२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

विकासमा नागरिक सहभागिताः एक व्यवहारिक दृष्टिकोण



कृष्णप्रसाद सापकोटा ।
राज्य भित्र रहेका सबै संरचना पृथ्वी मानव र प्रकृतिको सर्वोत्तम हित प्रवर्धनका लागि निर्माण गरिएका हुन् । यी सबै संरचनाको चालक नागरिक भएको हुँदा नागरिकलाई सबै तत्वहरु मध्ये प्रमुख मानिन्छ । नागरिक र नागरिकसँग सरोकार राख्ने अवयवहरुको संरक्षणसँगै नागरिकको सर्वाङ्गिण हित प्रवर्धन नै शासकीय प्रवन्धको प्रमुख सवाल हो । नागरिकहरुको हित नागरिकहरुको आफ्नै संलग्नतामा बढी प्रभावकारी हुन्छ भन्ने मान्यता रहेको छ । नागरिकहरुसँग सरोकार राख्ने सबै विषयमा उनीहरुको प्रत्यक्ष संलग्नता सधै सम्भव नहुने भएको हुँदा प्रतिनिधिमूलक संयन्त्रमार्फत उनीहरुको भूमिका सुनिश्चित गर्ने गरिन्छ । नागरिकहरुको प्रतिनिधिमूलक संयन्त्र निर्माण गर्ने प्रक्रिया, पद्वति, प्रणालीलाई नागरिक सहभागिता भनिन्छ । नागरिकहरुसँग सम्बन्धित मामला व्यवस्थापनलाई हामी शासन, प्रशासन, संसद, संस्था सगठन आदि विभिन्न नामले सम्बोधन गर्दछौ । शासन संचालन गर्ने प्रतिनिधिमूलक संयन्त्र निर्माण गर्ने विधि लोकतन्त्र पनि नागरिक सहभागिताको एउटा नमूना हो । जहाँ मतदानद्वार प्रतिनिधि चयन गर्ने गरिन्छ । नागरिकहरु प्रशासन, विकास व्यवस्थापन, विकासको अनुगमन, विकासप्रतिको अपनत्व, विधि निर्माण, नागरिकका सरोकारका विषयमा सुझाव, राय, परामर्श लगायतका विषयमा सहभागिता जनाउँछन जसका विभिन्न स्वरुप र विधाहरु हुन्छन । यसरी शासन संचालनका औपचारिक अनौपचारिक संयन्त्रहरुमा नागरिकले आफ्नो उपस्थिति सुनिश्चित गर्ने प्रणालीलाई हामी नागरिक सहभागिता भनेर बुझ्छौ ।

विकासमा नागरिक सहभागिताः

विकास भनेको सकारात्मक परिवर्तन हो । विकासका विभिन्न आयामहरु रहेका हुन्छन् । विकासका आयाम अनुसार नागरिक सहभागिताको स्वरुप पनि फरक फरक हुन्छन् । राजनीतिक विकासमा सहभागिता, सामाजिक र सांस्कृतिक रुपान्तरण आर्थिक समृद्विमा सहभागिता । यसरी विकासका विभिन्न आयामहरुमा नागरिकहरुको प्रत्यक्ष अप्रत्यक्ष चासो, सक्रियता, सुझाव, झुकाव, अभिमत, तर्क, विश्लेषण, पृष्ठपोषण, अनुगमन, खवरदारी, पहरेदार आदिको समष्टिलाई हामी नागरिक सहभागिता भनिन्छ । यो औपचारिक अनौपचारिक वा प्रत्यक्ष अप्रत्यक्ष हुनसक्छ ।

सहभागिता जनाउने व्यवहारिक पक्षहरु

क) उपभोक्ता समितिः खासगरी स्थानीय सरकारका विकास निर्माणका काममा उपभोक्ता समितिहरु मार्फत कार्यसम्पादन गर्ने चलन छ । यसरी निर्माण कार्यसम्पादन गर्दा ४० देखि ६० प्रतिशतसम्म योगदान उपभोक्ता समितिबाट हुने गरेको पाइन्छ । उपभोक्ता समितिबाट काम गर्दा लागत साझेदारी, कामको गुणस्तरीता, अपनत्व, समय पालना, तोकिएको परिणाम भन्दा बढी हुने, दीगो हुने जस्ता मान्यताका साथ नागरिहरुलाई विकास व्यवस्थापनमा सहभागि गराइन्छ । यसले निकै राम्रो परिणाम दिएको पनि छ । यदाकदा उपभोक्ता समितिसँग तोकिएको अपेक्षा भन्दा बाहिर गएर पनि कामहरु सम्पन्न भएका उदाहरणहरु पनि रहेका छन् । यद्यपी विकासमा नागरिक सहभागिताको राम्रो उदाहरण मानिन्छ ।

