५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पैसा नभई नभई ‘वाइफाई’ जोड्न बाध्य अभिभावक, भिडिओ कक्षाले नतिजा देला ?



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर–७ बनगाइकी लक्ष्मी विष्टको घरमा अस्तिसम्म वाइफाई (इन्टरनेट) थिएन । अहिले उहाँकोे घरमा वाइफाई छ । घरमा वाइफाई जोडेको २ दिन मात्र भयो । उहाँसंगै ओल्तिर पल्तिरका ३ घरले एकैपटक २ दिन अघि वाइफाई जोड्नु भएको छ । त्यसै बस्तिमा केही दिनअघि नै धेरेले वाइफाई जोड्नु भएको विष्ट बताउनु हुन्छ ।

लक्ष्मी विष्टका २ छोरा छन् । श्रीमान् भारतमा काम गरेर जहान परिवार पाल्नु हुन्छ । सानो छोरो रवि विष्ट सरकारी विद्यालयमा कक्षा ९ मा पढ्छन् । ठुलो छोरा प्रकाश विष्ट कक्षा ११ मा पढ्छन् । त्यसैले उहाँको घरमा अहिले वाइफाई जोड्न जरुरी छैन । तर, विद्यालयले अनलाइन कक्षा संचालन गर्ने भनेर रुटिन पठाएपछि बाध्य भएर उहाँले सकि नसकि घरमा वाइफाई जोड्नु भएको छ । कोरोनाको कारण गत चैत्रबाट विद्यालयमा पठन पाठन हुन नसक्दा सरकारले पठनपाठनको वैकल्पिक मार्गको रुपमा दुर शिक्षा र अनलाइन शिक्षा ल्याएपछि विष्टजस्तै देशभरका हरेक अभिभावकलाई वाइफाई नजोडि भएको छैन् ।

वाइफाई जोडेपछि विष्टलाई छोराहरु बन्ने भन्दा पनि बिग्रने डर ज्यादा भइसकेको छ । कक्षा ९ मा पढ्ने रवि विष्ट सधैँ टप थ्री मा आउने छोरा हुन्, भने ११ का प्रकाश पनि सधैँ प्रथम हुने जेहेन्दार विद्यार्थी नै हुन् । तर, घरमा वाइफाई भएपछि छोराहरु किताबमाभन्दा बढी मोबाइलमा ब्यस्त देखिन थालेकाले लक्ष्मी विष्टको टाउँको दुख्न थालेको छ । विद्यालयले अनलाइन कक्षा पढाउने भनेर वाइफाई जोडेपछि छोराहरुले त्यो कक्षामाभन्दा पनि बढी ध्यान ‘गेम’ र युट्युभमा दिन थालेपछि टाउको दुखाई बनेको विष्टले बताउनु भयो ।

तर यो पढाइले विद्यार्थीले पढ्लान् र केही नयाँ सिक्लान् भन्ने उहाँलाई पटक्कै विश्वास छैन । उहाँले भन्नुभयो, ‘सरकार र विद्यालयले केही जानेरै यो अनलाइन, भिडिओ कक्षा ल्याएका होलान् तर मलाई त्यसले केही देला भन्ने लाग्दैन् ।’

स्वयम् ती दुईभाइले पनि यो कक्षाले केही सिक्न सकिने मान्दैनन् । उनीहरुले भने ”हामी प्रथम हुने विद्यार्थी हौँ । आमाले पढ् भनेर सिकाउन पनि पर्दैन । हामीलाई पनि पढ्नु पर्दछ भन्ने थाहा छ तर यो अनलाइन कक्षाको विश्वास लागेन ।” ९ कक्षामा पढ्ने रविले त यस कक्षाको कामै नभएको बताए । यस्ता कक्षामा भन्दा बरु तिनै गेम र युट्युवमा रमाइलो लाग्ने उनले बताए ।

यस्तै भर्खरै इन्टरनेट जोड्नु भएकी छवैकी अम्बिका विष्टलाई पनि छोरी बिग्रन्छे भन्ने डर लागिसकेको छ । अनलाइन पनि भन्न नजानेर बनलाइन भन्नुभएकी विष्टलाई त झन् बाइफाई भन्ने केही पनि थाहा छैन् । तर पनि विद्यालयल र आफ्नी छोरीको प्रेसरले उहाँले अहिले वाइफाई जोड्नु भएको छ । उहाँले भन्नुभयो ‘७ कक्षामा पढ्ने छोरी पनि २ दिनुभयो । मोबाइलमा झुण्डिएकी छे । मुख चुच्चो मात्र बनाएर टिकटक हो कि के बनाउँछे । पटक्कै पढ्दिन ।’ त्यो स्कुलको कक्षा कहिले आउँछ उसैलाई थाहा छैन् । के पढ्छे त्यसले ? थप्नुभयोे । उहाँले अनलाइन र भिडियो कक्षाबाहेकका समयमा पनि उनीहरु खान र कामधन्दा समेत छोडेरै मोबाइलमा झुण्डने गरेको बताउनु भयो ।

