११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

पश्चिम तराईमा अत्यधिक गर्मी, पठनपाठन प्रभावित



मायादेवी अनलाइन, कपिलवस्तु ।

अत्यधिक गर्मी बढेसँगै पश्चिम तराईका जिल्लाहरुमा विद्यालयको पठनपाठन प्रभावित भएको छ । गर्मी अत्यधिक बढेपछि कतिपय क्षेत्रमा विद्यालयमा बिदा दिन थालिएको छ ।

अत्यधिक गर्मीका कारण विद्यालयमा पठनपाठन गर्न समस्या भएकोेले केही समयका लागि पढाइ बन्द गर्नुपर्ने अवस्था आएको पालिकाहरुले जनाएका छन् । विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै केही पालिकाले गर्मी बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिने गर्ने निर्णय गरेका हुन् ।

विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाले आजदेखि पर्सिसम्म ३ दिन नगरभित्रका संस्थागत र सामुदायिक विद्यालय बन्द गरेको छ । विद्यार्थीको स्वास्थ्यमा असर पर्नसक्ने भएकाले बिदा दिने निर्णय गरिएको छ । उहाँका अनुसार यो बिदा गर्मी बिदाबाट कट्टा हुनेछ ।

त्यसैगरी कृष्णपुर नगरपालिकाले पनि आजदेखि लागू हुने गरी तीन दिनका लागि नगरपालिका क्षेत्रका सबै विद्यालयमा बिदा दिएको छ । शुक्लाफाँटा नगरपालिकाले पनि गर्मीको अवस्थालाई मध्यनजर गरी छलफल गरेर बिदा दिने विषयमा निर्णय गरिने जनाएको छ ।

गर्मीका कारण बालबालिकामा टाउको दुख्ने, कक्षाकोठामै निदाउने तथा अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन हुने समस्या देखिन थालेको शिक्षकहरूले बताएका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३ सोमबार ००:००  १० : ०३ बजे