८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सत्य, तथ्यमा आधारित रहि पत्रकारिता गरे मात्र मर्यादित हुन्छः मेयर श्रेष्ठ



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले पत्रकारको कलम यो या त्यो नाममा यथार्थता भन्दा फरक हुन नहुनेमा जोड दिनुभएको छ । राज्यले चौथो अंगका रुपमा पत्रकारितालाई लिने गरेको र समाजले पनि पत्रकारलाई त्यसै अनुसार सम्मान गर्ने गरेको बताउँदै पत्रकारलाई सत्य र तथ्यमा आधारित रहेर कलम चलाउन आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको सोमबार गोरुसिंगेमा सूचना केन्द्र भवन उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले पत्रकार सबैको साझा भएको भन्दै फरक विचार राख्नेलाई निषेध गर्ने नीति लिन नहुने बताउनुभयो ।

No description available.
सूचना केन्द्र भवन उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठ

समाजमा लुकेर रहेर खबरलाई आम नागरिक समक्ष उजागर गरी समाज रुपान्तरणको अभियानमा लाग्न पत्रकारलाई उहाँले सुझाव दिनुभयो ।

पत्रकारिता पेशा समाजको ऐना भएको बताउँदै मिडियाको सवलीकरणका लागि आफुले आफु सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीले पत्रकारलाई दक्ष बनाउन महासंघले विभिन्न कार्यक्रम ल्याउने बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा महासंघका भवन निर्माण भैसकेका बताउँदै अब पत्रकारितालाई सबल र सुदृढ बनाउन विशेष कार्यक्रम ल्याउने बताउनुभयो ।

महासंघका कपिलवस्तु शाखा अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धभूमि नगरपालिका वडा नं. २ का वडाध्यक्ष भेषराज शर्मा, बुद्धभूमि उद्योग वाणिज्य संघका अध्यक्ष सुभलाल भुसाल लगायतले बोल्नुभएको थियो ।

साविक जयनगर गाउँ विकास समितिले भोगचलन गर्दै आएको भवनमा सूचना केन्द्र स्थापना गरिएको हो । बुद्धभूमि नगरपालिकाले नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखालाई भवन प्रयोग गर्न अख्तियारी दिएसंगै सूचना केन्द्र स्थापना गरिएको हो ।

महासंघकी उपाध्यक्ष पार्वती पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शाखा सचिव हरि अधिकारीले गर्नुभएको छ ।

प्रकाशित मिति : २७ पुस २०७७ सोमबार ००:००  ४ : ३१ बजे