१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

प्रधानमन्त्री ओली गणतन्त्र र संघीयता बिरोधी हुन्ः जसपा नेता यादव



मायादेवी अनलाइन, तौलिहवा ।
जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समिति सदस्य तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र सङ्घीयता विरोधी व्यक्ति भएको आरोप लगाउनुभएको छ ।

कपिलवस्तुको तौलिहवामा जनता समाजवादी पार्टीद्धारा आयोजित प्रतिनिधिसभा विघटन विरुद्ध विरोध प्रदर्शन तथा सभालाई सम्बोधन गर्दै यादवले प्रधानमन्त्री ओली सुरु देखि गणतन्त्र र सङ्घीयता विरोधी रहेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सङ्घीयता र गणतन्त्रलाई समाप्त पार्न प्रतिनिधिसभा विघटन गरेको यादवले आरोप लगाउनुभयो । ’प्रधानमन्त्री ओलीले सुरुमै भनेका थिए, नेपाल जस्तो देशमा गणतन्त्र र सङ्घीयता टिक्दैन । तर हामीले आज देशलाई सङ्घीय गणतन्त्र बनाएका छौँ । त्यही नपचेर उनले प्रतिनिधिसभा विघटन मार्फत सङ्घीयता र गणतन्त्रलाई सम्माप्त पार्न खोज्दै छन्,’ यादवले भन्नुभयोे ।’

सरकारसँग दुई तिहाईको बहुमत हुँदाहुँदै पनि संसद् विघटन हुनु दुर्भयपूर्ण भएको बताउँदै यादवले ओलीको कदम जनताको मनोभावना, सङ्घीयता, गणतन्त्र, लोकतन्त्र र संवैधानिक सर्वोच्चतामाथि कुठाराघात भएकोले दुःख व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य केशव झाले सरकारद्वारा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको विरुद्धमा संघर्ष जारी नै रहने बताउनुभयो ।

सरकारले थप अन्य कुनै गलत कदम नउठाओस् भन्नका लागि खबरदारी स्वरुप संघर्ष जारी रहने उहाँले बताउनुभएको हो ।

नेता झाले सर्वोच्च अदालत अहिले एक मात्र आशा र भरोसाको केन्द्र रहेको बताउँदै सर्वोच्च माथि लोकतन्त्र जोगाउने कार्यभार आएको जिकिर गर्नुभयो । ‘सर्वोच्चले संविधानको मर्म अनुरुप नै संसद पुनःस्थापनको मुद्दामा फैसला गर्नेछ भन्ने हाम्रो विश्वास हो,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा अग्रसर रहेको आरोप लगाउँदै यसलाई किमार्थ पनि आफूहरु स्वीकार गर्न नसक्ने बताउनुभयो । कोरोनाको महामारीको बेला खोपको जोहो गर्न छोडेर राजनीतिक अस्थिरता कायम गर्न खोज्नु भनेको प्रधानमन्त्रीको गैरजिम्मेवारीपनको पराकाष्ठा रहेको उहाँले बताउनुभयो ।

उहाँले मुलुकमा बढेको भ्रष्टाचारी, कालोबजारी, महँगी, कुशासनको सम्पूर्ण नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने धारणा राख्नुभयो ।

शैलेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेता रबि दत्त मिश्रा, नारायण खनाल, अमृता अग्रहरी, ईकबाल मुसलमान दान बहादुर चौधरी कालीपद शर्मा, कैलाश अग्रहरी लगायतले मन्तब्य दिनुभएको थियो ।

जसपा नेपालद्वारा सरकारको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको विरुद्ध देशको प्रमुख शहरहरुमा भैरहेको दोस्रो चरणको विरोध प्रदर्शन र बिरोधसभा कार्यक्रम अन्तर्गत पुस २५,२७ र २९ गते यशअसि नौ स्थानमा विशाल सभाहरु आयोजना भइसकेको छ ।

प्रकाशित मिति : ३ माघ २०७७ शनिबार ००:००  ७ : १२ बजे