ख) विद्यालय स्वास्थ्य चौकी खानेपानी पानी वितरणसँग सम्बन्धित समितिहरुः सामुदायिक विद्यालय र स्वास्थ्य चौकी व्यवस्थापन समिति ग्रामिण विद्युतीकरण लगायतका समितिमा समुदायबाट व्यवस्थापन समितिको छनौट हुने परम्परालाई पनि नागरिक सहभागिताको नमूनाको रुपमा लिन सकिन्छ ।

ग) सामुदायिक रेडियो, सामुदायिक स्रोत केन्द्र, सामुदायिक पुस्तकालय, सामुदायिक शिक्षा लयहरुको निर्माणः निजिकरण र उदारीकरणप्रभाव सँगै सामुदायको स्वामित्वका रेडियो टेलिभिजनहरुले तीनै तहका सरकारका विभिन्न स्वरुपमा राम्ररी नै सहभागिता जनाएको पाइन्छ । सामुदायिक संचार प्रतिष्ठानहरुको अमूल्य योगदानलाई पनि विकासमा नागरिक सहभागिताको मोडलबाट विश्लेषण गर्न सकिन्छ ।

घ) टोल विकास संस्थाहरुः खासगरी आफ्नो टोल र समुदायमा हुने विभिन्न गतिविधिहरुमा सहभागी हुने, टोल तथा समुदायलाई गतिशील बनाउने शिक्षा, सरसफाई, स्वास्थ्य, सामाजिक सुरक्षा लगायतका धेरै सामाजिक सरोकारका विषयमा जनचेतना बढाउने, सानो सानो बचत परिचालन गर्ने उद्यमशीलता प्रवर्धन गर्ने लगायतका कामहरु टोल विकास संस्थाबाट हुने गरेका छन् । टोली विकास संस्थालाई स्थानीय सरकारले सामाजिक पूँजीको संज्ञा पनि दिने गरेको पाइन्छ ।

ङ) सामुदायिक सिँचाई प्रणाली, सहकारी अभियान राम्ररी व्यवस्थापन सामूदायिक वन, सामूदायिक प्रहरीदेखि चेतनशील सामूदायिक रेडियोहरुको संचालनलाई उदाहरणको रुपमा लिन सकिन्छ । यी सबै परिदृश्यले नागरिकहरुको संलग्नतामा सार्वजनिक क्षेत्रमा महत्वपूर्ण कामहरु गर्ने देशहरुमा नेपालको स्थान अग्रस्थानमा छ ।

सुधारका पक्षहरुः

नागरिक सहभागिताका विद्यमान संरचनाहरु निकै अब्बल छन् । तथापी यिनीहरुको अभ्यासमा लक्षित वर्ग, विकासमा पछाडि परेका समुदाय र सहभागि हुनैपर्ने वर्गको प्रतिनिधित्व हुन सकेको छैन। अनुसन्धानकर्ताको दावि अनुसार नागरिक सहभागिताको विद्यमान संरचनाहरु इलाईट क्याप्चर छन् । समावेशिता, विविधता व्यवस्थापन र सकारात्मक विभेदका नाममा तत् क्षेत्र र वर्गका क्रिमि लेयरहरुले अधिकतम फाईदा लिएका छन भन्ने आरोप छ । नागरिक सहभागितालाई प्रभावकारी बनाउन र समावेशी राज्य व्यवस्था निर्माणका लागि बनाएका संचनाहरु क्रमशः दोहनकारी संरचनामा परिणत भएका छन् भन्ने पनि छ । हाम्रो सामाजिक मनोविज्ञान पनि केन्द्रिकृत, शक्तिको र सक्ताको वरिपरि रहन र रम्न रुचाउने र पुरातनवादी सामाजिक संरचनामा उर्केको हुँदा प्रख्खर र्र्याडिकल परिवर्तनको वकालत गरे पनि सामाजिक धरातल पुरानो मनोविज्ञानबाट संचालित भएका कारण चाहेर पनि सारभूत रुपमा परिवर्तन र रोलमोडलका रुपमा अगाडि बढ्न नसक्दा अधिकतम औपचारिकता र न्यून उत्प्रेरणाको अवस्थाबाट गुजरनु परेको छ । साच्चै नै सामाजिक हलचल ल्याउने, प्रणाली बनाउने अपेक्षा हो तर अपेक्षित लक्ष्यमा पुग्ने गरी नागरिकको सहभागिता हुन सकेको छैन । केही अपवादलाई छोडेर भन्नु पर्दा नागरिक सहभागिता गहिरो हुनुपर्नेमा माथि माथि उत्रेको छ । कि उग्र, कि मौन र आत्मकेन्द्रित नागरिक रहँदा सकारात्मक र भाइब्रेन्ट समुदाय निर्माण हुन सकेको छैन । सृजनशील, गतिशील सक्रिय र सहभागितामूलक नागरिक समाज नहुनु भनेको समुदायको लागि घातक हो । यसतर्फ समयमै सोच्नु पर्ने हुन्छ ।

