्न कोरोनामा राजनीति भयो भन्छ । सरकार, राष्ट्रवादका कुरा गरेर महामारी उम्कदैन, भोको पेट भरिन्न् ।

सरकार यस्तो भएको छ कि समयलाई बुझ्न सक्दैन, रिसलाई रोक्न सक्दैन, पीडालाई भोग्न जान्दैन र गल्तीलाई गल्ती नै मान्दैन् । सरकारमा आजको दिन हिंजोको दिन भन्दा पनि राम्रो होस् भन्ने विश्वास हुनुपथ्र्यो तर आजसम्म पनि पुरानै वृत्ति, पुरानै प्रवृत्ति दोहोराएको छ र गरिमामय संसदमा भैँसी व्यापारीका कथा सुनाएर बसेको छ ।

यसै सन्दर्भमा सरकारको भैँसी व्यापारीको कथाको जवाफ कथाले नै दिन चाहन्छु । सरकारको प्रवृत्ति झल्काउने कथा यस्तो छ, एकपटक एउटा बाघ बाख्राको खोरमा थुनिएछ । उसले बाहिर निस्कन केही उपाय भेटेन । त्यसपछि बाटोमा हिंड्ने सबैलाई ढोका खोलिदिन अनुरोध गरेछ तर बाघको डरले कसैले ढोका खोलिदिएनछन् । एउटा बुढो मान्छेलाई बाघप्रति दया जागेछ । बुढालाई केही नगर्ने कसम खाएपछि ढोका खोलिदिएछन् । बाघ न हो, आफ्नो हिंस्रक प्रवृत्ति देखाउन थालिहालेछ । दुबैका बीच विवाद पो हुन थाल्यो । यो विवाद अर्को खोरमा रहेको बाख्राले सुनिरहेको थियो । बुढालाई बचाउने जुक्ति लगाउँदै भन्यो, हेर बाघ, बाख्रामात्रै अटाउने यति सानो खोरमा तिमी अटाउनै सक्दैनौ । बुढाले झुठो बोलेको हुनुपर्छ । यदि तिम्रो कुरा सत्य हो भने एकपटक पसेर हेर त । बाघ खोरमा पस्यो । त्यसैबेला बाख्राले खोर बन्द गर्दै बुढा मान्छेलाई भन्यो, हेर्नुस् तपाईँले गल्ती गर्नु भो । कसैको स्वभाव परिवर्तन गराउन सजिलो छैन, त्यसैले तपाईँले बाघको कुरामा झट्टै विश्वास गरिहाल्न हुँदैनथ्यो ।

सरकारले अहिले त्यही बाघको प्रवृत्ति देखाएको छ । सुखी नेपाली : समृद्ध नेपालको कुरामा कसम खाएको देखेर नेपाली जनताले पनि विश्वास गरिहाले र दुईतिहाई दिए । तर सरकारले आफ्नो प्रवृत्ति देखाउँदै गयो । यसैकारण जनताको मन मुटुमा बस्नुपर्ने सरकार खोरमा थुनिए झै भएको छ । मैले भर्खर भनेको भन्दै दम्भ र अहंकारसहित वैज्ञानिक तथ्यविनाका कुरा गर्दै बसेको छ । यो त नेपाली जनतामाथिको घोर अपमान हो । कर उठाउन मरिहत्ते गर्ने सरकार जनतासँग दुखमा जोडिन सकेको खै त ? महाविपत्तिमा जनतालाई आशा देखाउन सकेको खै त ? यसैको प्रतिफल देश कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा हुने अवस्था सिर्जना भएको छ । लसुन, बेसार, जिरा, मेथी खाने भएर हो कि सरकारको इम्युनिटी यति बलियो भएको छ कि उसले करोडौँ रुपैँया मज्जाले पचाइदिन सक्छ । इम्युनिटी बलियो भएपछि कोरोना मात्रै हैन, लाज, नैतिकता, जवाफदेहिता र इमानदारिता जस्ता कुराहरु पनि पचाएको छ ।

जनता त्यही बेसार पनि किन्न नसक्ने अवस्थामा पुगेका छन् । सरकारलाई थाहै छैन् । बिस्तार गर्नुपर्ने पीसीआर नियन्त्रण गर्न खोज्छ, नियन्त्रण गर्नुपर्ने आरडिटी बिस्तार गर्छ । समय कुसमय कार्पेट र गलैँचाको खेती गर्छ । जवाफ दिनुपर्ने प्रश्नको जवाफ दिँदैन, क्वारेन्टिनको अवस्था बेहाल छ । पीसीआर परिक्षण विनाको लामो र पट्यारलाग्दो बसाइमा सर्प र लामखुट्टेको डसाइमा छन् जनताहरु, परीक्षणको रिपोट आउँदा मान्छे मरिसकेका हुन्छन् । कोरोनाले भन्नु परेर मात्रै हो, कोरोनाका कारण मान्छे मरेकै होइन भन्छ, तैपनि परिबारलाई थाहै नदिई सुटुक्क चिहान खन्छ । बालुवाटारमा बसेर मृतक र संक्रमित गन्छ । फेरि पनि बेसार खान भन्छ । लसुन र बेसारले कोरोना उन्मुलन हुनेभए यति लामो लकडाउन किन ? सरकार, भाइरस आँखाबाट छिर्छ, आँखामा पट्टी बाँधिदेऊ । मुखबाट छिर्छ, ठोसो कोचिदेऊ । नाकै त बन्द नगर, फेरि को माथि शासन गरौला ? बाँकी रहेको कान त सरकारका कथा सुन्नलाई चाहियो नि । अब सरकारबाट अर्को एउटा कविताको अपेक्षा गरेका छन् जनताले :

प्रिय बेसार
भान्सा सजाउने पनि तिमी नै हौ
कोरोना भगाउने पनि तिमी नै हौ
तिम्रो पर्खाइमा आज तीन महिना बिताएको छु
तिमीलाई नै सर्वेश्वर चिताएको छु
तिमीप्रति सबैको विश्वासलाई जगाउन
यो देशबाट भाइरसलाई भगाउन
दश अर्ब चढाइ सकेको छु
जनतालाई पटकपटक पढाइ सकेको छु
आरडिटीले त रोग छाम्नै सकेन
पिसिआरको भारी थाम्नै सकिन
तिमीले साथ दियौ भने
अब आँसु खसाउनै पर्दैन
अनि सरकार छाड्नै पर्दैन ।

जाँदाजाँदै एउटा काममा बधाई दिनैपर्छ सरकारलाई अनि नेपाली जनतालाई, नेपालको गुमेको नक्सामा फिर्ता गरी पास गरेको छ । अब गुमेको भूमि व्यवहारिक रुपमा यथासक्य चाँडो नेपालीले भोगचलन गर्न पाऊन् अनि संसदमा कुरा उठेजस्तै महाकाली सन्धिको पनि पुनरावलोकन गरोस् ।

प्रकाशित मिति : ४ असार २०७७ बिहिबार ००:००  ६ : २४ बजे