४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सिद्धार्थ क्याम्पसको ऐतिहासिक छलाङ, पायो ‘गुणस्तरीय सुनिश्चितता प्रत्यायान’ (क्यूएए) प्रमाणपत्र



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
कपिलवस्तुको बाणगंगास्थित सिद्धार्थ क्याम्पसले गुणस्तरीय सुनिश्चितता प्रत्यायान (क्यूएए) प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । विश्व विद्यालय अनुदान आयोगले सोमबार भर्चुअल वैठकद्धारा क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गरेको हो ।

विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष डाक्टर भीम प्रसाद सुवेदीले अनलाईन वैठकद्धारा सो प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । गत वैशाख २४ गते नै क्याम्पसले सो प्रमाणपत्र पाए पनि बल्ल आज प्रदान गरिएको हो ।

आयोगबाट सञ्चालित उच्च शिक्षाको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रणालीमा आबद्ध भई कलेजले संस्थागत मूल्यांकनका सबै चरण पूरा गरी क्यूएए प्रमाणपत्र पाएको हो । यो क्याम्पसको लागि अहिलेसम्मकै ठुलो सफलता हो ।

उक्त क्यूएए प्रमाणपत्र पाँच वर्षका लागि हो । त्यसपछि आयोगले पुनः नवीकरण गर्नुपर्छ । क्याम्पसका तर्फबाट वर्षेनी एकेडेमिक अडिट पेश गर्नुपर्ने नियम पनि छ । यो प्रमाण पत्र पाउने सिद्धार्थ क्याम्पस कपिलवस्तुको पहिलो क्याम्पस हो ।

यस कलेजमा स्नातक र स्नातकोत्तर तहमा गरी करिब १२ सय विद्यार्थीले अध्ययन गर्दछन् । क्यूएए प्राप्ति पछि विदेश पढ्न गएका विद्यार्थीलाई सजिलो हुने र शिक्षकलाई पनि रिसर्चलगायतमा सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष उपाध्यायले भर्चुअल वैठकमार्फत् जानकारी दिनुभएको छ । कोभिड-१९ का कारण क्याम्पसलाई अनलाइनबाट प्रमाण पत्र वितरण गरिएको उहाँले बताउनु भयो ।

सो प्रमाण पत्र वितरणरणको अनलाइन समारोहमा काठमाण्डौँबाट समकक्षी पुनरावलोकन समुह (पि.आर.टी.) संयोजक प्राध्यापक डा. जयराज अवस्थी लगायत हुनहुन्थ्यो भने क्याम्पसका तर्फबाट संविधान सभा सदस्य डोर प्रसाद उपाध्याय, प्रदेश सांसद विष्णु पन्थी, बाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद थारु, क्याम्पस संचालक समितिका अध्यक्ष झविलाल पोख्रेल, पूर्व अध्यक्ष कृष्ण पौडेल, प्राचार्य खेमराज शर्मा, पूर्व प्राचार्य बालाराम ज्ञवाली, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, क्यूएए कार्यक्रम संयोजक गोविन्द खनाल, पत्रकार, अन्य संघसंस्थाका प्रतिनिधि र प्राध्यापकहरुको लगायतको सहभागिता थियो । कार्यक्रममा बोल्ने सबैले यो सफलतापछि औधी खुसी ब्यक्त गरेका छन् ।

क्यूएए पाउनका लागि क्याम्पसले नीति तथा प्रक्रिया, पाठ्यक्रम, अध्ययन अध्यापन तथा मूल्यांकन, अनुसन्धान, परामर्श तथा विस्तार, पूर्वाधार तथा सिकाई स्रोत, भौतिक सुविधा तथा पाठ्यसामग्री, विद्यार्थी मागनिर्देशन, सूचनाप्रणाली र जनसम्पर्क गरी आठ शीर्षकमा आफूलाई अब्बल साबित गरेको छ । वि सं २०४८ सालमा स्थापना भएको यस क्यामपसको यो सफलता अहिलेसम्मकै महत्वपूर्ण र ठुलो रहेको छ ।

नियमित कक्षाका अतिरिक्त आन्तरिक परीक्षा, विशेष कक्षा, सीपमूलक तालीम, कार्यशाला, स्थलगत भ्रमण, प्रयोगशाला कक्षा आदिको माध्यमबाट विद्यार्थीको क्षमता विकास गर्ने प्रयत्नमा क्याम्पस छ । 

प्राध्यापक डा. अवस्थीको संयोजकत्व रहेको सो टिमले सुधार गर्नुपर्ने केही कामहरु औंल्याएको थियो । तीमध्ये भवन तथा अन्य पूर्वाधार निर्माणको कार्य प्रमुख थियो । त्यसपछि क्याम्पसले सबै भवन र कक्षाकोठा, बातावरणीय सरसफाई, प्रविधि सबैमा दू्त ढंगबाट काम गरेको थियो ।

क्याम्पसका प्राचार्य, पूर्वप्राचार्य, प्राध्यापक, संचालक समिति, सरोकारवाला सबै मिलेर क्यूएए पाउने सपनालाई पुरा गर्न हरदम लागे । निरन्तर प्रयासले अन्ततहः क्याम्पसले प्रमाण पत्र प्राप्त गर्न सफल भयो । सिद्धार्थ क्याम्पससंगै सहिद नारायण पोख्रेल क्याम्पस रामापुर रुपन्देही र नीलकण्ठ बहुमुखी कयाम्पस धादिङले पनि क्यूएए पाएका छन् ।

क्यूएए के हो? 

क्यूएए (क्वालिटि असुरेन्स एण्ड एक्रेडिटेशन – गुणस्तर सुनिश्चितता एवम् प्रमाणिकरण) एउटा प्रक्रिया हो जहाँ कुनै आधिकारिक निकायले क्याम्पसलगायत उच्च शिक्षामा संलग्न संस्थाहरुको विभिन्न मापदण्डहरुमा गुणस्तर मापन गर्दछ । ती मापदण्ड पूरा गर्ने शैक्षिक संस्थालाई गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्दछ ।

यो भनेको शैक्षिक गुणस्तरमा वृद्धि गरी अध्ययन अध्यापन कार्यलाई अझ प्रभावकारी र व्यावहारिक बनाउने प्रक्रिया हो । अर्थात् क्यूएए प्राप्त क्याम्पसहरुमा गुणस्तरीय पढाइ हुन्छ भन्ने कुराको प्रमाणीकरण हो । नेपालमाा उच्च शैक्षिक संस्थाहरुलाई विश्वविद्यालय अनुदान आयोगले क्यूएए प्रदान गर्दै आएको छ । 

यो पनि पढ्नुहोस

कपिलवस्तुको सिद्धार्थ क्याम्पसले पायो क्यूएए मान्यता

फर्कियो विज्ञ टोली, सिद्धार्थ क्याम्पसले पाउला त क्यूएएको मान्यता ?

सिद्धार्थ क्याम्पस क्यूएए प्रक्रियाको अन्तिममा

सिद्धार्थ क्याम्पस क्यूएए प्रमाणिकरणको नजिक, तेश्रो चरणको रिभ्यूमा विश्वविद्यालय टोली

प्रकाशित मिति : ८ असार २०७७ सोमबार ००:००  ३ : ०६ बजे