काठमाडौँ ।
उपत्यका मेयर्स फोरमले केन्द्र सरकारले आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको अधिकार कुण्ठित गरेको बताएको छ ।
फोरमको ललितपुरस्थित महालक्ष्मी नगरपालिकामा बसेको बैठकले सरकारले संविधानविपरीत निर्णय गरेको निष्कर्ष निकालेको हो । बैठकले संघीय सरकारसँग आइतबार विद्यालय बन्द गर्ने निर्णय फिर्ता लिन माग गरेको छ ।
मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानुनी अधिकार कुण्ठित भएको बताए । सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले आवश्यक परे कानुनी प्रक्रियामा जाने चेतावनीसमेत दिए ।
सरकारले अप्रत्याशित रूपमा आइतबार बिदा दिने निर्णय गर्दा अध्ययन–अध्यापन प्रभावित हुने अवस्था सिर्जना भएको उनको भनाइ छ ।
‘शिक्षा ऐनमा २२० दिन विद्यालय खोल्नुपर्छ भन्ने छ । सोहीबमोजिम सबै विद्यालयहरूले आफ्नो क्यालेन्डर बनाइसकेका छन्, अप्रत्याशित रूपमा नेपाल सरकारको तर्फबाट आइतबार पनि बिदा गर्ने भनेपछि त अध्ययन अध्यापन लगभग १९० दिन पनि नहुने भयो,’ मेयर महर्जनले भने ।
काठमाडौं भ्याली मेयर्स फोरमको फुल फ्लेज बैठकबाट निर्णय गरेर अगाडि बढिने पनि उनको भनाइ छ ।
बैठकले स्थानीय तहअन्तर्गत रहेका भवनहरूको स्वामित्व व्यवस्थापन स्थानिय तहलाई दिन पनि सरकारसँग माग गरेको छ । वडा कार्यालय, अस्पताल तथा समाज कल्याणसँग सम्बन्धित भवनहरूको स्वामित्व स्थानीय तहलाई हस्तान्तरण बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको मेयर महर्जनले जानकारी दिए ।







प्रतिक्रिया