१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बुद्धभूमिको हिउँदे सभा सकियो, भूमि सम्बन्धि समस्या समाधान गर्ने देखि यस्ता छन् विभिन्न निर्णय



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको नीति केन्द्रित हिउँदे नगर सभाले सुकुम्बासी, दलित, भूमिहिन, र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने कामको औपचारिक रुपमा सुरुवात गरेको छ । भूमि सम्बन्धि समस्या समाधान आयोगसंग एमओयु गरी भूमि सम्बन्धि समस्या समाधान गर्ने जिम्मेवारी पाएको बुद्धभूमिले आवश्यक बजेट विनियोजन गरी कामको औपचारिक रुपमा सुरुवात गरेको हो ।

नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले आइतबार बसेको हिउँदे नगरसभाबाट भूमि सम्बन्धि समस्या समाधनका लागि चाहिने आवश्यक बजेट विनियोजन गरी काम थालिएको जानकारी दिनुभयो । भूमि सम्बन्धि समस्या समाधानका लागि नगरपालिकाले कार्यालय व्यवस्थापन, जनशक्ति परिचालन लगायतमा बजेट खर्च गर्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । यसको लागि नगरसभाले साढे २८ लाख रकम विनियोजन गरेको उहाँले बताउनुभयो ।

साथै हिउँदे नगरसभाबाट दुई वटा ऐन पारित भएको छ । बुद्धभूमि नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा गर्न बनेको ऐन र बुद्धभूमि नगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐन पारित भएको हो । यस्तै श्रम सम्बन्धि नीति २०७७ पनि हिउँदेसभाबाट सर्वसम्मत पारित भएको प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिनुभयो ।

चालु आवमा अहिलेसम्म ठूला प्रकृतिका योजनाहरुको प्रतिस्पर्धाको माध्यमद्धारा निर्माण कार्य गराउने प्रयोजनका लागि हालसम्म २६ ओटा योजनाको लागत इस्टिमेट स्विकृत गरी ई टेण्डर मार्फत ७ करोड ९१ लाखमा ठेक्का सम्झौता भएको हिउँदे नगरसभामा जानकारी दिइएको छ ।

यस्तै दुई लाखसम्मका योजना कार्यान्वयनको जिम्मा वडा कार्यालयमा दिई हालसम्म २८ वटा योजना सम्झौता भई कार्यान्वयन भएको छ भने आन्तरिक आम्दानी बढोत्तरीको अधिकतम प्रयास सुरु गरिएको नगर प्रवक्ता पवन कुमार थारुले जानकारी दिनुभयो ।

यस्तै चालु आवमा औषधि खरिद भई स्वास्थ्य संस्थाहरुमा वितरण भैसकेको र प्रत्येक विहीबार कोभिड-१९ को पीसिआर जाँच सञ्चालन भैरहेको पनि प्रवक्ता थारुले सुनाउनुभयो ।

चालु आवमा हालसम्म पूजीगत खर्त तर्फ ५.८ प्रतिशत र चालु तर्फ २२.९९ प्रतिशत खर्च भएको पत्रकार सम्मेलन मार्फत नगर प्रवक्ता थारुले जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : २६ पुस २०७७ आइतबार ००:००  ६ : ३५ बजे