आगामी बाटो
प्रवर्धानात्मक क्रियाकलापहरु संचालनः
नागरिकलाई आफ्नो देश र समुदायप्रति कर्तव्य र दायित्वहरु निर्वाह गर्न, सकारात्मक उर्जा प्रदान गर्न उत्प्रेरित रहनका लागि प्रवर्धनात्मक कामहरु तीनै तहका सरकारहरुबाट सम्पादन हुनु पर्दछ । जस्तै सबैभन्दा धेरै कर दिने करदाता, सबैभन्दा बढी रोजगारी दिने उद्योग, सबैभन्दा राम्रो काम गर्न टोल विकास संस्था, राम्रो र गुणस्तरीय काम गर्न उपभोक्ता समिति राम्रो काम गर्ने पालिकाहरु लगायतका संयन्त्रहरुलाई पुरस्कृत गर्नुपर्दछ । सरकारका संयन्त्रहरु सकारात्मक उत्प्रेरणाले भरिएर रोलमोडल हुने । सकारात्मकताले राष्ट्र निर्माणमा सहयोग पुर्याउछ, सकारात्मकताले सकारात्मकता निम्याउँछ । नागरिकहरुको विकासमा योगदान बढाउन सजिलो मद्दत पुर्याउँछ भन्ने विषय सरकार, सामाजिक संजाल, समाज, संचार क्षेत्र, सामाजिक विश्लेषक, समालोचक सबैले बुझ्नु पर्दछ ।

सामाजिक उत्प्रेरणाः

नेपाली समाजलाई सर्सर्ति विश्लेषण गर्दा सकारात्मक उर्जा, उत्साह उमंगको मात्रा कमजोर हुँदै गएको महशुस हुन्छ । उर्जावान र उत्प्रेरित समाजमा सामाजिक पूर्वाधारहरुको संरक्षण, फराकिलो सामाजिक सोच, मेहनत र परिश्रमको सम्मान समाज र देशप्रति माया, सामाजिक सुशासन, पारदर्शिता जस्ता पक्षहरु मजबुत हुन्छन तब मात्र भाइव्रेन्ट सामाजिक संयन्त्रहरु निर्माण हुन्छ । अनि नागरिक सहभागिता अब्बल हुन पुग्छ । हाम्रा सामाजिक संयन्त्रहरु निराश, छिटो र सजिलो माध्यमबाट धन कमाउन खोज्ने र सामाजिक मूल्य, आचार सहिँता, दायित्व परिपालनमा कमजोर र न्यून सामाजिक उत्प्रेरणा कायम हुँदा नागरिक सहभागिता अपेक्षित हुन सकेको छैन । यी कमजोरीहरुलाई हटाई उत्प्रेरित सामाजिक संयन्त्र निर्माण गर्न आवश्यक छ ।

निर्वाचन प्रणालीमा सुधारः

नागरिक सहभागिताको सुनिश्चि सहभागिताको लागि हाम्रो शासकीय प्रणालीको निर्धारक निर्वाचन प्रणालीमा पनि सुधार आवश्यक छ । लोकतन्त्रको गहना निर्वाचन महङ्गो भएका कारण ठूलो लगानी नगरिकन निर्वाचनको सामना गर्न नसिकने अवस्था देखिन्छ । स्रोत नखुलेको लगानीले छाया अर्थतन्त्रलाई बलियो बनाउन मद्दत पुर्यायो । मौलाउँदो छाया अर्थतन्त्रमा नागरिकको सारभूत सहभागिता रहन सकिदैन।

शासकीय प्रणालीमा सुधारः

शासकीय प्रणालीमा सुधारले धेरै कुराको अपेक्षा राख्छ तर यहाँ विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन, सरकारका नियमनकारी निकायहरु नागरिकमा सुखको अनुभूति बढ्ने प्रणाली निर्माण हुने किसिमले काम गर्नु आवश्यक छ ।

निष्कर्षः विभिन्न शासकीय आयामहरु मध्ये एउटा नयाँ आयाम नागरिक सहभागिता हो । नागरिकको सारभूत सहभागिताले लोकतन्त्र बलियो बनाउँदै समृद्विको यात्रा सहज बनाउँछ । सरकार, निजी क्षेत्र र सामाजिक क्षेत्रलाई सँगैसँगै अगाडि बढाउँन मद्दत पुर्याउँछ । स्रोत साधनहरुको अभाव झेलिरहेका देशलाई सार्वजनिक निजी साझेदारीको माध्यमबाट स्रोत बढाउन मद्दत पुर्याउँछ । सहनिर्माण, सहउत्पादन, सहशासन, नागरिक र सरकारको अ अन्तरसंवाद बलियो बनाउन सहयोग पुर्याउँछ ।

(लेखक सापकोटा अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)

प्रकाशित मिति : २३ भाद्र २०७७ मंगलबार ००:००  ९ : १२ बजे