बनगाईका उहाँहरु केवल प्रतिनिधि पात्र मात्र हुनहुन्छ । उहाँहरुले जस्तै धेरै अभिभावकले बालबालिकाको पठनपाठनको लागि भन्दै अहिले धमाधम घरमा इन्टरनेट जडान गरिरहनु भएको छ । घरमा २ रुपैयाँ जोहो गर्न समस्या छ तर ती घरमा इन्टरनेट नभई भएको छैन । कोभिड १९ को कारण लगभग दशैँसम्म सरकारी र नीजि विद्यालय दुवै यो अवधारणमा शिक्षण गर्ने बताइरहेका छन् ।

यता अभिभावक भने विद्यालयमा महिनाको शुल्क पनि तिर्नु पर्ने र इन्टरनेटमा पनि खर्च हुने भएकाले दाहोरो मारमा परिने पो हो कि भनेर तर्सन्छन् । घरमा इन्टरनेट जडान गर्न कम्तिमा पनि ३ हजार देखि ५ हजारसम्म लाग्छ । यसको लागि १० एमबीपिएस क्षमताको इन्टरनेटमा पनि कम्पनी अनुसार मासिक १ हजार देखि १५ सय सम्ममा जोड्नु पर्ने अवस्था छ । यस हिसाबले पनि अभिभावक दोहोरो मारमा पर्ने निश्चित देखिन्छ ।

बाणगंगा १ का हरिकला न्यौपाने भन्नुहुन्छ ‘बोर्डिङले चैत्र महिनादेखिको मासिक शुल्क पनि लिने, इन्टरनेट पनि जडान गर्नु पर्ने, इन्टरनेटको लागि मासिक पैसा पनि तिरिरहनु पर्ने भइरह्यो भने हामीले कसरी थेग्ने ? अभिभावकहरुले यदी अनलाइन र टिभी कक्षाबाटै पढाउने हो भने अलि प्रभावकारी बनाउनु पर्ने बताउँछन् ।

अनलाइन, रेडियो, टेलिभिजन र भर्चुअल कक्षाबाट अपेक्षा गरे अनुसार सरकारले नतिजा हासिल हुन्छ भन्नेमा सरोकारवाला पनि विश्वास गर्दैनन् । यसको लागि घरमा अभिभावकले नै आ–आफ्ना बालबच्चालाई पढाइमा प्रेरित गर्नु पर्ने बताउँछन् ।

वैकल्पिक शिक्षाको रुपमा यस कक्षालाई लिए पनि शैक्षिक गुणस्तरमा अपेक्षाकृत नतिजा हासिल नहुने बताउँदै केही हदसम्म यो माध्यम ठिकै भएको शिक्षाका लागि राष्ट्रिय अभियानका प्रदेश ५ अध्यक्ष हरि अधिकारीको भनाई छ ।

कतिपय सरोकारवाला शिक्षा पद्धती परिवर्तन गर्ने बेला पनि यही भएको बताउँछन् । कोरोनाले अब घोक्ने, तीन घण्टामा लेख्ने शिक्षाको विद्यमान प्रणाली परिवर्तन गर्ने अवसर दिएको भन्दै शिक्षालाई सिपमूलक र ब्यावहारिक बनाउनु उनीहरुको तर्क छ । लामो समय शिक्षा पत्रकारितामा कलम चलाउँदै आउनु भएका बुटवलका कृष्ण मल्लले सिपमूलक र ब्यावहारिक शिक्षा प्रणाली भए मुलुकमा शिक्षक, विद्यार्थी र अभिभावकले यस्तो अवस्था झेल्नु पर्ने स्थिति नआउने बताउनु भयो । उहाँले विषम परिस्थितिमा सरकारले अपनाएको विकल्प सही भए पनि ब्यवस्थित नभएको तर्क गर्नुहुन्छ ।

विद्यालयमा नगएको लामो अवस्थामा घरमा विद्यार्थीलाई भुलाउनको लागि मात्रै यो पद्धती ल्याइएको हो भने यसले नतिजा दिन सक्दैन तर गुणस्तर कायम गर्न ल्याएको हो भने सबै रेडियो, टिभी, अनलाइन, भर्चुअल कक्षाको पहुँचमा छन् कि छैनन् सरकारले हेक्का राख्नु पर्दछ । सरकारले सहरमा मात्र नभएर रेडियो पनि नभएका बस्तिहरुमा अलि प्रभावकारी ढंगले यी कक्षालाई ब्यवस्थित गराउनु पर्ने आवश्यकता देखिन्छ ।

प्रकाशित मिति : ६ असार २०७७ शनिबार ००:००  ६ : ०१ बजे