१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

हिमाली र उच्च पहाडी जिल्लामा हिमपात, तापक्रम पनि माइनस ५ डिग्रीसम्म



काठमाडौं ।

हिमाली र उच्च पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन पनि प्रभावित भएको छ । हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखामा हिउँ परेको छ । लुम्बिनी प्रदेशमा पर्ने पूर्वी रुकुमको दुले भन्ने स्थानमा पनि हिमपात भएको त्यहाँ रहेका दाङका पत्रकार कुलदीप न्यौपानेले जानकारी दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने जनाएको छ । हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हिमपात भइरहेको छ ।

मुस्ताङका जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो, चराङ, मराङलगायत बस्तीमा हिमपात भएको छ । हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्रमा सोमबार दिउँसोबाट हिउँ परेको स्थानीयले बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका छिरिङ नेस्याङ गुरुङका अनुसार माथिल्लो क्षेत्रमा बढी र तल्लो क्षेत्रमा कम मात्रामा हिउँ परेको छ ।

स्थानीयका अनुसार माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा पनि हिमपात भइरहेको छ । मौसम बदलीसँगै उत्तरी गोरखाका ल्हो, सामागाउँ, चुम्चेत, छेकम्पारलगायतका क्षेत्रमा पनि हिमपात भएको छ । सामागाउँका स्थानीयवासी मिङ्मार लामाले हिमपातका कारण माथिल्लो क्षेत्रमा करु र गहुँ लगाउने काम रोकिएको जानकारी दिए ।

भाइटीकाकै दिन डोल्पा जिल्लाको माथिल्लो र तल्लो भागका विभिन्न स्थानमा वर्षासँगै परेको हिमपातले जनजीवन कष्टकर बनेको छ । माथिल्लो डोल्पास्थित फोक्सुण्डो, साल्दाङ्ग, धो, तिन्जे, छार्का, मुकोटलगायत बस्तीहरुमा आइतबार रातिदेखि नै हिमपात भएको शे–फोक्सुण्डो गाउँपालिका–८ का वडाध्यक्ष निमा लामाले जानकारी दिए ।

यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीमा पनि चिसो बढेपछि जनजीवन कष्टकर भएको छ । गाउँलेले बर्खामा हिमालको फेदीका बुकी र चरन खर्कमा लगिएका पशु चौपाया गोठ चिसो बढेसँगै गाउँ बस्ती आसपासका जंगल र पाखामा झारेका छन् ।
खप्तडमा भयो यस्तो
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । आइतबार राति र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको हो । दुईपटक परेको हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको हो । हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् ।

हिउँ करिब आधा फिट जति परेको उद्योग वाणिज्य सङ्घका महासचिव तथा खप्तड झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताए । उनले भने, ‘खप्तडलगायतका क्षेत्रमा कम्तीमा पनि आधा फिट हिउँ परेको छ, हिमपातका कारण चिसो पनि बढेको छ ।’ हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो भएको उनको भनाइ छ ।

आउँदो पुस १५ गतेसम्म पर्ने हिउँ खासै नजम्ने तथा असर पनि नगर्ने भएका कारण खप्तड घुम्न आएका पर्यटकलाई हिमपातले कुनै समस्या नपार्ने गरेको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण घुमफिर तथा जताततै हिँडडुलमा स्थानीय प्रशासानले रोक लगाए पनि खप्तड क्षेत्रमा भने निर्वाधरूपमा आन्तरिक तथा जिल्ला बाहिरका पर्यटक अवलोकनका लागि आउन थालेको स्थानीय धनबहादुर विष्टले जानकारी दिए । गएको वैशाखदेखि कात्तिकसम्म खप्तड क्षेत्रमा चार हजारभन्दा बढी पर्यटक आवलोकन भ्रमणका लागि आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ ।

हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जानकारी दिएका छन् । मंगलबार बिहान भने खप्तडलगायतका क्षेत्रको मौसम सुधार हुनुका साथै बिहानै घाम लागेको बग्लेकका स्थानीय हर्कबहादुर साउदले जानकारी दिए ।

प्रकाशित मिति : २ मंसिर २०७७ मंगलबार ००:००  ८ : २६ बजे